आगो मानव जीवनसँग अनन्य छ। आगोको उपयोगिता हरेकले महसुस गरेकै कुरा हो। तर, आगोको हैरानी दिनदिनै भोग्ने मध्येका एक हुन्, प्लास्टिक सर्जन डा विशाल कार्की।
कीर्तिपुर अस्पतालमा कार्यरत उनी आगोमा जलेका बिरामीको उपचारमा लागिरहेका छन्। परोपकारी डाक्टर शंकरमान राईले नेतृत्व गरिरहेको यो अस्पतालको सेवा आगोले पोलेका बिरामीमा केन्द्रित छ। यसखाले बिरामीको उपचार हुने उपयुक्त अस्पतालको अभावलाई यसले चिरेको छ। डा राईकै पदचाप पछ्याइरहेका युवा तथा ऊर्जाशिल चिकित्सकमा पर्छन्, डा कार्की।
एमबिबिएसपछि उनी मोडेल अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गर्न थाले। अस्पतालले उनलाई तीन महिनाका लागि दोलखा पठाएको थियो। डा राईसँग उनले त्यहीँ भेटे। जन्मजात अपांगहरूको उपचार शिविरका लागि त्यहाँ पुगेका डा राईको कामबाट उनी प्रभावित भए। पहिलोपल्ट उनले प्लास्टिक सर्जनको महत्वसमेत बुझ्ने मौका पाए।
केही समय मोडेल अस्पतालमा काम गरेपछि उनी नेपाल मेडिकल कलेजमा जनरल सर्जरी गर्न पुगे। किनभने उनको मिसन प्लास्टिक सर्जन बन्ने भइसकेको थियो। प्लास्टिक सर्जरी गर्नका लागि जनरल सर्जरी अनिवार्य थियो। यी दुइटैमा विशेषज्ञता हासिल गर्न डा राईकै सहयोगमा उनलाई एक अन्तर्राष्ट्रिय संस्थाको सहयोग मिल्यो। प्लास्टिक सर्जरीमा ‘कस्मेटिक’ छान्ने कि ‘रिकन्सट्रक्टिभ’ भन्ने हुन्छ। कस्मेटिक रहर हो भने भने ‘कन्सट्रक्टिभ’ अनिवार्य आवश्यकतालाई भएकाहरूका लागि चाहिने सर्जरी हो। उनले दोस्रो रोजे। उनी भन्छन्, ‘नेपालका लागि अहिले रिकन्सट्रक्टिभ सर्जन जरुरी छ। किनकि यसको अभाव छ।’
नेपाल जस्ता मुलुकमा आगोले जलेर वा दुर्घटनामा गम्भीर घाइते भएकाहरूको उपचार जहीँतहीँ पाउन मुस्किल छ। एक त सबैतिर ‘बर्न केयर’ छ्रैन। आवश्यक उपकरणको मात्रै होइन, विशेषज्ञको समेत अभाव छ। यसले बर्सेनि धेरैको ज्यान गइरहेको छ। काठमाडौं उपत्यकाबाहेक नेपालगन्ज र चितवनमा मात्रै आगोबाट जलेर सख्त घाइते भएकाहरूको उपचार हुन्छ। आगोले धेरै क्षति पुर्याएका काठमाडौंका बिरामीलाई पनि सकेसम्म कीर्तिपुर अस्पताल नै पु¥याउने गरिन्छ।
यसरी आगोमा जलेकाहरूलाई जोगाउन आफ्नो तर्फबाट सक्दो योगदान पु¥याउन कार्की आफ्ना अग्रजबाट उत्प्रेरित भए। त्यसैले नेपालगन्ज मेडिकल कलेजबाटै प्लास्टिक सर्जरीमा विशेषज्ञता हासिल गरेर कीर्तिपुर अस्पतालमा सेवा गर्न आइपुगे।
