नेपालका ठूला अस्पतालमध्ये एक हो, त्रिवि शिक्षण अस्पताल। यो अस्पतालको सबैभन्दा धेरै बिरामी भर्ना हुने ‘रेस्पी डिपार्टमेन्ट’ प्रमुख हुन् डा सन्तकुमार दास। श्वासप्रश्वाससम्बन्धी रोगको उपचार हुने उक्त विभागको जिम्मेवारी सम्हालेको ६ महिना पुगिसकेको छ डा दासले।
शान्त स्वभावका डा सन्त बिरामी उपचारमै व्यस्त हुन्छन्। चिकित्सा शास्त्र अध्ययन संस्थानका एसिस्टेन्ट प्रोफेसर समेत रहेका उनी विद्यार्थी पढाउनमै केन्द्रित हुन्छन्।
केही दिनअघि एकाएक चर्चामा आए उनी। सामान्यतया देशका ठूला मान्छेको उपचारमा नाम चलेकै डाक्टर हुन्छन्। चिकित्सा क्षेत्रभन्दा बाहिरकाले खासै नाम नसुनेका डा सन्त प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न भएपछि चर्चित भए।
धेरैमा जिज्ञासा जाग्यो– को हुन् उनी?
धेरैले प्रश्न गरे– कसरी हुन पुगे शक्तिकेन्द्र नजिक?
धेरैले अनेक अनुमान लगाए। धेरैले आफ्नो जिज्ञासाको उत्तर आफ्नै अनुमानले दिए। तर उनी प्रधानमन्त्री ओलीको उपचारमा संलग्न हुनुको कारण यी सब अनुमानभन्दा फरक छ। पत्याउनुहुन्छ ? उनी विशुद्ध विशेषज्ञ चिकित्सकका रुपमा प्रधानमन्त्री ओलीको उपचारका लागि बालुवाटार पुगेका थिए।
बालुटार प्रवेश गरिरहँदा उनी शक्ति केन्द्र प्रवेश गरेको नभई एउटा बिरामीलाई घरमै उपचार सेवा दिन गइरहेको महसुस भएको थियो।
प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि उनको प्रवेश हुनुमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बास्कोटाको हात छ। प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा दिव्या सिंह विशेष कारणले देशबाहिर थिइन्। यही बेला खोकीले उनलाई सतायो। छातीरोगका फिजिसियन खोज्ने क्रममा डा बास्कोटाले शिक्षण अस्पतालमा त्यही रोगको विभाग सम्हालिरहेका डा दासलाई सम्झे।
डा दासको बालुवाटारको यात्रा पहिलो भने थिएन। यसअघि सुशील कोइराला प्रधानमन्त्री भएको बखत अर्का कुनै चिकित्सकको सहायकका रुपमा उपचारका लागि उनी पुगेका थिए।
‘बिरामीले डाक्टरलाई भरोसा गरेन भने उपचार गर्न गाह्रो हुन्छ। कत्तिको भरोसा गर्नुहुन्छ होला ?,’ प्रधानमन्त्री ओलीको उपचार सुरु गर्नुअघि डा दासको दिमागमा खेलेको यत्ति हो। डा दासको अनुभव छ, ‘बिरामी र बिरामीका आफन्तले भरोसा गरेनन् भने हामीले उपचार गर्न मुश्किल पर्छ।’
आफ्नो उपचारमा संलग्न चिकित्सकलाई बिरामी निको पार्ने इमान्दार प्रयास गर्ने वातावरण प्रधानमन्त्री ओलीले दिए। त्यही भरोसाको नतिजा हो, ओलीको उपचार नेपालमै सम्भव भयो।
