नयाँदिल्ली- भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ। पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
तर प्रदेशको स्वास्थ्य विभागका अधिकारीहरुले भने उनीहरुको मृत्यु जिका भाइरसबाटै भएको हो भन्ने पुष्टी गर्न भने अस्वीकार गरिरहेका छन्।
प्रदेशको लोकप्रिय पत्रिका “द हिताभाडा”ले रोग नियन्त्रण विभागका निर्देशक डा. हिमांशु जैस्वारलाई उद्धृत गर्दै जिका भाइरसको आशंका गरिएका २०० जनाको रगतको नमुना सङ्कलन गरिएको समाचार लेखेको छ।
सङ्कलन गरिएका नमुनाहरु भोपालस्थित एम्स अस्पतालको प्रयोगशालामा पठाइएको उनले जानकारी दिएको समाचारमा उल्लेख छ।
एम्सको प्रयोगशालाले परीक्षण गरिएकामध्ये ३१ जनामा जिका भाइरस देखिएको जनाएको छ। जिका भाइरस देखिएकामध्ये सात जना प्रदेश राजधानी भोपालका, १२ जना सेहोर र १२ जना भिडिसाका रहेका छन्।
निर्देशक जैस्वारका अनुसार स्वास्थ्य विभागले ती नमुनाहरु थप परीक्षण र थप पुष्टीका लागि नेसनल इन्स्टीच्युट अफ भाइरोलोजी पुणेमा पठाएको छ। रासस