मेरो पुख्र्यौली घर पर्वत हो। सानो छँदा हामी दसैं मनाउन उतै जान्थ्यौँ। सानोमा दसैं मनाउने क्रममा भएको एउटा घटना म अझै पनि भुल्न सक्दिन। सायद म ७ वर्षको थिएँ होला। हामी दसैं मनाउन गाउँ पुगेका थियौँ।
हामी गाउँ पुगेको दिन एक जना महिला सुत्केरी हुनु भयो। दसैंको समयमा सुत्केरी भएमा टीका लगाउन हुन्छ वा हुँदैन भन्नेमा ठूलै विवाद भएको थियो। अन्ततः टीका नलगाउने निर्णय भएछ। त्यसपछि भोलिपल्ट फेरि लुरुलुरु एकदिन हिँडेर स्यांङजा आउनुपर्यो।
फर्किने दिन टीकाको दिन थियो। सबैको निधारमा रातो टीका देख्दा आफ्नो मन कटक्क खान्थ्यो। टीका नथापिकन यत्तिकै घर फर्किनु परेको त्यो घटना एकदमै नराम्रो लागेको थियो।
०००
हामी दसैंको बेला पौडी खेल्न जान्थयौं। म सायद ८ –९ वर्षको थिएँ होला त्यतिबेला म साथी अनि दाइहरुसँग पौडी खेल्न गएको थिएँ। गाउँमा त दह हुन्छ। गहिरो छैन भनेर दहमा हामफालेको थिएँ। डुबेर झन्डै मरिएन। दसैंमा टीका थाप्न गाएको हास नपु¥याउँदा झन्डै ज्यान गएको थियो। त्यसयता पौडी खेल्न बेलामा म निकै सजग हुन्छु।
००
दसैं पहिला रमाइलो हुन्थ्यो। सबैजना भेटघाट गरिन्थयो। तर अहिले त गाउँमा पनि मान्छे नै भेटिँदैनन्। गाउँघरमा मान्छे नै कम भएका छन्। सबैजना बाहिर छन्। बच्चामा सँगै खेलेका साथीहरु पनि भेट हुँदैनन् अचेल।
बाल्यकालमा नंग फुल्यो भने नयाँ पैसा अनि लुगा पाइन्छ भन्ने आशा हुन्थ्यो। च्यांग्रा खोज्न गइन्थ्यो र डोर्याएर ल्याउँदा अर्के मज्जा हुन्थ्यो।
हामी केटाहरुलाई चाहिँ टिका लगाएर पैसा दिँदैनन्। मामाघरमा चाहिँ दिन्छन्। आफ्नो घरमा चाहिँ दिँदैनन्। त्यसैले म एकचोटी गाउँभरि टिका थाप्दै डुलेको थिएँ। तर मुश्किलले २ रुपैयाँ जम्मा पार्न सफल भएको थिएँ।
००
अहिले दसैंमा मिल्यो भने साथीहरुसँग हाइकिङ अनि टे«किङ जाने गरेको छु। मलाई लाग्छ यसले ज्यान फुर्तिलो तथा आयु पनि बढाउँछ।
दसैंमा पहिला टीकाको महत्व हुन्थ्यो। तर अहिले आफू धेरैजसो बाहिर रहँदा टीका लगाउने समय नै मिल्दैन। सायद मैले अहिलेसमम्म १० देखि १२ चोटी होला टीका थापेको छैन।
(बुनु थारुसँगको कुराकानीमा आधारित)