भारत, कर्नाटकका सर्वमण्यम शास्त्रीले नेपालको पशुपतिमा पुजारीका रुपमा ५१ वर्ष बिताए। त्यसमध्ये १० वर्ष भट्ट र ४१ वर्ष मूल भट्टका रुपमा पशुपतिको पूजाआजा गरे उनले। पशुपति क्षेत्रभित्रै पुजारीका लागि व्यवस्था गरिएको निवासमा १९८६ सालमा रामभद्र अडिगाको जन्म भएको हो।
उनी पशुपतिकै चार किल्लाभित्र हुर्के, दरबार हाइस्कुलमा पढे। अध्यात्मिक परिवारमा मात्र होइन, अध्यात्मिक क्षेत्रमै जन्मे–हुर्केका अडिगाको चिकित्सातर्फको यात्रा निकै रोचक छ।
अडिगाको जन्म हुनेबित्तिकै तत्कालीन श्री ३ मिर्गेन्द्र शमशेरले उनका पितालाई सन्देश पठाए– छोराको जन्म भएकोमा बधाई। तपाईंको छोरा नेपालमै जन्मेका कारण नेपाली हुन्छ। त्यसैले तपाईंको गुरुले बनाएको नियमानुसार भट्ट हुन पाउँदैन।
पिताकै पथ पछ्याउने बाटो यसरी अवरुद्ध भएपछि उनले पूर्णतः पुजारी बन्नतर्फ सोच्नु परेन। त्यो बेला ठूलाबडाका छोराछोरी पढ्ने दरबार हाइस्कुलमा पढे। कमलमणि दीक्षित, केशरजंग रायमाझी, विष्णुप्रसाद धिताललगायतका व्यक्तित्व उनको स्कुले साथी हुन्।
दरबार हाइस्कुबाट म्याट्रिक्स पास गरेपछि थप अध्ययनका लागि उनलाई भारतको मुम्बई पठाइयो। त्यहीँको सेन्ट जेभिएर कलेजमा उनले माइक्रोबायोलोजीमा बिएससी गरे।
भट्टको छोरालाई डाक्टर पढाउनु पाप !
भरत शमशेरले तुरुन्तै जवाफ फर्काए, ‘पशुपतिको भट्टको छोरालाई डाक्टर बनाएर पाप बोक्न सक्दिनँ। डाक्टर बनेपछि सबै जातलाई छुनुपर्छ। मान्छेको चिरफार गर्नुपर्छ।’ शमशेरका निकटस्थले अडिगाले विज्ञान पढ्दा भ्यागुतो चिरेर ‘बिग्रिसकेको’ अवगत गराए। सँगै भने, ‘सरकार नेपालमै जन्मेकाले यसले भट्टको काम गर्न पनि पाउँदैन।’
उनले बिएससी पास गरिसकेका थिए। त्यही समय भारत सरकारले तीन जना नेपाली विद्यार्थीलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिने निर्णय ग¥यो। त्यसका लागि अडिगा प्रमुख दाबेदार थिए। किनकि माइक्रोबायोलोजीमा बिएससी गरेका र पढाइमा अब्बल पनि। तर, भारतबाट आएका भट्टका छोरा भएकाले नेपाली कोटामा पढ्न नपाउने एकथरीको तर्क रह्यो। उनीहरु भन्थे, ‘उनका पितापूर्खा त भारतीय हुन्। नेपालीको कोटामा उनलाई कसरी पढाउन मिल्छ?’