सामान्यतया भिआइपीको उपचारमा चिकित्सकले एक खालको ‘प्रेसर’ महसुस गर्छन्। जनचासोले समेत प्रेसर बढाइदिन्छ। प्रधानमन्त्री ओलीका निकटस्थ र कार्यकर्ताले सामाजिक सञ्जालमा नेपाली डाक्टरप्रतिको अविश्वास प्रकट गरेर विदेश पठाउनुपर्ने कुरा पोस्ट गरेको डा दासले देखेका थिए। तर, ओलीले भने नेपाली डाक्टरप्रति असाध्यै भरोसा देखाएको अनुभूति उनले गरे। भने, ‘उहाँ र उहाँसँगै रहेकाहरुले हामीलाई प्रेसर महसुस हुन दिनुभएन। हामीले आफ्नै प्रक्रियाअनुसार उपचार गर्दा सकारात्मक नतिजा निस्कियो।’
नेपाली चिकित्सकमा उपचार दक्षताको अभाव नरहेको पटक–पटक प्रमाणित भइरहेको छ। यो घटनाले चिकित्सकमा आत्मबल थपेको छ भने सर्वसाधारणमा नेपाली चिकित्सक सक्षम रहेको कुरा एकपल्ट फेरि प्रमाणित भएको छ।
आज अब्बल चिकित्सकमा पर्ने डा दासलाई कुनै समय आफू चिकित्सक बन्नसक्ने आत्मबल समेत थिएन। मेडिसिनमा सानैदेखि उनको रुची भए पनि आर्थिक–सामाजिक कारणले उनी हेल्थ असिस्टेन्ट आफ्नो बुताको ठहर्याउँथे।
सप्तरी पडरिया गाउँमा जन्मेका दासले ७ कक्षासम्म गाउँकै सरकारी विद्यालय र एसएलसी राजविराजको सरकारी स्कुलबाट गरे। शिक्षण पेसामा रहेका पिता नथुनी दासको कमाइले घरखर्च र ६ जना सन्तानको पढाइ धान्नु थियो। त्यसैले पनि डाक्टरी उनले आफ्नो आर्थिक अवस्थाभन्दा परेको विषय ठानेका थिए।
२०४८ सालमा एसएलसी दिएका उनी जिल्ला टप नै भए। तर, सपनाको आकार फराकिलो हुँदै भएन। पहिल्यै देखेको हेल्थ असिस्टेन्ट बन्ने सपना पूरा गर्न उनी काठमाडौं उक्ले। सिधै उक्त विषयमा पढाइ हुने ठाउँ हालको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्ज पुगे। त्यही वर्षदेखि आइओएमले हेल्थ असिस्टेन्ट पढाउन रोकेको रहेछ।
आफूले चाहेको विषय नपाएपछि उनी आइएसी पढ्न अमृत साइन्स क्याम्पस लैनचौर पुगे। शिक्षक बुवाको सपना छोरालाई साइन्सको शिक्षक नै बनाउने थियो। तर, उनलाई फिटिक्किै रुची थिएन त्यतातिर। उनको पढाइको स्तर खस्कियो। त्यसबाट उनका पिता असाध्यै रुष्ट भए। उनी आफैंलाई पनि महसुस भयो– यसरी हुँदैन।
पढाइको रफ्तार बढाउनुका साथै आफ्नो सपनाको आकार बढाए। आइएसी दोस्रो वर्ष पुगेपछि उनलाई लाग्यो, ‘अब चिकित्सक बन्न प्रयास गर्नुपर्छ।’
२०५२ सालमा आइओएममा एमबिबिएसका लागि प्रवेश परीक्षा दिए। पहिलोपल्ट नै सफलता हासिल भयो। उनले चिकित्सा पढ्न पाए।
एमबिबिएस सकेपछि उनले लोक सेवामा नाम निकालेर स्वास्थ्य सेवामा प्रवेश गरे। कोशी अञ्चल अस्पतालमा १६ महिना काम गरे। उनको काम एनेस्थेसियामा थियो। त्यो विषयमा उनको रुची पनि बढ्दै थियो।
त्यहाँ उपचार गर्न आउनेमा उनका चिनेजानेका हुन्थे। उनीहरुले सोध्थे, ‘हजुरको क्लिनिक कहाँ हो ? बिरामी जाँच्नुहुन्न ?’ एनेस्थेसिया बिरामी जाँच्ने काम नभएको भनेर कतिलाई बुझाउन सकुन् र !
