दशैंमा बिदा लिएर घरमा परिवारसँग बसेर रमाइलो गर्न मन लाग्छ। सबैलाई त्यस्तै हुन्छ।
अस्पतालका सबै नर्सले बिदा लिए भने त अस्पताल बन्द गर्नपर्ने हुन्छ। बिरामीलाई छाडेर आफु रमाइलो गर्न पनि भएन। त्यसले आफैं बुझेर बिदा मिलाउनुपर्छ।
दशैंको बेलामा हामी नर्सहरुलाई बिदा मिलाउन सबै भन्दा ठुलो चूनौति हुन्छ। सबैलाई घर गएर टिका लगाउने मन हुन्छ। तर त्यो सम्भव हुन्न।
मलाई देशका विभिन्न अस्पतालको बच्चाको वार्डहरुमा काम गर्ने मौका मिलेको छ। बच्चाहरुलाई सेवा गर्न पाउँदा रमाइलो पनि लाग्छ। चाडबाडमा रमाइलो गरेर आफ्नो परिवारसँग बसेर मनाउँन नपाउदा बेकारमा 4 पेसा रोजेको जस्तो लाग्छ कहिलेकाहिँ।
मेरो २० वर्षको करियरमा म हरेक दसैंमा टिका लगाउन घर पुग्ने गरेकी छु। अहिलेसम्म मेरो टीका छुटेको छैन। धेरै समय पोखरामा काम गर्ने मौका मिलेकाले त्यहाँबाट पनि नजिकै पथ्र्यो। त्यसैले टिका लगाउन जसरी भएपनि पुग्थे। त्यो बेलामा अलि सहज पनि थियो। अहिले जस्तो व्यस्त भइदैँन्थ्यो।
अहिले कान्तिबाल अस्पतालमा काम गर्दा पनि टीकाको अघिल्लो दिन डियूटी गरेर राती भएपनि घर पुग्ने गरेकी छु।
परिवारसँग आनन्दसँग बसेर मनाउन नपाएको थुप्रै वर्ष भयो। जहिले पनि हतार हतार बेलुका आयो बिहान टीका लगायो। अनि हतार हतार गरेर फेरि डियूटिमा फर्कियो। कहिलेकाहिँ सोच्दा पनि दिक्क लाग्छ।
कामबारे घरमा सबैलाई जानकारी भएर कसैले गुनासो गर्नुहुन्न। सबैले सम्मान गर्नु हुन्छ। मेरो काम यस्तै छ भन्ने कुरा उहाँले बुझ्नु भएको छ। आफुलाई भने परिवारलाई समय दिन नपाउँदा नरमाइलो लाग्छ।
कहिलेकाहिँ त सँगै बसेर रमाइलो गरेर मनाउन पाएपनि हुन्थ्यो जस्तो पनि लाग्छ। काम नै त्यस्तै छ लामो समय परिवारसँग बस्ने समय नै हुदैँन।
सुरुसुरुमा नर्स हुदाँ यति धेरै गाह्रो हुदैँन। जिल्ला अस्पतालमा मान्छे त्यति धेरै नआउने हुदाँ बिदा बसेर दसैं आनन्दले मनाउन पाइन्थ्यो।
अन्य नर्सलाई पछिपछि काम गर्न सहज हुन्छ तर मलाई भने अहिले धेरै गाह्रो छ। केन्द्रिय अस्पताल भएकाले बिरामीको चाप पनि धेरै हुन्छ। तिहारमा अहिलेसम्म बिदा नै लिएको छैन भनेपनि भयो।
चाडपर्वको बेलामा परिवारसँग बस्न नपाउँदा बच्चाहरु चिन्तित हुन्छन्। सबैका आमाबुबासँगै बसेर रमाइलो गरेर दसंै मनाएको देखेर उनीहरुलाई पनि आफ्नो आमा कतै नगए पनि हुन्थ्यो जस्तो लाग्छ।
सबै परिवार एकै ठाउँमा भेला भएको बेला आफ्नो आमा नहुँदा बच्चालाई रमाइलो लाग्दैन होला। अघिपछि डियूटी जाँदा त्यति वास्ता गर्दैनन्। तर पर्वको बेला र रातीको समयमा डियूटी जाने बेला नरमाइलो मान्छन्।
हामी नर्सको बाध्यता हो जसरी भएपनि अस्पताल जानु पर्छ। मेरो दुख देखेर होला छोरीले अहिलेदेखी म नर्स बन्दिन भन्छिन्।
म त घर नजिकै घर भएको कारणले गर्दा राती भए पनि घरमा पुग्छु। टीका लगाउने मौका मिल्छ। घर टाढा भएका नर्सहरुले दसैंमा टीका नलगाएको कयौँ वर्ष भएको होला। नर्स भएपछि सबैभन्दा ठुलो समस्या यहि नै हो।