अहिले पनि प्लास्टिक सर्जन नेपालमा औंलामा गन्न सकिने मात्रै छन्। प्लास्टिक सर्जरीमा पनि ‘कस्मेटिक’ रोज्दा उनको निकै आर्थिक उन्नति हुन सक्थ्यो तर उनले सेवालाई महत्व दिए, र कीर्तिपुर अस्पताल रोजे। जुन अस्पतालले अघिल्लो वर्ष मात्रै पनि ६ सय जना पोलिएका बिरामीको उपचार भएको छ। यसबाहेक जन्मजात ओठतालु फाटेकाहरूको समेत त्यहाँ उपचार हुन्छ।
एक हिसाबले यो अस्पताल ‘गरिब असहाय’को भरोसा जस्तो पनि हो। यो भरोसा डा कार्कीहरू माथिको हो। आगोले पोलिनेमा धेरै महिला र बालबालिका हुन्छन्। डा कार्कीलाई लाग्छ, ‘उनीहरू आवाजविहीन हुन्छन्। त्यसैले उनीहरूको कुरा नीतिनियम तहसम्म अहिलेसम्म पुग्न सकेका छैनन्।’ यदि नीति निर्माताहरूले आगोले पोलेका कुरालाई समस्याका रूपमा महसुस गर्दा हुन् त यसको उपचार विस्तार हुन्थ्यो। यसमा सरकारको आर्थिक सहयोग पनि रहन्थ्यो।
अरू विभिन्न रोगको उपचारमा सरकारले अनुदान दिने गरेको छ। डा कार्कीको चाहना छ, आगोले पोलेकाहरूले पनि उपचारका लागि सहयोग पाऊन्। उनी भन्छन्, ‘आगोले जलेर उपचार गराउन आउनेमा गाउँका त्यो पनि गरिब धेरै हुन्छन्। उनीहरूले सहयोग पाउनुपर्छ।’ उपचार महँगो हुने भएकाले पनि धेरैलाई समस्या पर्ने गरेको उनकै आँखाले देखेका छन्। उनलाई लाग्छ, यस्तै अवस्थमा त जनतालाई सरकार चाहिने।
उपचार मात्रै होइन, आगोको सावधानीका विषयमा पनि सरकार चनाखो हुनुपर्छ। तर, आगोले पोलेपछि तुरुन्तै गर्नुपर्ने न्यूनतम उपचारका बारेमा समेत सर्वसाधारणलाई जानकारी नभएको उनले उपचारका क्रममा महसुस गरेका छन्। सामान्यतया गाउँघरमा आगोले पोल्ने समस्या धेरै हुने गर्छ। उनीहरूलाई काठमाडौं पु¥याउँदा समय लाग्छ। यसकारण जोगाउन मुस्किल परिरहेको उनले बुझेका छन्।
सुगम क्षेत्रतिर आगोले ८० देखि ९० प्रतिशतसम्म जलेकाहरूलाई समेत बचाउन सकिने तथ्यांक सार्वजनिक भइरहेको छ। तर, नेपालमा ४० प्रतिशत कट्नेबित्तिकै मुस्किल पर्ने उनी बताउँछन्। यसका अनेक कारण छन्, त्योमध्ये सर्वसाधारणमा प्राथमिक उपचारको जानकारी नहुनु एउटा प्रमुख कारण हो। पोलेको उपचार हुन सक्ने अस्पतालसम्म सहज पहुँच नहुनु र त्यस्ता व्यक्तिलाई एक समसयसम्म अस्पतालमै राखेर उपचार गर्ने उपाय स्वास्थ्यकर्मीमै नहुनु पनि उनले देखेका छन्।
आगोले पोलेपछि आधा घन्टासम्म चिसो पानी खन्याउनुपर्ने उनी बताउँछन्। तर, नेपालमा त्यस्तो प्रचलन छैन। पानी हाल्दा झन् जटिल समस्या उत्पन्न हुने अन्धविश्वास छ। यसैगरी गोलभेँडा, घिउकुमारी, टूथपेस्ट जस्ता कुराहरू लगाउँदा निको हुने मान्यता छ। उनी सजग गराउँछन्, ‘यस्ता कुराहरू भुलेर पनि लगाउनुहुन्न।’