जन्मका आधारमा उनी नेपाली नागरिक भइहाले। नेपालमै जन्मेका कारण भट्ट हुन पनि वञ्चित गराइहालियो। त्यस आधारमा उक्त कोटा पाउनुपर्ने पक्षमा पनि केही थिए।
यही प्रसंगमा उनी सम्झिन्छन्, कुनै समय नेपाल भनेको काठमाडौं उपत्यकाको चार भञ्न्याङ मात्रै रहेको कुरा। किनकि त्यो समय नेपाल आउन त बाहिरका लागि पासपोर्ट चाहिन्थ्यो। उनले पनि पासपोर्ट देखाएर चार भञ्ज्याङ काटेर आउजाउ गरेका छन्।
यही क्रममा उनी एकपल्टको रोचक घटना सम्झिन्छन्, ‘म काठमाडौं बाहिर गएर आउँदै थिएँ। सिपाहीले अंग्रेजीमा लेखिएको कागज हेर्न थाल्यो। खुब घोरिएर पढेजस्तो ग¥यो। मैले आँखा लगाएको त उल्टो समातेका रहेछ। मैले ‘उल्टो भयो’ भनें। उसले तँसँग सोधेको छु भनेर हप्कायो।’ उनले त्यो समय साक्षरता इंगित गरेका थिए यहाँनेर।
एमबिबिएस पढ्ने विषयमा तह–तह हुँदै तत्कालीन प्रधानमन्त्री श्री ३ मोहन शमशेरसम्म जाहेरी पुर्याउनुपथ्र्यो। अन्तिम फैसला उनैले गर्थे। अडिगाले उनीसम्म पुग्ेन निधो उनले गरे।
त्यहाँसम्म पुग्न उनलाई त्यति गाह्रो लागेको थिएन। किनभने आफ्नो पिताको परिचयले सहज बनाइदिन्थ्यो। यही क्रममा एकदिन उनलाई सिंहदरबारमा दर्शनभेटमा आउन निर्देशन गरियो। उनलाई साढे दुई बजे बोलाइएको थियो। उनी पाइन्ट–सर्ट लगाएर गएका थिए तर सिंहदरबार गेट पुग्नेबित्तिकै सिपाहीहरुले रोके। उनलाई सोधियो, ‘श्री ३ महाराजलाई भेट्न आउँदा पाइन्ट–सर्ट किन लगाएको?’
आफू मुख्य भट्टको छोरा रहेको बताउँदा पनि आठपहरियाहरुले उनलाई समातेर थुनिहाले। दिइएको समयमा भेट्न नआएपछि श्री ३ शमशेरले चासो प्रकट गरे। उनले सोधेछन्, ‘मुल भट्टको छोरा आइपुगेन?’ त्यही क्रममा हल्लाखल्ला भयो, ‘एकजनालाई थुनेर राखिएको छ। त्यही पो पर्यो कि ?’
पहिले आफ्नो परिचय बताउँदा नसुनेका आठपहरियाले सोधे– पशुपतिको मुख्य भट्टको छोरा हो? उनले ‘हो’ को संकेतमा टाउको हल्लाएपछि माफी माग्दै जी–हजुरी गर्न थाले, ‘श्री ३ सरकारलाई थुनेकोबारे नबताइदिनु’ भन्दै।
श्री ३ लाई स्वस्ति गर्दै उनले बिन्ति चढाए– महाराज डाक्टरी पढ्न पाए हुन्थ्यो!
भरत शमशेरले तुरुन्तै जवाफ फर्काए, ‘पशुपतिको भट्टको छोरालाई डाक्टर बनाएर पाप बोक्न सक्दिनँ। डाक्टर बनेपछि सबै जातलाई छुनुपर्छ। मान्छेको चिरफार गर्नुपर्छ।’
शमशेरका निकटस्थले अडिगाले विज्ञान पढ्दा भ्यागुतो चिरेर ‘बिग्रिसकेको’ अवगत गराए। सँगै भने, ‘सरकार नेपालमै जन्मेकाले यसले भट्टको काम गर्न पनि पाउँदैन।’
त्यसपछि भरत शमशेरले उनलाई नेपाली छात्रवृत्ति कोटामा भारतको पुना मेडिकल कलेजमा पढ्न अनुमति दिए। अडिगाले सन् १९५७ मा एमबिबिएस पूरा गरे।
यौन तथा चर्मरोगमा विशेषज्ञता
उनी एमबिबिएसका साथै केही समय स्त्री रोगमा थप अध्ययन र अनुभव लिएर नेपाल फर्किए। स्त्री रोगमै विशेषज्ञता हासिल गर्ने लक्ष्यका साथ उनले एक वर्ष सोही मेडिकल कलेजको स्त्री रोग विभागमा काम गरेका थिए।
डा अडिगाका अनुसार नेपालको वीर अस्पताल त्यो समय मेल र फिमेल गरी दुई भागमा बाँडिएको थियो। फिमेलमा बिरामी पनि महिला मात्रै राखिएको हुन्थ्यो भने उपचार गर्ने डाक्टर पनि महिला। उनलाई लागेको थियो– स्त्री रोगमा आफू जान्ने भएकाले सोही विषयमा अभ्यास गर्न पाइन्छ। तर, वीर फिमेल अस्पताल त जान नपाइने थाहा पाएपछि उनले यसमा विशेषज्ञता गर्ने सपना नै त्यागिदिए।
वीर मेल अस्पतालमा एक सय ८० रुपैयाँ तलब र २० रुपैयाँ भत्ता पाउनेगरी उनको नियुक्ति भयो। उनलाई त्यही समय अस्पताल प्रमुख (तत्कालीन समय आरएमओ भनिन्थ्यो) दिन खोजिएको थियो तर डा दिनेश गंगोल सो पदमा भएकाले उनलाई ६ महिनापछि मात्रै बनाउने आश्वासन दिइयो।
टुँडिखेलमा सेनाको कवाज बिहान–बेलुका हुन्थ्यो। त्यो समय वीर अस्पतालको ओपिडी खोल्नुपथ्र्यो। डा अडिगा त्यो समय सम्झिन्छन्, ‘म पशुपतिदेखि थोत्रो साइकलमा अस्पताल आउजाउ गर्थें। लामो समय वीर अस्पतालमा त्यसैगरी सेवा दिएँ।’
नेपाली डाक्टरलाई विशेषज्ञ बन्नका लागि सो समय विदेशी मेडिकल कलेजले छात्रवृत्ति प्रदान गरिरहन्थे। यही क्रममा आएको छात्तवृत्तिमा सर्जरीका लागि डा अञ्जनीकुमार शर्मा छानिए। मेडिसिनमा डा मृगेन्द्रराज पाण्डेलाई पढ्न पठाइयो। बाँकी रह्यो, यौनरोगमा ३ महिने कोर्स। उनलाई सोधियो, ‘जाने कि नजाने?’