त्यही खबर उनका पितालाई पनि सुनाइदिन्थे, ‘छोरा डाक्टर त भएछ तर बिरामी नजाँच्ने।’ एनेस्थेसियामा रहेको उनको रुची परिवारलाई फिटिक्कै मन परेन। पछि विशेषज्ञता लागि आइओएम जाँच दिँदा पनि उनलाई लागिरहेको थियो, ‘एनेस्थेसिया नै छान्छु।’
पढ्नका लागि विषय छान्दा उनीसँग विकल्पहरु थिए। एउटा विकल्प इन्टरनल मेडिसिन पनि रह्यो। उनले झट्ट छोरा बिरामी जाँच्ने डाक्टर भएको हेर्ने बुवाको चाहना सम्झे। त्यागिदिए एनेस्थेसिया बन्ने चाहना र रोजे इन्टरनल मेडिसिन।
इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गरेपछि फेरि उनले स्वास्थ्य सेवाअन्तर्गत काम गर्न लोकसेवा दिए। पास भएपछि भक्तपुर अस्पतालमा उनको दरबन्दी थियो। यही बेला फेरि आइओएमबाट उनलाई अफर आयो। उनी सम्झिन्छन्, ‘अस्पतालमा हाजिर भएको जम्मा दुई दिन भएको थियो। मलाई जे बनायो, यही आइओएमले बनायो। जे योगदान गर्न सक्छु, त्यहीँ गर्छु भन्ने लागेर भक्तपुर अस्पतालबाट राजीनामा दिएर हिँडें।’
आइओएममा फर्केपछि २०६४ जेठबाट उनी मेडिसिन विभागका तत्कालीन रेस्पिरेटी युनिटमा काम गर्न थाले। युनिट विस्तार हुँदै चार वर्षअघि विभागमा परिणत भयो। आइओएमका एसिस्टेन्ट प्रोफेसर र शिक्षण अस्पतालमा चिकित्सकका रुपमा उनी सक्रिय थिए। गत असारमा डा करवीरनाथ योगी रिटायर्ड भए। त्यसपछि ‘रेस्पी डिपार्टमेन्ट’ प्रमुखको जिम्मेवारी उनीमाथि आइलाग्यो।
बिरामीको उपचार र विद्यार्थीको पढाइमा उनी निरन्तर सक्रिय रहन्छन्। आफूलाई आइओएमले बनाएको महसुस गरेका उनी यस संस्थालाई आफू पनि केही दिन चाहन्छन्।
त्यसबाहेक अहिले उनीसँग अर्को एउटा सपना छ। त्यो सपना हो– श्वासप्रश्वास वा फोक्सोसँग सम्बन्धित रोग लाग्यो कि सम्झिने अस्पताल बनाउने। जस्तोः मुटुसम्बन्धी समस्या आयो कि गंगालाल वा मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड रिसर्च सेन्टर सम्झिन्छन् बिरामी।
शिक्षण अस्पतालमा पनि धेरै बिरामी भर्ना हुने विभाग उनको भइसकेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा नम्बर एक हत्यारा ‘सिओपिडी’ हुने अनुमान गरेको छ। यसका कारण विभिन्न छन्। मान्छेको औसत आयु बढ्दो छ। वृद्ध उमेरका व्यक्तिको जनसंख्या बढिरहेको छ। प्रदूषणको समस्या दिनदिनै जटिल बनिरहेको छ। धूमपान सेवनकर्ताको अवस्था पनि बढेकै छ।
सरकारले अहिलेदेखि यस विषयमा सोच्नसके मात्रै त्यो समय बिरामीको चाप धान्नसक्ने उनले देखेका छन्। छातीरोगको सुविधासम्पन्न अस्पताल भए मात्रै समस्याको समाधान गर्न सहज हुने उनी बताउँछन्।
आफ्नो तर्फबाट यसका लागि उनले पहल गरिरहेका छन्। अब उनको प्रयासले केही गति लिने आशा गर्न सकिन्छ, किनभने उनले प्रधानमन्त्री ओलीलाई आफ्नो आइडिया सजिलै सुनाउन सक्छन् र ओलीले उनको कुरा ध्यान दिएर सुन्न सक्छन्। उनी भन्छन्, ‘पहिलेदेखि पहल गर्दै आइरहेको थिएँ। एकपल्ट प्रधानमन्त्रीलाई नै भेटेर काठमाडौंमा छातिरोगका लागि छुट्टै अस्पताल चाहिन्छ भनेर प्रस्ताव गर्छु।’