काठमाडौं– बुटवलका विभव बस्याल (२९) सानैदेखि पढाइमा तेज थिए। २०६३ सालको एसएलसीमा ९२ प्रतिशत ल्याएर बोर्ड फोर्थ भएपछि उनले साइन्स पढ्नमा रुचि देखाए। साइन्स पढिसकेपछि उनी डाक्टर बन्ने सपना देख्न थाले।
विभवले शिक्षा मन्त्रालयबाट २०६६ सालमा छात्रवृत्ति पाएर भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइसेन्जबाट एमबिबिएस सिध्याए। हाल ६ महिनादेखि उपक्षेत्रीय अस्पताल डडेलधुरामा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनले बोन्ड भैरहवाको भीम अस्पतालमा मेडिकल अफिसरको रुपमा रहेर पूरा गरे।
त्यहाँ दुई वर्ष काम गरेपछि लोकसेवामा नाम निकाल्न सफल भए। उनले टीकापुर अस्पताल कैलालीमा पनि काम गरिसकेका छन्। दुर्गममा रहेर जनतालाई सेवा दिन चाहेका उनी अहिले आफ्नो पेसाप्रति नै विरक्तिएका छन्।
उनका अरु तीन जना सहपाठी डा अमित अधिकारी, डा कुलदीप खत्री, डा दिनेश उपाध्याय पनि दुर्गम क्षेत्रमा कार्यरत छन्। देशमा रहेको विद्यमान प्रणालीबाट उनीहरु सोचेजस्तो सन्तुष्टि पाउन नसकेको गुनासो गर्छन्।
यी युवाहरुले अवसर पाउने हो भने आफ्नै देशमा के मात्र गर्न सक्दैनन्। उनीहरु यहीँ खट्न चाहन्छन्, मरिमेट्न चाहन्छन् तर उनीहरु आफ्नो देशको प्रणालीबाट असन्तुष्ट छन्।
तिक्ष्ण बुद्धिका यी अब्बल डाक्टरहरु विभव जस्तै शिक्षा मन्त्रालयबाट छात्रवृत्ति पाएर एमबिबिएस पढेका हुन्। देशमै केही गर्छु भनेर बसेका यी युवाहरु अहिले विरक्तिएका छन्। यी सबै युवा डाक्टरहरु अहिले कर्मचारी समायोजनको विषयमा बेखुस छन्। सबैजना एकै स्वरमा भन्छन्, ‘हामी विरक्तिएका छौँ। हामीले नेपालमा भविष्य देखिरहेका छैनौं, फ्रस्टेट भइसकेका छौँ।’
डा विभव कर्मचारी समायोजन गरिएपछि अध्ययन बिदा सरकारले दिन्छ वा दिँदैन भन्ने अन्योलमा रहेको बताउँछन्। उनी भन्छन्, ‘देश संघीयतामा गइसकेपछि सबै कर्मचारी स्थानीय तहमा जाने भन्ने थियो। हामी त पहिलादेखि नै स्थानीय तहमा कार्यरत छौं।’ समायोजन भएर गएपछि स्थानीय तहको फेरि सबै त्यही बस्नुपर्ने भएपछि दुई वर्ष अध्ययन बिदा पाउने हो कि होइन भन्ने प्रश्न गर्छन् उनी।
लोकसेवा पास भएपछि डाक्टरहरुले दुई वर्षे दुर्गम या अति दुर्गममा गएर काम गर्नुपर्छ। अमित, विभव, दिनेश, कुलदीप सबै दुर्गममा कार्यरत छन्। विभवका सहपाठी पोखराका अमित अधिकारी पनि विगत १ वर्षदेखि डडेलधुरा उपक्षेत्रीय अस्पतालमा काम गरिरहेका छन् मेडिकल अफिसरको रुपमा।
दुर्गममा डाक्टरहरु बस्दैनन् भन्ने भ्रम रहेकोमा चित्त दुख्ने बताउँछन् उनी। हाम्रा ब्याचका धेरै साथीहरु दार्चुला, कालिकोट, मुगु, जुम्ला, हुम्ला गएर काम गरिरहेका छन्। सरकारले योगदान नदेखेको र भ्रम मात्र छरेको आरोप लगाउँछन् अमित।
गोरखा जिल्ला अस्पताल र जौबारी प्राथमिक स्वास्थ्य केन्द्र गोरखामा करार सिध्याएर लोकसेवामा नाम निकाली उपक्षेत्रीय अस्पताल डडेलधुरामा चार महिनादेखि कार्यरत डा दिनेश उपाध्यायको भनाइ पनि उस्तै छ।
'मेडिसिन जस्तो विषयमा सधैँ अपग्रेड भइराख्नुपर्छ, त्यसमाथि त्यो अभ्यास मान्छेमै गर्नुपर्छ,' दिनेश आक्रोशित हुँदै भन्छन्, ‘त्यत्रो मान्छेमा सिकेर दक्ष भइसकेपछि त्यो दक्ष जनशक्ति प्रयोग हुने बाटोमा सरकारले नै विचार नगर्नु खेदपूर्ण हो, यसमा पुनर्विचार गरियोस्।’
दिनेश थप्छन्, ‘सरकारी काम गर्ने डाक्टरको संख्या धेरै छ, बरु हामी लिस्ट नै दिन्छौँ। दुईचार जना डाक्टर काम नगर्दैमा सबैलाई त्यसमा मुछेर हामीले गरिरहेको कामको पनि अवमूल्यन गर्न पाइन्छ?’
त्यसैगरी अमित दरबन्दीको पनि समस्या औंल्याउँदै एउटै डाक्टरले मात्र प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न कठिनाइ हुने बताउँछन्। एउटै डाक्टरले १ हप्तामा ४२ घन्टा काम गर्न सम्भव छ त? अहिले प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने भनिएको छ तर दरबन्दीको बारेमा सोचिएको छैन।
एउटै डाक्टरले त्यत्रो १५ शय्याको अस्पताल कसरी चलाउन सक्छ? एउटा संस्थामा पठाएर हाम्रो वृत्तविकास पनि नहुने, सरुवा पनि नहुने, संस्थामा उपकरण पनि नहुने भएपछि काम गर्न पनि जाँगर नचल्ने उनी बताउँछन्।
दुर्गममा डाक्टर पठाउँदा उसको टिम पनि सँगै पठाउनुपर्नेमा जोड दिन्छन् अमित। एउटा सर्जन गएर ऊसँग टिम छैन भने उसले सर्जरी कसरी गर्ने? हामीसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि त उदाहरण छन्, त्यहाँ सेटअप पुगेको छ, सेटअप भएपछि डाक्टरहरु पनि त काम गर्न इच्छुक हुन्छन्।
अमित, वैभव, कुलदीप र दिनेश चारै जनाको इच्छा हो, आफूले पढेको सिप र ज्ञान खेर नजाओस् र राम्ररी प्रयोग गर्न पाइयोस्। उनीहरुको भनाइअनुसार सरकारको यस्तो अन्योलपूर्ण निर्ययले उनीहरु मात्र होइन, अरु डाक्टरहरु पनि निराश छन्। विदेशिने अन्तिम सोचाइ बनाएका छन्। संघमा राखेर परिचालन गरोस्, अध्ययन बिदा दिइयोस्, वृत्तविकास नरोकियोस्। यति मात्र समाधान भइदिए यही सरकारी जागिर गर्न कसैले नरोक्ने उनीहरु बताउँछन्।