काठमाडौं- प्रदेश ३ का २० विद्यालमा विद्यालय नर्स नियुक्त भएका छन्। प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले उनीहरुलाई आवश्यक तालिम समेत दिइसकेको छ।
‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा २० वटा विद्यालयमा नियुक्त भएका १९ जना नर्सहरुलाई ३ दिने तालिम दिइएको हो। तालिममा एक जना नर्स भने अनुपस्थित थिइन्।
मन्त्रालयले उनीहरुलाई मंसिर २६ देखि २८ गतेसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिएको थियो।
मन्त्रालयमा कार्यरत पब्लिक हेल्थ नर्स मिलन घिमिरेले तालिममा नर्सहरुलाई विभिन्न प्रेरणात्मक कक्षाहरु प्रदान गरेको बताइन्। उनी तालिम संयोजकमध्येकी एक हुन्।
'यो पाइलटिङ कार्यक्रम हो, अस्पतालमा काम गरिरहेका नर्स नयाँ ठाउँमा नयाँ कार्यक्रमका साथ जाँदै हुनुुहन्छ त्यसैले पनि यो तालिम दिन जरुरी थियो,' उनले भनिन्।
तालिममा प्राथमिक स्वास्थ्य सेवा सहित पोषणको अवस्था, किशोर किशोरीहरुको प्रजनन स्वास्थ्यको अवस्था बारेमा पनि विभिन्न जानकारी दिएको बताउँदै मिलन भन्छिन् 'यदि एउटा नर्सले एक जना विद्यार्थीलाई स्वास्थ्य शिक्षा दियो भने त्यो विद्यार्थीले परिवारलाई नै परिवर्तन गर्न सक्छ। त्यसपछि न समाज र देश परिवर्तन हुन्छ।'
विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्दै सीपमूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयले कार्यक्रम शुरु गरेको हो। पहिलो वर्ष ‘पाइलटिङ प्रोजेक्ट’ का रुपमा यो कार्यक्रम शुरु गरिएको छ ।
मन्त्रालयका अनुसार यो वर्षमा सिन्धुपाल्चोक चौतारास्थित कृष्णरत्न मावि, भीमटारस्थित भीमेश्वर मावि, सिन्धुली फ्रोसेटारस्थित जनज्योति मावि, रसुवा कालिकास्थानस्थित कालिका हिमालयन मावि, रामेछापस्थित मन्थली मावि, नुवाकोट तुक्सारस्थित विन्दुकेशर मावि र त्रिभुवन मावि (त्रिशूली) मा कार्यक्रम लागू गरिएको छ । त्यस्तै मकवानपुरको बकैयास्थित महेन्द्र मावि, हेटौँडास्थित आधुनिक मावि, ललितपुरको आदर्शसोल मावि, त्रिपद्मा विद्याश्रम मावि, काभे्रपलाञ्चोकको ढुङ्गेखर्कस्थित पार्वती मावि, काठमाडौँ पाँगास्थित जनसेवा मावि, पद्मकन्या मावि, दोलखाको हनुमन्तेश्वर मावि, चितवन भरतपुरको नारायणी मावि, भरतपुरकै दुर्गा शेषकान्त अधिकारी मावि, धादिङको नीलकण्ठ मावि, बेनीघाट मावि र भक्तपुरको बागेश्वरी मावि छनोटमा नर्सहरु खटिने छन्।
उनीहरुको पारिश्रमिक स्वास्थ्य सेवाको पाँचौं तहको हुनेछ। विद्यालय नर्सले किशोर–किशोरीको प्रजनन, महिनावारी स्वास्थ्य, परिवार नियोजन, यौन तथा यौनिकताका बारेमा परामर्श, व्यक्तिगत/वातावरणीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा प्राथमिक उपचारको व्यवस्था गर्नुपर्नेछ । साथै थप उपचारका लागि अन्तै पठाउन परेमा स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्नेछ।
अखाद्य वस्तु ‘जंक फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिवभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्नेछ । सरकारले पहिलो वर्ष मन्त्रालयले नर्ससहित भौतिक सामग्रीको व्यवस्थापन गरिदिने र दोस्रो वर्ष स्थानीय तहसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।
कार्यविधिमा स्थानीय तहमा कार्यक्रमलाई प्रभावकारीरुपले व्यवस्थापन गर्न विद्यालय स्वास्थ्य समन्वय समिति गठनको प्रावधान छ । स्थानीय तहको शिक्षा÷स्वास्थ्य एवं सामाजिक शाखा हेर्ने प्रमुखको संयोजकत्वमा सरोकारवालाको प्रतिनिधित्वसहित समिति गठन गर्नुपर्नेछ । त्यस्तै विद्यालय स्वास्थ्य एकाइ गठनको व्यवस्था गरिएको छ । विद्यालय नर्सको मातहतमा स्वास्थ्य शिक्षकको संयोजकत्वमा नर्स, महिला शिक्षक, ९–१२ कक्षासम्मका दुई छात्रा सदस्य रहनेछन्।
यी हुन् विद्यालय नर्सहरु