पोलिएपछि बिरामीलाई लगातार २४ घन्टासम्म सलाइन पानी जरुरी हुन्छ। उनले देखेका छन्—धेरै अस्पतालले आफूकहाँ पोलेको उपचार हुन नसक्ने भन्दै तुरुन्तै रिफर गर्छन्। त्यस्तो उपचार केन्द्र नजिकै भए त ठिकै छ। तर, घन्टौं लाग्ने अवस्था छ भने २४ घन्टासम्म सामान्य उपचार त्यहीँ हुनुपर्छ र स्लाइन लगाएर राख्नुपर्छ।
नेपालमा धेरै एम्बुलेन्स ‘यातायातको साधन’ जस्तो मात्रै भएकाले अस्पतालमै राखेर सलाइन चढाउनुपर्ने उनी बताउँछन्। एम्बुलेन्स नै सुविधा सम्पन्न हुँदा भने केही फरक नपर्ने उनले बताए।
केही वर्षदेखि कीर्तिपुर अस्पतालले ‘स्किन बैंक’को अवधारणामा काम गरिरहेको छ। ४० प्रतिशत भन्दा बढी छाला जलेको भएमा बिरामीकै छाला प्रत्यारोपण गर्न नसकिने भएकाले दानबाट प्राप्त छाला जरुरी हुने बताइएको छ। छाला दानका लागि डा कार्की लगायतका चिकित्सकहरू निरन्तर अभियान चालिरहेका छन्।
लामो समय निको नभएको घाउलाई एलपिआरएफ प्रविधिबाट निको पार्ने विषयमा समेत उनले अध्ययन गरेका छन्। आगोले पोलेका र दुर्घटनाबाट गम्भीर घाउ भएकाहरूले उक्त प्रविधिबाट फाइदा लिन सक्छन्।
यतिबेला भने उनी जटिल घाउ भएको बिरामीको उपचार गर्न सघाउने अर्को प्रविधि माइक्रो सर्जरी सिक्न ताइवान पुगेका छन्। त्यहाँ जटिल घाउहरूको माइक्रोस्कोपको सहायताले गर्ने सर्जरीको एकवर्षे कोर्स पूरा गरेर फर्किनेछन्। यसअघि ६ महिना सिकेर उनी छुट्टीमा नेपाल फर्किएका थिए। नसा चुँडिएर जोड्नुपर्ने, हात काट्नुपर्ने र क्यान्सरको सर्जरी गर्नुपर्दा माइक्रो सर्जरीको सहयोग लिने गरिन्छ। उनी त्यो सिकेर कीर्तिपुर अस्पतालमै फर्किनेछन्। आगोले जलेका, दुर्घटनामा परेका वा जन्मजात अपांगहरूको उपचारमा उनको यो नयाँ विशेषज्ञताले धेरै राहत दिनेछ।
उनको आगामी योजनामा पनि एउटा कीर्तिपुर अस्पतालमा माइक्रो सर्जरीको विकास गर्ने रहेको छ। त्यसबाहेक आफू र त्यहाँ कार्यरत आफ्ना अग्रजले जानेका कुरा नयाँ चिकित्सकहरूलाई सिकाउने चाहना बोकेका छन्। उनी भन्छन्, ‘एउटा तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ।’ आगोले जलेका बिरामीको उपचार हुने सेन्टरको पहिचान बनाइसकेको अस्पताल भएकाले पनि अरूलाई सिकाउँदा उपचार सेवा विस्तार हुने उनले देखेका छन्। जुन अहिलेको अवस्थामा जरुरी जस्तो पनि लाग्छ उनलाई।
काठमाडौं थापाथलीमा जन्मेहुर्केका उनले चिकित्सा क्षेत्रको बाटो तय भने पितालाई देखेर गरेका हुन्। नेत्ररोग विशेषज्ञ डा डिबी कार्कीका पुत्र उनी आफ्ना पिताको सेवाभावबाट ओतप्रोत छन्। त्यसैले आफू पनि चिकित्सालाई सेवाकै रूपमा लिएर अघि बढिरहेका छन्।