क्यालिफोर्निया– डा रिकार्डो पुन चोङ ‘सिएनएन हिरो अफ द इयर २०१८’ घोषित भएका छन्।
उनी एक चिकित्सक, जसले बिरामीको उपचार त गर्छन् नै, बिरामीका परिवारलाई पनि उत्तिकै हेरचाह गर्छन्।
पुन चोङ आफ्नो मेडिकल तालिमका लागि पेरुको लिमामा थिए। त्यहाँ उनले धेरै बालबालिकाहरुको उपचार गरे जो विकट गाउँबाट आफ्ना अभिभावकका साथमा आउँथे।
उनीहरु उपचारको लागि कोही हिमाल, कोही पहाड त, कोही कच्ची बाटो छिचोल्दै निकै कष्टपूर्ण तथा जोखिमपूर्ण यात्रा गरेर आफू भए ठाउँ आएको सम्झिँदा आज पनि उत्तिकै भावुक हुन्छन् चोङ।
घरबाट निकै टाढा रहेको अस्पतालमा आउने अधिकांश बिरामी र उनका आफन्तसँग होटलमा बस्ने पैसा हुँदैनथ्यो। पुन चोङले बिरामी कुरुवाहरु अस्पतालकै भुइँमा बस्न बाध्य भएको दृश्य देखे। त्यहि दृश्य नै अन्ततः उनलाई सिएनन हिरोको उपाधिसम्म आइपुग्न उद्गम बिन्दु बन्यो भने धेरै गरिब तथा विपन्न परिवारका लागि न्यानो आश्रय।
‘बिरामी कुर्न आएकाहरु भुँइमा सुतेको दृश्य मेरो दिमागमा घुमिरह्यो।’, सुरुवाती क्षणको संझना गर्दै पुन चोङले भने, ‘त्यहींबाट नै उनीहरुका लागि केही गर्नुपर्छ भनेर संकल्प गरेँ।’
उपचारका क्रममा रहेका बिरामी बालबालिका तथा उनीहरुको परिवारको लागि निःशुल्क बस्ने व्यवस्था, खाना तथा अन्य सहयोग गरेको आधारमा नै यो उपाधि प्रदान गरिएको हो।
समाजिक क्षेत्रमा योगदान पुर्याएका विश्वभरका १० हिरोलाई अनलाइन भोटिङ गर्ने व्यवस्था मिलाइएको थियो। जसमध्ये पुन चोङले विश्वभरबाट सर्वाधिक भोट पाए र अन्ततः सिएनएन हिरो बन्न सफल भए।
सन् २००८ मा उनले ‘इन्सपाइरा’ नामक एक आवास गृह र गैरसरकारी संस्था खोलेका थिए। उक्त संस्थाले अहिलेसम्म ८ सय परिवारलाई सहयोग गरिसकेको छ।
बालबालिकाहरुलाई उनीहरुको घरजस्तै महसुस गराउन र रमाउन् भन्ने उद्देश्य लिएर उक्त आवास गृह निर्माण गरिएको बताउँछन् उनी। हालसम्म पनि सोअनुसार नै सेवा दिइरहेको छ ‘इन्सपाइरा’ले।
सिएनन हिरो बनेपछि पुन चोङको तथा उनले गरेको योगदानको चर्चा त चुलिएको छ नै। त्यसमाथि उपाधिवापत उनले १ लाख अमेरिकी डलर पुरस्कारसमेत हात पारेका छन्।
पुन चोङका लागि यो रकमले कस्तो अर्थ राख्छ त?
उनी भन्छन्, ‘हामीले पुरस्कारमा पाएको पैसाले नयाँ भवन निर्माणको काम सुरु गर्न सक्छाँै। नयाँ आवास गृह बनाउन सक्छौँ। साथै सेवा सुविधा पनि तेब्बर पार्न सक्छौँ, इन्सपाइराको लागि यो सामान्य कुरा अवश्य पनि होइन।’
अवार्ड ग्रहण गर्दा खुसी सँगै भावुक देखिएका चुङले आवास गृहमा रहेका बालबालिकालाई सम्झिन छुटाएनन्। ‘वास्तविक नायक त हाम्रा यी बालबालिका हुन्,’ पुन चोङ भन्छन्, ‘मायाको कुनै सिमाना नहुने रहेछ, मेरा बालबालिकाप्रति यति धेरै माया र विश्वास गर्दिनुभएकोमा सबैलाई धन्यवाद।’
(एजेन्सीको सहयोगमा)