उनलाई यस विषयमा पनि केही जिज्ञासा त थियो। आफ्ना पिताबाट अध्यात्मिक ज्ञान हासिल गरेका उनी यसलाई विज्ञानसँग जोड्नमा रुची राख्थे। हिन्दु धर्मावलम्बीले श्रद्धाले पुज्ने शिवलिंगको वैज्ञानिक कारण जान्न मन थियो। यौन रोग अध्ययन गर्दा पुरुष जननेन्द्रीय पनि पर्ने भएकाले केही जानकारी पाइने आशा थियो। त्यसैले चाहना मनभित्र थुन्दै उनले शर्त तेस्र्याए, ‘तीन महिनामा त्यो कोर्स सकिएपछि चर्मरोग पढ्न पाउनुपर्छ।’
त्यो समय नेपालमा चर्मरोगमा विशेषज्ञता हासिल गरेको डाक्टर पनि थिएन। थुप्रै बिरामी आउँथे तर सबैको रोग उपचारमा एमबिबिएस मात्रै गरेको चिकित्सकको ल्याकत पुग्दैनथ्यो।
उनी पढ्न जाने बेला बिपी कोइराला प्रधानमन्त्री थिए। उनको शर्त स्वीकार भयो। उनी जान थालेको बेला कसैले उनलाई पानीजहाजबाट गए संसार हैर्दै जान सकिने बताइदियो। उनलाई पनि उक्त आइडिया सही लाग्यो। १८ घन्टा हवाइमार्ग छाडेर उनी १८ दिन जलयात्रा गर्दै बेलायत पुगे।
बेलायतमा पत्रकारको काम
उनी बेलायतमा विशेषज्ञता हासिल गरिरहेका थिए। त्यही समय राजा महेन्द्रले बेलायतको भ्रमण गर्ने भए। नेपाली रेडियोमा राजा भ्रमणको समयको प्रत्यक्ष जानकारी दिनुपर्ने भयो। राजा बेलायत सवारी भएको, त्यहाँ गतिविधि हेरेको त्यहीँ बसेर रेकर्ड गर्दै नेपाल पठाएर रेडियोमा प्रसारण गर्ने योजना थियो। जसको जिम्मेवारी बिबिसीले पाएको थियो।
बेलायतमा रहेका नेपालीमध्ये कसले त्यसरी बोल्न सक्छ भनेर बिबिसीले खोज्यो। डा अडिगा सम्झिन्छन्, ‘नेपाली मात्रै जानेर भएन। राजकीय भाषा पनि प्रष्ट जान्नुपथ्र्यो। राजाले भ्रमण गरिरहेका बेला ‘सरकार भर्खर राज भइसक्यो। कवाज नजर गरिबक्स्यो’ खालको भाषामा बोल्नुपथ्र्यो। यसका लागि म र एकजना सेनाका जर्नेल डाक्टर ठाकुरनाथ भट्टराई छानियौं।’
पछि डा अडिगा एक्लैले सो जिम्मेवारी पूरा गर्नुपर्ने भयो। राजाको भ्रमणसम्ममा उनले ‘पत्रकार’को काम गरे। उनको आवाजमा रेकर्ड गरिएको प्रत्यक्ष जानकारी तुरुन्तै नेपाल पठाएर रेडियो नेपालबाट ब्रोडकास्ट गरिन्थ्यो। उनका अनुसार त्यो समय प्लेनमा त्यसरी रेकर्ड पठाउन नै १८ घन्टा लाग्थ्यो। बेलायतमा उनी दुई वर्ष बसे। यौनरोगका साथै चर्मरोगमा विशेषज्ञता हासिल गरेर फर्किए।
एअरपोर्टबाटै सरकारको कब्जामा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको परिवार बस्ने पशुपति क्षेत्र नजिकै छ। त्यसैले उनी सामान भरियालाई बोकाएर हिँडेरै घर पुग्ने निधोमा पुगे। बाहिर निस्किन खोज्दै थिए, उनलाई सेनाले कब्जामा लियो। उनले किन जान नदिएको भन्दै प्रश्न गरे। तर, सेनाका जवानको उत्तर हुन्थ्यो, ‘माथिको आदेश छ। जानु नदिनू भनिएको छ।’
