नेपालको स्वास्थ्य क्षेत्रमा दुईथरी डाक्टर छन् । एकथरी छन्– जो सरकारी प्रणालीभन्दा बाहिर बस्छन् र सरकारका कमजोरीमाथि धारेहात लगाइरहन्छन् । अर्काथरी छन्– सरकारी प्रणालीभित्रै रहेर सुधारका प्रयास गरिरहन्छन्।
डा विष्णुरथ गिरी दोस्रो थरीमा पर्छन् । डा गिरीजस्तै सोच भएका डाक्टरका कारण सरकारी अस्पताल चलिरहेका छन् । दूरदराजमा पनि चिकित्सकीय सेवा फैलिरहेको छ ।
समाजले ‘कमाउने पेसा ठान्ने’ चिकित्सकलाई सरकारले दिने सेवा–सुविधाको अंकगणित खासै गतिलो छैन । ‘देशमा अवसर (कमाउने) नभेटेर विदेशिएँ’ भन्ने डाक्टरको संख्या ठूलै छ । सरकारी अस्पतालको पारिश्रमिकले ‘घर धान्न’ (बनाउन) नसकेपछि निजी अभ्यासमा हेलिएको बताउनेहरु पाइलैपिच्छे भेटिन्छन्।
प्रणालीबाट बाहिरिएर धारेहात लगाउने होइन, भित्रै बसेर सुधारका लागि पहल गर्नुपर्छ भन्ने मानसिकता भएका डा गिरीजस्तै डाक्टरका कारण सरकारी स्वास्थ्य प्रणाली थला पर्नबाट जोगिएको छ।
कान्ति बाल अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डा गिरी आफ्नो विगत, दुर्गममा काम गर्दा बिरामीका अनुहारमा देखिएको पीडा र नेपाली चिकित्साका यथार्थ सम्झिरहन्छन् । यिनै कुराले सरकारी स्वास्थ्य संस्थामा रहेर चिकित्सकीय सेवा दिइरहने ऊर्जा प्राप्त गर्छन् उनी।
केही वर्षअघि भर्खरै एमबिबिएस पास गरेर ताप्लेजुङ उक्लिँदै गर्दा एक आम नेपाली युवाले देख्ने सपना नै थियो उनीसँग पनि । छात्रवृत्तिमा पढेका कारण अनिवार्य सेवा गर्नुपर्ने समय कटाउने, त्यो समय युएसएमएलइका लागि किताबहरु घोक्ने र एकदिन विशेषज्ञता हासिल गर्न भन्दै कुनै विकसित देशतिरको यात्रा तय गर्ने उनको चाहना थियो । उनले युएसएमएलइका लागि चाहिने पुस्तकको झोलासमेत भिरेर उक्लेका हुन् ताप्लेजुङ।
एक वर्षका लागि सरकारले दुर्गम मानिएको उक्त जिल्ला पठाएको थियो उनलाई । जब त्यहाँ पुगे, उनको सोचमा युटर्न आयो । उनले उपचार नपाएर, गराउन नसकेर र डाक्टर नभएका कारण मृत्यु कुरेर बसेकाहरु भेटे । सामान्य बिरामी हुँदा पनि धरान पुग्नुपर्ने ताप्लेजुङबासीको बाध्यता देखे । सडक सञ्जालले राम्ररी नजोडेको पहाडी भूभागका बासिन्दा कसरी अकालमै ज्यान गुमाइरहेका छन् ? उनले महसुस गरे।
एकदिन उनले हिसाब गरे– एकजना एमबिबिएस पास डाक्टर त्यस्ता जिल्लामा बस्ने हो भने जिल्लाबासीको ५ करोड रुपैयाँ जोगिने गणितीय वासलात निस्क्यो । ज्यान जोगिने भावनात्मक हिसाबकिताब त गरिसाध्य हुने भएन । एक वर्षका लागि पुगेका डा गिरी तीन वर्ष बसे त्यहाँ । उनले त्यागिदिए, युएसएमएलई गरेर अमेरिका पुग्ने सपना । यही माटोको लागि र यहीँका मान्छेका लागि चिकित्सा सेवा दिन प्रण गरेर फर्के काठमाडौं।
