पेरिस- फ्रान्समा चिसोमा संक्रमण हुने रोग 'माैसमी फ्लू'को महामारीका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८ सय जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।
फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लूका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिक ७५ वर्षमाथिका वृद्धहरू भएको साप्ताहिक प्रतिवेदनमा बिहीबार उल्लेख गरिएको छ।
रिपोर्टअनुसार फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लूको प्रभाव देखिएको र उपचार तथा सल्लाहका लागि अस्पताल पुगेका थिए भने उनीहरूमध्ये २ हजार १ सय ३७ जनाले अस्पतालमा भर्ना भइ उपचार सेवा लिइराखेका छन्।
भर्ना भएकामा पनि अधिकांश ७५ वर्षमाथि वा १५ वर्षमुनिका बिरामी रहेका रिपोर्टमा उल्लेख छ।
यद्यपि बिरामीको सङ्ख्या तथा बिरामी भइ अस्पतालमा उपचार लिइरहेका मानिसको सङ्ख्या दुबै अघिल्लो हप्ताको तुलनामा कम भएको पनि जनाइएको छ।
फ्रान्समा अघिल्लो हप्ता सम्भवत: सबैभन्दा धेरै मानिसमा फ्लू अर्थात् ‘एच थ्री एन टू’ को सङ्क्रमण देखिएको थियो। रासस/सिन्ह्वा