स्वास्थ्य मन्त्रालय यतिबेला बदनाम छ। सचिवदेखि अहेबसम्मै पावरको रस्साकस्सीमा पाखुरा सुर्किरहेका छन्। पारितोषिकबाहेक पनि अर्थोपार्जनका ठाउँसमेत हुने भएकाले सचिव मात्रै होइन, विभाग, शाखा, महाशाखाको प्रमुख हुन स्वास्थ्य सेवाका कर्मचारी मन्त्रालयको भर्याङ खुब ओहोरदोहोर गर्छन्। दुई वर्षअघिसम्म यही मन्त्रालयमा एउटा त्यस्ता कर्मचारी थिए, जो काममा काबिल ठानिन्थे तर कहिल्यै पदका लागि पावर सेन्टर गुहारेनन्। पैसाका लागि हाकिम बन्ने रुची देखाएनन्। यतिसम्मकी मन्त्रालयको सचिव बन्ने अवसर मुखनजिक आएको बेला पनि ‘लिगलिगे दौड’मा सामेल हुन चाहेनन्।
डा पदमबहादुर चन्द, जसले ३३ वर्ष स्वास्थ्य सेवामा बिताए। तीन दशक लामो करिअर बेदाग र निष्कलंक बनाउन सफल भए। स्वास्थ्य सेवाका कर्तव्यनिष्ठ र इमान्दार कर्मचारीहरुका उनी ‘आइडल’ हुन्। स्वास्थ्यका नीति–नियम निर्माणमा महत्वपूर्ण भूमिका खेलेका उनले न कहिल्यै त्यसको जस लिए, न अर्थोपार्जनको अपेक्षा गरे। न त स्वास्थ्य मन्त्रालयको माथिल्लो ओहदामा बसेको लाभ नै लिए। स्वास्थ्य मन्त्रालयको उच्चपदस्थ अधिकारीले एक कल फोन गर्दा सन्तानलाई एमबिबिएस पढ्न मुश्किल नहुने जमानामा छोरालाई डाक्टरी पढाउन उनले गरेको संघर्ष स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु अझै सम्झिन्छन्।
स्वास्थ्य सेवाका उच्चपदस्थ कर्मचारीहरु अवकाशपछि पनि कामविहीन बस्दैनन्। तर, मन्त्रालयको सबैभन्दा माथिल्लो (१२औं) तहमा पुगेका नी निष्फिक्री सेवानिवृत्त जीवन बिताइरहेका छन्। एनजिओ÷आइएनजिओले उनलाई कामको अफर नगरेर होइन, सम्पत्ति थुपार्ने लोभ नभएर उनी सेवानिवृत्त जीवनको मज्जा लिइरहेका छन्। कहिलेकाहीं विज्ञ नपाएर हत्तु भएपछि सघाइमाग्न केही पूर्व परिचितहरु उनीकहाँ आउँछन्। कन्सल्ट्यान्टका रुपमा सघाइदिन्छन्। अचेल उनले गर्ने काम त्यत्ति हो।
सुदूरपश्चिमको पनि सुदूर जिल्ला बैतडीदेखि हाल बसिरहेको ललितपुरको भैंसीपाटीसम्मको जीवन यात्रा निसन्देह संघर्षपूर्ण छ उनको। भौगोलिक मात्रै होइन, जीवनका उकाली–ओराली पनि निकै भोगेका छन्। अप्ठ्यारा, असहजता र दुःखलाई पचाउन धैर्यताको पाचनरस छ उनीसँग। जसलाई पचाइसके, त्यसलाई ओकल्न पनि उनी त्यति रुचाउँदैनन्।