यति मात्रै होइन, दुर्गम जिल्ला बस्दा एक डाक्टरलाई स्थानीय दिने सम्मान, महसुस गराउने हार्दिकता र मानवीय सेवा आर्थिक उन्नति र सहज जीवनयापनसँग तुलनै गर्न सकेनन् । विदेशी भूमिमा गएर गरिने डाक्टरी काम र नेपालमा रहेर दिइने चिकित्सा सेवाका अन्तर केस्रा–केस्रा केलाउँदै जाँदा उनलाई देश प्रिय लाग्दै गएको हो ।
यससँगै फरक्क फर्केर हेरे आफ्नै धरातल । बुबाआमाको श्रम र पसिनाले सिंचिएको आफ्नो विगत पनि सम्झिए । स्याङ्जाको मल्याङकोट, जहाँ उनी जन्मेर एक कक्षासम्म पढेका थिए, त्यो सम्झिए । त्यहाँबाट सन्तानको उज्वल भविष्य खोज्दै चितवनको नारायणगढ झरेको आफ्ना मातापिताको संघर्ष स्मरण गरे । चिया पसल थापेर आफूलाई शिक्षाको कमी हुन नदिएको घटनाहरु एक–एक गरी उनको आँखामा नाँच्न थाले।
उनी त्यस्तो पृष्ठभूमिबाट हुर्केर डाक्टर बन्न पुगेका हुन्, जुन पृष्ठभूमिको एक बच्चाले डाक्टर बन्ने सपना देख्नसमेत मुश्किल पर्छ । कक्षा ५ सम्म नारायणगढमै रहेको सरकारी स्कुल बालकुमारी कन्या माविमा पढेका हुन् । त्यसपछि उनको परिवार गैंडाकोट स¥यो । उनी कन्टिनेन्टल इङ्लिस बोर्डिङ स्कुलमा भर्ना भए । निजी स्कुलमा पढाइ आर्थिक अवस्थाले पुग्दो भएर होइन, पढाइमा उनको अब्बलताले दिलाएको थियो । अर्किड साइन्स स्कुल भरतपुरमा छात्रवृत्तिमै प्लस टू पढे भने एमबिबिएस पनि सरकारी छात्रवृत्तिमै पोखरास्थित मणिपाल मेडिकल कलेजमा गरे।
नेपालमै विशेषज्ञता हासिल गरेर यहीँका सरकारी अस्पतालमा रहेर सेवा दिने लक्ष्य लिएका उनले सन् २०१५ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट पेडियाट्रिक मेडिसिनमा विशेषज्ञता हासिल गरे । त्यसपछि कान्ति बाल अस्पतालमा सेवा दिन सुरु गरे । कान्तिमा काम गर्दागर्दै उनले बाल क्यान्सर रोगमा भेलोर पुगेर थप एक वर्ष सुपर स्पेसियालिटी गरे ।
बाल क्यान्सर नै रोज्नुका उनीसँग अनेक कारण छन् । त्यसमध्ये पहिलो, यसमा धेरै कम चिकित्सकको प्राथमिकता हुनु, दोस्रो अध्ययन÷अनुसन्धानमा रुचि हुनु र तेस्रो बालबालिकालाई क्यान्सरबाट जोगाउन सकिन्छ भन्ने विषयमा धेरैलाई जानकारी नहुनु हो।
युरोप अमेरिकाजस्तो मुलुकमा बाल क्यान्सर निको हुने दर ८०–९० प्रतिशत पुगिसकेको छ । नेपालमा पनि ५०–६० प्रतिशतलाई जोगाउन सकिएको देखिन्छ । कान्तिमै लामो समययदेखि बाल क्यान्सर रोगको उपचार भइरहेको छ । तर, नेपालजस्ता गरिब देशमा उपचारमा अनेक समस्या छन् । बाल क्यान्सर उपचारमा पनि नेपालीको कम आय चुनौती भएर उभिइदिन्छ । डा गिरी ‘नेपाली समाज सुहाउँदो’ उपचार जरुरी ठान्छन् । उनी अहिले पनि घोत्लिरहन्छन्, ‘कसरी उपचार सेवा सस्तो र सहज बनाएर बच्चालाई जोगाउन सकिन्छ?’
