काठमाडाैं– अस्पतालको एउटा लापरबाहीका कारण सर्वसाधारणले कतिसम्म सास्ती खेप्नुपर्छ भन्ने उदाहरण भारतको मध्यप्रदेशस्थित एक अस्पतालले प्रस्तुत गरेको छ।
अस्पतालको लापरबाहीले अस्पतालबाट हिन्दु र इसाईको शव साटिएपछि ठूलो समस्या निम्तिएको छ।
अस्पतालबाट शव बुझेर जब एक हिन्दु परिवारले क्रिश्चियनको लास जलाए तब क्रिश्चियन परिवार प्रहरी कार्यालयको चक्कर काट्न बाध्य भएको छ।
भोपाल मेमोरिल अस्पतालको एक लापरबाहीले एक इसाईका शव हिन्दु परिवारले प्राप्त गरे र उसको अन्तिम संस्कार समेत गरे।
तर, इसाई परिवार अस्पताल पुग्दा अर्को व्यक्तिको लास देखेपछि अस्पतालको यस्तो लापरबाहीको खुलासा भयो।
जब हिन्दु परिवारले लास जलाएर अन्तिम क्रिया गर्ने तयारी गरिरहेका थिए, इसाई परिवार प्रहरी कार्यालय पुगे।
यस्तो थियो घटना
२७ अक्टुबरमा भोपालका गोविन्द गार्डन निवासी कुंजुमनको हृदयघातका कारण निधन भयो। जसको शव अस्पतालको लास घरमा राखिएको थियो। सोही दिन खुसीलाल नामको अर्को एक व्यक्तिको मृत्यु भएपछि शव सोही मुर्दाघरमा राखियो।
कुंजुमानको परिवारले शवको अन्तिम संस्कारका लागि ३० अक्टुबरको समय तय गरेर अस्पतालसँग लास लैजाने सहमति गरे।
केरलामा रहेका आफन्तहरुको उपस्थितिपछि मात्र अन्तिम संस्कार गर्ने सोचमा उनीहरुले यो समय तय गरेका थिए। यही बीचमा खुसीलालका छोरा अस्पताल पुगेर मुर्दाघरबाट शव उठाएर लगे। उनले आफ्ना बाबुको अन्तिम संस्कार हिन्दु परम्परा र विधि अनुसार सम्पन्न गरे।
यहाँसम्म यो घटना ठिकै थियो। जब कुंजुमानको परिवार ३० तारेखमा शव लिन अस्पताल पुगे अनि घटनाले नाटकीय मोड लियो। उनीहरुले कुंजुमानको नाममा रहेको लास अन्य व्यक्तिको भएको पाए र लास लैजान अस्वीकार गरे।
मृतकको लास साटेको भन्दै खोजी गरिदिन आग्रह गरे।
अस्पताल प्रशासनले लास खोजीको क्रममा एक हिन्दु परिवारले लास लगेको भेटियो।
बागमुगालियामा बसोबास गर्दै आएका उनीहरुले इसाईको शव लगेको पत्ता लागेपछि अस्पताल र कुंजुमान परिवार उक्त क्षेत्रमा पुगे। उनीहरु पुग्दा खुसीलाल परिवार अन्तिम कार्य सकेर हिन्दु रितअनुसार कोरामा बसेको फेला पर्यो।
यसपछि कुंजुमान परिवारले पुलिसमा रिर्पोट गरे।
प्रहरीले खुसीलाल परिवारले अस्पतालले आफ्नो पिताको नाममा लास दिएकाले जलाएको तर्क गर्यो। प्रहरीले खुसीलालका छोरालाई कुंजुमानको अस्तुसहित प्रहरी कार्यालय उपस्थित गरायो।
खुसीलालका छोरा पनि प्रहरीको अनुरोध अनुसार अस्तुसहित हाजिर भए।
प्रहरी चौकीमा खुसीलालका छोरा प्रेमनारायाण र उनका भाइ उपस्थित भए तर यो प्रकरण यसै समाप्त भएन।
प्रहरीले खुसीलालका छोरालाई हिन्दुहरुको अन्तिम संस्कार गर्दा बाबुको मुख किन हेरिएन भनेर सोध्यो तर उनले दुखको घडीमा ध्यान नपुगेको स्वीकार गरे।
प्रहरी कार्यालयमा अनौठो मुद्दा आएपछि दर्ता त भयो तर समाधान कसरी निकाल्ने अन्योल परेको छ। प्रहरी अधिकृत लोकेश कुमारले उजुरी आएपछि दर्ता गरेकोले आइपिसीको धारा २९७ अनुसार यसको समाधान गर्ने प्रयासमा आफूहरु रहेको बताए।
प्रहरीको अन्तिम कोसिस भनेको क्रिस्चियन परिवारले कम्तीमा अन्तिम अस्तु प्राप्त गरुन् र बाँकी क्रिया पूरा गरुन भन्ने भएको उनले बताए।
तर कुंजुमान परिवार भने अझै पनि अन्योलमा रहेको छ।
क्रिस्चियन परम्परा अनुसार लास नै गाड्नुपर्ने भएकाले अस्तु लाने कि नलाने भन्नेमा उनीहरुले निर्णय लिन सकेका छैनन्।
खुसीलाल परिवारले भने दुखद घडीमा अस्पतालका कारण गल्ती भएको भन्दै पुन बाबुको लास बुझेर अन्तिम संस्कार गर्ने बताएको छ।