२०१३ साल पुस २२ गते बैतडीको दशरथ नगरपालिकास्थित जोशीबुंगा गाउँमा उनी जन्मिएका हुन् चन्द। उनका हजुरबुबामा सन्तानलाई शिक्षा दिनुपर्छ भन्ने सोच थियो। उनका बुबालाई पढाउन भारतबाट शिक्षक ल्याइएको थियो। उनी पढ्ने हुँदा भने गाउँनजिकै कक्षा ३ सम्म पढाइ हुने विद्यालय खुलिसकेको थियो। कक्षा ३ पछि उनी गाउँबाट ३ घन्टाको दूरीमा रहेको नानीगाढ भन्ने ठाउँको स्कुलमा भर्ना भए। कक्षा ६ देखि १० सम्म भने बैतडीको साहुलेखमा रहेको वीरेन्द्र बहुउद्देश्यीय विद्यालयमा पढे। शान्त स्वभावका भए पनि सहीका पक्षमा डट्ने उनको सानैदेखिको बानी हो। त्यहाँ पढ्दै गर्दा उनमा औपचारिक शिक्षा मात्रै होइन, पञ्चायती निर्दलीय व्यवस्था विरुद्धको चेतनासमेत हासिल भयो। पञ्चायती शासनविरोधी विद्यार्थी नेताका रुपमा उनको परिचय बन्न थाल्यो।
कक्षा १० त्यहाँ सकेपछि उच्च शिक्षा हासिल गर्न भारत नजिक पथ्र्यो। कर्णालीमा पुलसमेत बनिनसकेको अवस्थामा बैतडीबाट काठमाडौं आइपुग्न ५ दिनजति लाग्थ्यो। परिवारले उनलाई थप पढाइका लागि काठमाडौं पठाउने तय ग¥यो। तर एउटै शर्त थियो, राजनीति भने गर्न पाइँदैन। उनी काठमाडौं आएर पाटन क्याम्पसमा विज्ञान संकायमा भर्ना भए। पढाइप्रतिको लगनशिलता सानैदेखि थियो। तर, यहाँका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न भने मुश्किल थियो। उनी सम्झिँन्छन्, ‘हामीलाई कक्षा १० मा पढाउने शिक्षक नै १० कक्षा फेल भएकाहरु हुन्थे। त्यो बेला शिक्षक पाउनै मुश्किल थियो।’ उनले आफूले सक्दो मिहिनेत गरे। आइएससी राम्रो अंकसहित पार गरे।
चिकित्सा शिक्षाका लागि त्यो समय कोलम्बो प्लान आउँथ्यो। त्यसमा दुर्गमका स्कुल पढेका विद्यार्थीका लागि कोटा छुट्याइएको हुन्थ्यो। त्यही कोटामा नाम निकालेर उनी एमबिबिएस पढ्न भारतको कोलापुर महाराष्ट्रस्थित शिवाजी युनिभर्सिटी गए। उनले सन् १९८३ मा एमबिबिएस पास गरेका हुन्। एमबिबिएस सकेपछि उनले एक वर्ष त्यहीँ काम गरे।
एमबिबिएसको सर्टिफिकेटसँगै एक वर्षको अनुभव बोकेर काठमाडौं आइपुगेका उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मेडिकल अधिकृतको नियुक्ति दिइयो। इपिडिमियोलोजी तथा अस्पताल प्रमुख डा द्वारिकानाथ रेग्मी थिए।
उनले भर्खरै अस्पतालमा काम थालेका थिए। त्यही बेला मेनेन्जाइटिसको महामारी फैलियो। बिरामीको चाप एकाएक बढ्न थाल्यो। सीमित जनशक्तिमा चलिरहेको अस्पतालमा रातदिन नभनी उपचार सेवामा सक्रिय हुनुप¥यो। ‘देशलाई जरुरी भएका बेला योगदान गर्न पाउनुलाई मैले अवसरका रुपमा लिएँ र काममा खटें,’ उनी भन्छन्।
