काठमाडौं- नर्स सोफिया प्रधान वीर अस्पतालको हेमोडायलाइसिस युनिटमा कार्यरत छिन्। मिर्गौला फेल भएर डायलाइसिसका लागि आएका बिरामीको सेवामा उनी खटिरहेकी हुन्छिन्। गत वर्ष दसैंको टीकाको दिन नै उनको नाइट ड्युटी परेको रहेछ। नर्स सोफिया प्रधानले स्वास्थ्यखबरकी सिर्जना खत्रीसँग आफ्नो दसैं अनुभव यसरी सुनाइन्ः
मेरो गाउँ बन्दीपुर हो। हामी सपरिवार पहिलेदेखि नै काठमाडौँमा बस्ने भएकाले प्राय सबै दसैं गाउँमानै गएर मनाउने गर्थ्यौँ। सानो बेलामा दसैं आएपछि गाउँ जान पाइन्छ भनेर एक किसिमको छुट्टै रमाइलो लाग्थ्यो। गाउँमा संयुक्त परिवारमा बस्ने हुँदा दसैंको बेलामा हामी धेरै जना हुन्थ्यौं। सबै परिवार एकै ठाउमा भेला हुँदा घरको माहोल रमाइलो हुन्थ्यो। धेरै जना भएकाले टीका लगाउँदा पालो कुरेर बसेको अहिले पनि याद आउँछ।
पहिला हजुबुबा, हजुरआमा हुनुहुन्थ्यो उहाँहरुले आशिर्वाद दिनुहुन्थ्यो। त्यसैले पनि दसैंको छुट्टै महत्व थियो। तर अहिले घरको हजुरबुबा, हजुरआमा हुनुहुदैँन तर मामाघरको हजुरबुबा र हजुआमा हुनुहुन्छ त्यसैले सकेसम्म उहाँहरुको हातको टिका लगाउँन जान पाए हुन्थ्यो जस्तो लाग्छ। तर, नर्सको डिउटी परेपछि समय मिलाउन समस्या पर्ने रहेछ।
अहिले त सानो बच्चामो जस्तो रमाइलो लाग्दैन। परिवरका धेरै जना विदेशमा हुनुहुन्छ। हजुबुबा, हजुरआमा पनि हुनुहुँदैन।। त्यसैले पनि पहिलाको जस्तो रमाइलो लाग्दैँन। अहिले ठुलो भएर पनि होला काममा व्यस्त पनि भइन्छ।
सानो बेलाको दसैंमा हामी गाउँघरमा सबै जम्मा हुने सबैजना घुम्न जाने, आमाले पकाएको मिठो मिठो खानेकुरा खाने गर्दा खुब रमाइलो लाग्थ्यो। टीकाको दिन टीका लगाएर केटीले मात्र दक्षिणा पाउथे, त्यो बेला निकै रमाइलो लाग्थ्यो।
अहिले पहिला सानो बेलामा जस्तै दसैं मनाउन बन्दीपुर जान पनि पाइदैँन। अस्पतालबाट छुट्टि पनि मिल्दैन। नर्स भएर काम गर्न सुरु गरेदेखी एक पटकमात्र टिका लगाएको छु। पेहोर साल त टीकाको दिन नै नाइट ड्युटी थियो। त्यो भन्दा अघिल्लो साल पनि टीका लगाउन पाइएन।
तर, मलाई डिउटी गर्नु पर्यो भनेर दुःख लागेको छैन। यसमा मलाई झन खुसी लाग्छ। बिरामीको सेवा गर्न पाउँदा मनमा छुट्टै आनन्द आउँछ।
यो वर्ष बन्दीपुर जाने योजना थियो। तर, यता काममा आकस्मिक रुपमा बोलाउन सक्ने भएकाले त्यो योजना त्यागेको छु।
हाम्रो गाउँमा नेवारहरुले फुलपातीको दिन ठुलो पूजा गर्ने गर्छन्। हाम्रो घर नजिकैको मन्दिरमा हुन्छ त्यो पुजा। यसपाली त्यो पुजा पनि छुट्ने भयो।
यो पेसा अंगालेपछि दसैं, तिहार, लगायतका चाडपर्ब भन्न मिल्दैन। किनभने हाम्रो सबैभन्दा ठूलो काम भनेको नै बिरामीको सेवा हो। यो नै हाम्रो लागि ठूलो धर्म हो।