पछि थाहा भयो उनलाई घर जान नदिन एउटा बहाना बनाइएको रहेछ। पछि उनका साथी सरकारका सचिव केशरप्रसाद रेग्मीले त्यहाँबाट छुटाएर आफ्नो घर लगे। उनले भने, ‘केही दिन खाने–बस्ने सबै यतै गर्ने हो।’
खासमा विदेश बसेर आएकाले खान हुने/नहुने खाएर, छुन हुने/नहुने छोएर आएको हुनसक्ने भन्दै होम गरेर मात्रै पशुपति क्षेत्रभित्र रहेको उनको निवास पसाउने भनिएको रहेछ। उनका पिता पशुपतिका मूल भट्ट भएकाले परिवार भित्रै बस्थ्यो। ‘पशुपतिमा होम सुरु गरेपछि मात्रै मलाई ल्याउन भनिएको थियो। त्यसैले तीन दिन जहान–परिवार भेट्न पाइनँ,’ उनले सम्झिएँ, ‘त्यतिबेला पिताजीलाई बोल्ने देउताको उपमा दिइन्थ्यो। त्यसैले कडाइका साथ नीति–नियम पालना गर्नुपथ्र्यो।’
नेपालमै चर्म र यौनरोगको उपचार
बेलायतबाट यौन र चर्मरोगमा विशेषज्ञता हासिल गर्नुका साथै अनुभव समेत लिएर उनी नेपाल फर्किए। उनी सिधै पहिले कार्यरत वीर अस्पताल पुगे। जहाँ यी रोगको युनिट नै थिएन। उनी आएपछि उपचार सेवा दिन सुरु गरे।
विशेषज्ञ नभएको तर असाध्यै आवश्यकता रहेको हुनाले उनलाई जँचाउने बिरामीको भीड नै लाग्न थाल्यो। ‘त्यो समय छालाको समस्या भएका बिरामी निकै थिए। दिनमै एक सयदेखि एक सय ५० सम्म बिरामी हेर्नुपथ्र्यो,’ उनले सम्झिए। अस्पतालमा यो रोगका विशेषज्ञ जरुरी भएको महसुस गरेर उनले पछि वीर अस्पतालकै अर्को डाक्टरलाई यही रोगमा विशेषज्ञता हासिल गर्न पठाए। उनी आफैंले १० वर्ष वीर अस्पताल सेवा दिएपछि यहाँबाट बाहिरिए।
महामारी नियन्त्रणमा डा अडिगा
वीर अस्पतालमै उनको आवश्यकता थियो। त्यसैले उनलाई अस्पताल प्रमुख (आरएमओ) भएर काम गर्न अनुरोध गरिएको थियो। उनको ध्यान भने महामारी नियन्त्रणमा गयो। वीर अस्पतालमै चर्मरोग विशेषज्ञका रुपमा काम गर्दा पनि कुष्ठरोग पीडितहरुको उपचार सेवा उनले दिएका थिए। उनी सम्झिन्छन्, ‘जताततै कुष्ठरोग थियो। त्यो नियन्त्रण गर्न विश्व समुदाय लागिपरेको थियो।’
नेपालमा पनि त्यसमा काम गर्न जरुरी लागेर उनले वीर अस्पताल छाडेर साझा स्वास्थ्य सेवाअन्तर्गत गए। सुरुमा उनले कुष्ठरोग नियन्त्रणमा काम गरे। स्वास्थ्य मन्त्रालयअन्तर्गत कुष्ठरोग इन्चार्जका रुपमा उनले कुष्ठरोग नियन्त्रणमा आफूलाई समाहित गरेका थिए।
उनी सम्झिन्छन्, ‘त्यो समय कुष्ठरोग भएपछि अपांगता भएकाहरुलाई कस्तो जुत्ता जरुरी हुन्छ भनेर १५ दिन बाँसबारी छाला जुत्ता कारखाना बसेर आफैंले सिकाएको थिएँ।’ त्यसपछि हैजा नियन्त्रण र विफर उन्मुलनमा समेत उनको उलेख्य योगदान रह्यो। यसैगरी स्वास्थ्य मन्त्रालयको एड्स नियन्त्रण कार्यक्रममा पनि उनले लामो समय काम गरे।