त्यो समय रेडियो नेपालबाट जारी गरिएको सचेतना सन्देशले निम्त्याएको हैरानी उनी प्रसंग आउँदा नसुनाई बस्न सक्दैनन्। सन्देशले आमजनमा सिर्जना गरेको आशंकाले मेनेन्जाइटिसका रोगीभन्दा धेरै सामान्य बिरामीको चेकजाँच गर्नुप¥यो। उनी सम्झिँन्छन्, ‘रेडियो नेपालबाट प्रसारित सन्देशमा भनिएको थियो– चिउँडोले छाती छोएन भने मेनेन्जाइटिस हुन्छ। त्यसपछि मान्छेहरु हरेक पाँच मिनेटमा चिउँडोले छाती छुने प्रयास गर्न थाले। यसरी दिनभरि प्रयास गर्दा गर्धन दुखेपछि मेनेन्जाइटिसको आशंका गर्दै अस्पताल आउन थाले। हामी उनीहरुलाई केही नभएको भन्दै पठाउन खोज्थ्यौं। उनीहरु ग्यारेन्टी माग्थे। ग्यारेन्टी कसरी दिन सकिन्थ्यो ? उनीहरुको समेत ढाडबाट पानी झिकेर जाँच गर्दै मेनेन्जाइटिस नभएको बताउँदै पठाउनुपर्यो।’
उक्त अस्पतालमा तीन वर्ष काम गरेपछि उनलाई सिरहा जिल्ला अस्पताल सरुवा गरियो। उनलाई त्यहाँ काम गर्न भने सकस प¥यो। ‘हरेक बिरामीको दिमागमा औषधि भनेको सुई हो भन्ने पारिएको थियो। जाँचेर औषधि दिँदा खान नमान्ने। सम्झाउँदा पनि नहुने अवस्था थियो,’ उनले स्मरण गरे, ‘अरु डाक्टरले उपचार सेवा क्वाटरबाट पनि दिने गरेका रहेछन्। म प्राइभेट प्य्राक्टिस नगर्ने भएकाले अस्पतालबाटै सेवा दिन थालें। यसले पनि समस्या भयो।’
झै–झगडा खुब भइरहन्थ्यो। एक पक्ष आउँथ्यो, चार÷पाँच ठाउँमा लाठी लागेर सख्त घाइते भएको लेखिदिनुपर्यो भन्दै। अर्को आउँथ्यो, सामान्य चोटपटक लेखिदिनुपर्यो भन्दै। उनलाई यसका लागि डरधम्की दिइन्थ्यो। पोस्टमार्टमका लागि पनि उस्तै दबाब आउन थाल्यो। उनलाई त्यहाँ दबाब खेप्न निकै मुश्किल पर्यो। सकसपूर्ण १२ महिना बिताएपछि उनले काठमाडौं स्वास्थ्य मन्त्रालय आएर भने, ‘मलाई सिरहाबाट सरुवा गरेर सबैभन्दा दुर्गम पठाइदिनुप¥यो।’ उनलाई सोधियो– मुस्ताङ जाने त ? मुस्ताङ भनेपछि सरुवा नमाग्लान् भन्ने चाहना थियो मन्त्रालयका अधिकारीको । तर, उनी मुस्ताङ जान हाँसीखुसी राजी भइदिए।
मुस्ताङ जाने भनेर सिरहाबाट सरुवा भएर काठमाडौं आइपुगे पनि केही महिना उनको चिठी नै बनेन। तत्कालीन स्वास्थ्य सचिवलाई भेटेर उनले चिठी नबन्नुको कारण मागेपछि बल्ल–बल्ल चिठी बन्यो। फागुनमा उनले चिठी पाए तर मुस्ताङको प्लेन चल्ने पत्तो हुँदैनथ्यो। उनले हिँडेर मुस्ताङ पुग्ने योजना बनाए। जसअनुसार बसबाट पोखरा गएर बसपार्कमा बसे।
उनी बसेको होटेलमा एक जना अर्का व्यक्ति थिए। उनले चिनजान गर्दै जान चाहेको ठाउँबारे सोधे। मुस्ताङ बताएपछि आफू पनि त्यतैतिर जाने भन्दै उनी नजिकिए। चार–पाँच दिनको अपरिचित बाटो एक्लै हिँड्न कस्सिएका उनी साथी भेटेपछि दंग परे। उनलाई विश्वास गरे। जब भोलिपल्ट मुस्ताङ जान सबथोक चेकजाँच गरे, आफूसँग भएको पाँच हजार रुपैयाँ नै गायब भएको पाए। उनलाई लाग्यो– कता खसालिएछ। टेकुमा सँगै काम गरेका एक जना डाक्टर पोखरामै रहेको उनलाई थाहा थियो। फोन गरेर अवस्था बताएपछि उनले पाँच रुपैयाँको चाँजोपाँजो मिलाइदिए।