कान्ति अस्पतालमा उनले उपचार सेवा दिइरहँदा झेल्ने समस्याको फेहरिस्त नै छ । नेपालका सरकारी अस्पतालले भोग्ने सबै साझा समस्या यहाँ पनि छन् । उनी बाल क्यान्सर विभागमा कार्यरत रहेकाले थप केही समस्या भोगिरहेका हुन्छन् । निरन्तर नर्सिङ केयर चाहिन्छ बिरामीलाई । तर, निकै थोरै नर्सले भरथेग गरिएको छ । पेडियाट्रिक अन्कोलोजीसम्बन्धी तालिम दिइएको छैन । चेकजाँचका लागि प्याथोलोजीको अभाव छ । यस्ता सरकारी अस्पतालमा पुग्ने अधिकांश कमजोर आर्थिक अवस्थाका हुन्छन् । यस्ता अस्पतालमा काम गर्ने डाक्टरले रोग पत्ता लगाएर मात्रै कर्तव्य पूरा हुँदैन, उसको आर्थिक हैसियतले उपचार गर्न सक्ने÷नसक्नेसमेत पत्ता लगाएर विकल्प सुझाइदिनुपर्छ । यी समस्यासँग दिनदिनै लडिरहेका छन्, डा गिरीहरु।
उनीसँग यसलाई सहज बनाउने ‘आइडिया’ छन् । तर, नेपालको सरकारी प्रणाली यति ‘बोधो’ छ कि सुन्न नै सक्दैन । पेडियाट्रिक अन्कोलोजीमा मात्रै भए पनि केही परिवर्तन गर्न उनको टिम लागिरहेको छ । नर्सिङ सेवालाई प्रभावकारी बनाउन तालिम दिने, बिरामीको रेकर्ड सिस्टम चुस्त–दुरुस्त बनाउने, औषधिको ‘प्रोटोकल’ स्थानीयकरण गर्ने र नेपालमा बाल क्यान्सरको उपचार सम्भव भएकाले यसका लागि सरकारी सहयोग बढोत्तरीका लागि एड्भोकेसी गर्ने कार्यमा लागिरहेको उनी बताउँछन्।
उनलाई लाग्छ– दुर्गमका दर्द देखेको डाक्टर हत्तपत्त विदेश पलायन भइहाल्न चाहँदैन । तर, नेपालको प्रणालीले यहीँ राख्न पनि सक्दैन । किनभने करोडौं लगानी र त्यत्तिकै मिहिनेत गरेर बनेको एउटा डाक्टरलाई हेर्ने दृष्टिकोण र दिने सेवा–सुविधा ‘शाखा अधिकृत’ बराबरको छ । उनलाई मन पर्दैन, १२ घन्टा ड्युटीमा जोतिने नर्सलाई सरकारले नायब सुब्बासँग दाँजेको । ‘राति पनि ड्युटी गर्नुपर्छ । तर, उनीहरु कसरी घर जान्छन् वा आउँछन् ? भन्ने कुराको समेत वास्ता गरिँदैन,’ उनलाई खड्किरहन्छ । अस्पताल धान्ने रेजिडेन्टको हालत उस्तै छ।
उनका अनुसार स्वास्थ्यले धेरै मन्त्री भेटिसक्यो ‘डाक्टरलाई कारबाही गर्छु’ भन्ने । अहिलेसम्म पाउन सकेको छैन, ‘समस्याको समाधान खोज्छु’ भन्ने । उनी आफूलाई सकेसम्म सरकारी अस्पतालमै व्यस्त बनाउन चाहन्छन् । निजी अभ्यास गर्नु नपरेहुन्थ्यो भन्ने उनलाई छ । ‘गर्नु नराम्रो भन्ने अर्थमा होइन,’ उनी तुरुन्तै प्रष्ट्याउँछन्, ‘तर, सरकारी अस्पतालमै काम गर्दा पुग्ने अवसर सिर्जना गरिदिनुपर्छ सरकारले।’
चिकित्सकीय अभ्याससँगै चिकित्सकका लागि अनुसन्धान महत्वपूर्ण पाटो हो । ‘यसले रोगका बारे जानकारी हासिल हुने मात्रै होइन, समस्याको स्थानीय समाधानका लागिसमेत सघाउँछ,’ उनलाई लाग्छ, ‘सरकारी र निजी चिकित्सकीय अभ्यासको भागदौडमा नेपाली चिकित्सकले अध्ययन/अनुसन्धान गर्ने अवसर गुमाइरहेका छन् । यो स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा ठूलो हानि हो ।’ हरेक अस्पताल र हरेक चिकित्सकले अनुसन्धानलाई उपचार सेवा सँगसँगै लैजानुपर्ने जरुरी उनले देखेका छन् ।
डा गिरी आफूलाई लागेको कुरा अरुसँग बाँडिरहन्छन् । आफूले गर्नसक्ने कुरामा लागिपर्छन् । उनी आशावादी छन्, ‘एकदिन नेपालको स्वास्थ्य प्रणालीमा सुधार अवश्य आउनेछ ।’