मुम्बई– एक भारतीय व्यापारीको मुम्बईमा लगातार १२ घण्टाभन्दा बढी समयसम्म गरिएकाे कपाल प्रत्यारोपणपछि जटिलताका कारण मृत्यु भएको छ।
चिचपोक्ली मुम्बईमा एक प्राइभेट क्लिनिकमा कपाल प्रत्यारोपण गराइरहेका ४३ वर्षीय श्रवण कुमार चौधरीको मृत्यु भएको हो।
टाइम्स अफ इन्डियाका अनुसार उनको कपाल प्रत्यारोपण मार्च ७ का दिन दिउँसाे २ बजेदेखि अर्को दिन बिहान २ बजेर ३० मिनेटमा सिध्दिएकाे थियो। जब उनले आफ्नो गर्दन दुखाइको बारेमा भने, त्यतिबेलासम्म उनकाे शिरमा ३ हजार ७ सय रौँ रोपिइसकेको थियो। दुखाइपछि क्लिनिकमा उनलाई पेन किलर र एनिटबायोटिक्स दिइएको थियो। तर, जब उनको अवस्था जटिल बन्दै गयो तुरुन्त अस्पताल लगिएको थियो।
अन्तत: उनको मार्च ९ गते एलर्जिक रियाक्सनका कारण मृत्यु भयाे।
उनको श्वासप्रश्वासमा समस्या आउनुका साथै मुख र घाँटी सुन्निएको थियो। आफूले कपाल प्रत्यारोपण गराइरहेको कुरा चौधरीले आफ्नो परिवारमा भनेका थिएनन्। इन्डियन एसोसिएसन अफ एस्थेटिक प्लास्टिक सर्जनका अनुसार श्वासप्रश्वासमा समस्या कपाल प्रत्यारोपण गराइरहँदा आउने एकदम कम जटिलता हो। तर, कपाल प्रत्यारोपण गर्दा चौधरीलाई कम्तीमा निगरानीमा राख्नुपर्ने एसाेसियसनले औंल्याएकाे छ। उनको मुख र घाँटी सुन्निएको थियो।
मुम्बई प्रहरीका अनुसार चाैधरीमा जोखिमपूर्ण एलर्जिक रियाक्सन देखिएको थियो, जसलाई 'एनाफिलासिस' भनिन्छ। प्रहरीले आकस्मिक दुर्घटना मान्दै अनुसन्धान जारी राखेको छ।
चौधरी एकैचोटीमा ९ हजार रौँ प्रत्यारोपण गर्न चाहन्थे। उनी चिकित्सककाे सुझावभन्दा बढी कपाल प्रत्यारोपण गर्न चाहन्थे। एकैचोटीमा यति धेरै संख्यामा रौँ प्रत्यारोपण गर्नु राम्रो मानिँदैन।
उनले कपाल प्रत्यारोपणका लागि क्लिनकलाई ५ लाख रुपैयाँ बुझाएका पनि खुलेकाे छ।