उनीसँगै मुस्ताङ जाने भनेका व्यक्तिले चोरेको भनेर उनले शंका गरेका थिएनन्। जब ती व्यक्ति डा चन्दसँग केही समय हिँडेर एकाएक गायब भए, त्यसपछि मात्रै उनलाई आशंका भयो, पैसा त उसैले चोरेको हो। चार दिन लगाएर एक्लै मुस्ताङ अस्पताल पुगेका उनी दुई वर्ष बसे। त्यहाँ बसिरहँदा उनी छुट्टी मिलाएर काठमाडौं आएनन्। मलेरिया नियन्त्रण केन्द्रका कामु प्रमुख डा वैयतानन्द वैद्य र अर्का जितेन्द्रप्रकाश पाल मुस्ताङ पुगे। उनीहरुले सोधे– काठमाडौं नजाने ? डा चन्दले मन्त्रालयले आवश्यक ठानेमा जाने बताए। उनीहरुले मलेरिया क्षेत्रमा काम गर्ने प्रस्ताव राखे। पालले मन्त्रालयमा कुरा राखेपछि मलेरिया नियन्त्रण केन्द्रमा काम गर्नेगरी उनलाई काठमाडौं सरुवा गरियो। उनले भनेका थिए, ‘केही समय काम गर्छु। मलाई मन परेन भने अस्पतालतिरै फर्किन्छु।’
मलेरिया नियन्त्रणमा काम गरिरहँदा उनलाई जनस्वास्थ्य क्षेत्रमा रुची जाग्यो। उनलाई लाग्यो, ‘क्लिनिकल उपचार त दिन–प्रतिदिन उस्तै रुटिन हो। बिरामी भएपछि मात्रै उपचार गर्ने हो। बिरामी हुनै नदिने काम त जनस्वास्थ्यको कामबाट गर्न सकिने रहेछ।’ उनले त्यहाँ तीन वर्ष काम गरे। जनस्वास्थ्यमै केन्द्रित हुने हो भने एमपिएच अध्ययन जरुरी रहेको उनका अग्रजले सुझाएपछि स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा बैंककको मैडोल युनिभर्सिटीबाट एमपिएच गरे।
सन् १९९३ मा एमपिएच गरेर फर्केपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका तत्कालीन प्रमुख डा बद्रीलाल श्रेष्ठले उनलाई हेटौंडाको एउटा अफिसको साँचो लिएर जानुप¥यो भन्दै जिम्मा लगाए। त्यो साँचो भेक्टर बर्न डिजिज रिसर्च एन्ड ट्रेनिङ सेन्टर हेटौंडाको थियो। उनी त्यसको प्रमुख भएर काम गरे। प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसी भएका बेला त्यसको भव्य उद्घाटन पनि भयो। उक्त केन्द्रलाई डब्लुएचओको सेन्टर, सार्क क्षेत्रको सेन्टर र मलेसिया सरकारको मलेरिया नियन्त्रणका लागि तालिम र रिसर्च सेन्टर बनाउने तयारी भइरहेको थियो। जहाँ जनशक्ति युएसएआइडीले व्यवस्थापन गर्ने सहमति भएको थियो। सन् १९९४ देखि १९९९ सम्म त्यहाँ बस्दा त्यो केन्द्र धेरै कर्मचारीको आकर्षणको केन्द्र बनिसकेको थियो। सहमतिअनुसार काम–कारबाही अघि बढ्दै गए त्यहाँ कार्यरत कर्मचारीको सेवा–सुविधा स्वास्थ्य मन्त्रालयका अन्य कार्यालयभन्दा आकर्षक हुने देखिएको थियो।