यही क्रममा जोन हप्किन्स युनिभर्सिटी अमेरिकाबाट पब्लिक हेल्थमा मास्टर्ससमेत गरेका उनी नेपालका प्रायः सबै जिल्ला पुगेका छन्। उनले कहीँ उपचार सेवा दिएर आएका छन् भने कहीँ स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरेर फर्केका छन्। स्वास्थ्य मन्त्रालयाट उनले ६० वर्षे उमेर हदका कारण स्वास्थ्य सेवा विभागको कार्यबाहकको निर्देशकबाट अवकाश लिएका हुन्।
अवकाशपछि आरामदायी जीवन
अवकाशपछि डा अडिगा यत्तिकै बसेनन् तर पैसाका लागि मरिहत्ते गरेर कुदेनन्। एक तरिकाले भन्नुपर्दा आरामदायी जीवन बिताए अवकाशपछि उनले। आफ्नो विशेषज्ञता विश्वका जुन देशलाई चाहियो, त्यही देश पुगेर सेवा दिएका छन्। स्वास्थ्य क्षेत्रका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले बेलाबेलामा उनलाई जनस्वास्थ्य विज्ञका रुपमा सल्लाहकारमा नियुक्त गरेका छन्।
आफूसँग भएको ज्ञान–सिप बाँड्न रुचाउने डा अडिगाले नेपाल मेडिकल कलेजदेखि चिकित्सा शास्त्र अध्ययनसम्म विभिन्न समय एमबिबिएस एचए र कम्पाउन्डरलाई पढाए। बिरामी जाँच्ने कामलाई समेत सँगसँगै अघि बढाए।
उमेर ९० टेक्न लागेका उनीसँग सम्झिने, सुन्ने, हेर्ने र बोल्ने क्षमतामा उमेरअनुसारको ह्रास आएको छ। बिरामी जाँच्ने कर्मबाट पनि पछिल्ला ७ वर्षदेखि टाढिएका छन्।
लामो समयसम्म पशुपति क्षेत्र र बत्तीसपुतलीको बसाइँ त्यागेर बुढेसकाल मण्डिखटारस्थित निजी निवासको घामको न्यानोमा कटाइरहेका छन्।
सुख सम्पत्तिको रास होइन, सहयोग र आत्मीयता खोज्न उनका पिताले सिकाएको मार्गबाट उनी विचलित भएनन्। सन्तानलाई पनि त्यही सिकाए। जसको फलस्वरुप चारैतिरबाट घेर्दै आएका बुढ्यौलीका समस्या पन्छाउन साथमा उनका जेठा छोरा नवीनचन्द्र अडिगा र बुहारी सुष्मा हरपल उनीसँगै छन्। छोरी प्रतिमाले फार्मेसी क्षेत्र रोजिन् भने कान्छा छोरा श्रीचन्द्र अडिगाले अमेरिकामा नर्सिङ रोजे। उनको जेठा छोरातर्फका नाति सुशान्त अडिगा हजुरबुबाको पथ पछ्याइरहेका छन्। चितवन मेडिकल कलेजबाट एमबिबिएस गरेका उनी अहिले पिजिएमआइआरबाट नेत्ररोगमा विशेषज्ञता हासिल गरिरहेका छन्।
डा अडिगा पिताको पथ हिँड्न पाएनन् भट्टका रुपमा। तर, धर्म, ज्ञान र सेवाका लागि उनले सधैं आफ्ना पिताको दर्शन पछ्याए। सकेसम्म आफूले जानेका कुरा अरुलाई बताउन र सत्कर्ममा हिँड्न प्रेरित गर्न उनी सदा लागिपरे। जीवनलाई सकारात्मक रुपमा बुझेर त्यहीअनुसार व्यवहार गर्नु नै उनको दीर्घजीवनको सबैभन्दा ठूलो रहस्य हो।