यही सन्दर्भमा एक्कासि उनको सरुवा भयो। यो केन्द्रले प्रगति गर्न सकेन। अहिले पनि छायाँमै छ। यो सम्झिँदा भने उनी अहिले पनि दुःखी हुन्छन्। यसलाई अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आफूले गरेको चार वर्षको लगानी खेर गएकोमा चित्त दुख्छ। उनले भने, ‘मैले योजनाअनुसार काम अगाडि बढाइरहेको थिएँ। विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थासँग सहमति भएको थियो। तर, त्यसका बारेमा कसैले मलाई सोधेन। भन्ने हैसियतमा म थिइनँ।’ त्यहाँबाट सरुवा हुँदा आफ्ना व्यक्तिगत करिअरका लागि राम्रै भए पनि संस्थालाई भने हानि पुगेको उनलाई महसुस हुन्छ।
उनलाई त्यहाँबाट सरुवा गरिएपछि ६ महिना पाटन अस्पतालमा काम गर्न पठाइयो। त्यसपछि सरुवा भएर स्वास्थ्य सेवा विभागको योजना महाशाखा पुगे। त्यो समय शरदसिंह भण्डारी मन्त्री थिए। स्वास्थ्य सेवा विभाग प्रमुख डा छत्र अमात्य थिए। मन्त्री भण्डारी केही महत्वपूर्ण निर्णय गर्दा विभाग प्रमुख डा अमात्यको कोठामा आइपुग्थे। सचिव र मन्त्री त्यहीँ बसेर टिप्पणी उठाउँदै निर्णय गर्थे। त्यही समय डा चन्दको मन्त्री भण्डारीसँग निकटस्थ सम्बन्ध बन्यो। मन्त्री भण्डारीले सोधे, ‘तपाईं कुन ठाउँ जाने रोज्नुहोस् ?’ डा चन्दले आफ्नो अनुभव इपिडिमियोलोजी महाशाखाका लागि फिट रहेको बताएपछि भण्डारीले ‘उचाइ’ नपुगेको भन्दै मध्यमाञ्चल क्षेत्रीय निर्देशक बनाए। त्यहाँबाट पूर्वाञ्चल सरुवा गरिएका डा महेन्द्रकेसरी श्रेष्ठ उनीभन्दा वरिष्ठ थिए। मन्त्री भण्डारीले एक महिनापछि फेरि डा चन्दलाई बोलाएर भने, ‘तपाईं पूर्वाञ्चल जानुप¥यो। उहाँलाई सरुवा गर्न नमिल्ने भयो।’
भनेको ठाउँमा नाइँ–नास्ती नगरी जाने बानी थियो डा चन्दको। मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा हाजिर भएको एक महिनामै पूर्वाञ्चल सरुवा भएर गए। सन् २००३ मा विश्वभरि सार्सको महामारी फैलियो। नेपालले पनि यसमा आवश्यक तयारी र रणनीति तर्जुमा गर्नुपर्यो। डा उपेन्द्र देवकोटा स्वास्थ्य मन्त्री थिए। उनले मन्त्रालयमा सोधे, ‘पब्लिक हेल्थमा एक्सपर्ट इमान्दार भएर काम गर्ने को छ ?’ मन्त्रालयका कर्मचारीले डा चन्दको नाम लिए। त्यसपछि मन्त्री देवकोटा फोन गरेर काठमाडौं बोलाए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिए।
विदेशबाट नेपाली विद्यार्थी नेपाल आउने भए। उनीहरुलाई छुट्टै राख्ने (क्वारेन्टाइन)को व्यवस्था गर्नुपर्ने भयो। यसका लागि उपयुक्त स्थल पाँचतारे होटेल हुन्थ्यो। तर, नेपालको कानुनले होटेल खाली गरेर क्वारेन्टाइन बनाउन दिएन। उनीसँग अर्को उपाय थिएन। जुन घरको विद्यार्थी हो, त्यही घरमा क्वारेन्टाइन बनाउने र निगरानी गर्ने रणनीति लिए। उनीहरुलाई घर–परिवार वा अन्य व्यक्तिको सम्पर्कमा नरहन सजग गराए। प्रशासनिक र स्वास्थ्यको डबल निगरानीमा राखियो। उनको यो तरिकालाई लिएर मानवअधिकारवादीले अमिलो टिप्पणी गरे– केटाकेटी डाइरेक्टरको केटाकेटी बुद्धि भनेर। मन्त्रालय र महाशाखाको प्रयासले नेपालमा सार्सको समस्या भएन। त्यहाँ उनको उपयोगिता सकिएपछि परिवार स्वास्थ्य महाशाखाको निमित्त निर्देशक बनाइयो। यही बीचमा सरकार परिवर्तन भएपछि उनलाई पोखरा सरुवा गरियो।
द्वन्द्वको समय थियो तर पोखरामा उनलाई काम गर्न सहज नै थियो। उनको परवार काठमाडौं बस्थ्यो। एक्कासि उनका पिताको मृत्यु भयो। यसले घरायसी समस्या आइप¥यो। घरमा माओवादी र सेना दुइटैले राति ढोका ढकढक्याउँदा परिवारका सदस्यले असुरक्षित महसुस गरेपछि उनले जीवनमा दोस्रोपल्ट सरुवा मागे। उनलाई एचआइभी एड्स नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी दिएर काठमाडौं सरुवा गरियो। एक वर्ष त्यहाँ काम गरेपछि उनी सन् २००८ मा स्वास्थ्य मन्त्रालयमा सरुवा भए।
स्वास्थ्यका उच्चपदस्थ अधिकारीका लागि स्वास्थ्य मन्त्रालय लामो समय टिक्नु निकै कष्टको विषय हो। किनकि नीति–नियम तहमा काम गर्नुपर्छ तर आर्थिक र प्रशासनिक पावर भने कमजोर हुन्छ। त्यसैले मन्त्रालय नबसेर सकेसम्म स्वास्थ्य सेवा विभागतिर जान चाहने नै धेरै हुन्छन्। किनभने सरुवा–बढुवादेखि खरिदसम्म विभागबाट हुने गर्छन्। डा चन्द मन्त्रालयमा सरुवा भएर आएपछि रिटायर्ड नहुन्जेलसम्म ९ वर्ष यहीँ बसे। महाशाखा प्रमुखका रुपमा मन्त्रालय आइपुगेका उनले प्रमुख विशेषज्ञका रुपमा सन् २०१७ जनवरीमा उमेरहदका कारण ३३ वर्षे सेवाबाट विश्राम लिए।
उनी साम, दाम, दन्ड र भेदको नीति अख्तियार गरेर ठूलो पदमा पुग्न सकेनन्। धेरै पैसा पनि उनले कमाउन सकेनन्। तर इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार एउटा स्वास्थ्य सेवकका रुपमा आफ्नो छवी छाड्न सफल भए। अवकाशप्राप्त समयमा आफ्नो जीवनलाई फर्केर हेर्दा उनीसँग कुनै पश्चाताप, कुनै आत्मआलोचना र कुनै अपराधबोध छैन। स–साना कुरामा सन्तुष्ट हुने र मुस्कुराउने उनको उही आदत यथावत छ।