एसएलसी उर्तीण गरी काठमाडौँ पढ्न आएदेखि एकै ठाउँमा सबै बसेर दसैंमा मनाउन पाइएको छैन। बुवाआमा, श्रीमती, भाईहरु, बच्चाहरु सबै सँगै मनाउन कहिल्यै मौका मिलेको छैन।
म एसएलसी सकेर चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा एचए पढ्न आएको थिएँ। त्यसपछि एमबिबिएस गरेको हुँ। चिकित्सा सेवामा प्रवेश गरेको ३६ वर्ष भयो।
यो समयमा घरमा पहिलेजस्तो सबै परिवारका सदस्यसँगै जम्मा भएर टीका थाप्ने क्रम पनि छुट्दै गयो।
अहिलेपनि घरमा कोही न कोही छुटिरहन्छन्। यसपाली लमजुङस्थित घरमा जाने योजना बनाइरहेका छौँ। ८८ वर्षिय बुवा हुनुहुन्छ। उहाँको हातको टीका लगाउन घर जादैँ छौँ। यसपालि पनि सबै सँगै हुदैनौँ। बुहारी पनि देशबाहिर छिन्।
चिकित्सा पेशामा बिदा भनेर ढुक्क भएर बस्न पाइदैँन। बिदामा घर बसेपनि अस्पतालबाट आकस्मिक फोन आयो भने दौडिहाल्नुपर्छ।
अर्थोपेडिक सर्जन भएकाले चाडपर्वको समयमा दुर्घटनाका केस धेरै आउने भएकाले ढुक्क भएर बिदा मनाएर बस्न गाह्रो छ।
अझ सरकारीको जागिर खाने चिकित्सक भएपछि समय मिलाउन घरपरिवार सबै सँगै हुने भन्ने मौका धेरै चिकित्सकलाई समस्या नै पर्छ।
निजी अस्पतालमा प्रायः चिकित्सक बिदामा हुने हुँदा सरकारी अस्पतालमा बिरामीको चप बढी हुन्। कहिलेकाहिँ ठूलो दुर्घटना, भिआइपी दुर्घटना वा बिरामी, विपद् परेको समयमा जुनसुकै चाडवाड आएपनि डियुटीमा आउनुपर्छ।
जिल्लामा बस्दा निधार खाली राख्न हुदैँन भनेर सिडियोको हातबाट टीका लगाउथ्यौँ। त्यो समयमा घरमा आएर टीका लगाउने मौका त निकै कम पाएको थिएँ।
म पहिले जिल्लामा बस्दा पनि दसैंको समयमा अस्पतालमा अप्रेशन गरेरै समय बित्थ्यो।
सर्जन हुनुपूर्व, जिल्लामा हुदाँ सबै सेवा एकै व्यक्तिले दिनुपथ्र्यो। पब्लिक हेल्थ, चिकित्सक, डिएचओ सबै आफै २४सैँ घण्टा डियुटी गर्नुपथ्र्यो।
एउटा घटना मलाइ अहिले पनि याद छ। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत हुँदा टीकाकै दिन दुई मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा चारै जना हातखुट्टा भाँचेर आएपछि दिनभरी, रातभरी शल्यक्रिया गर्नुपरेको थियो।
काठमाडाँैमा दसैँको दिनमा चङ्ग उडाउँदा छतबाट खसेर हात भाँचिने बच्चाहरुको संख्या धेरै हुन्छ। त्यसकारण बेलैमा सचेत हुन जरुरी छ।
केही वर्ष अघि दसैंमा चङ्गा उडाउँदा हात भाँचिएका २५ जनाको लाइन लगाएर भाँचिएको हात प्लाष्टर गरेको थिएँ। दसैंको समयमा यसरी एकै दिन २५ जना घाइतेको उपचार गर्नु परेको त्यो दिन अझैँ पनि भुल्न सक्दिन। अहिले पनि कतै चङ्गा देखेँ भने त्यही घटना सम्झना आउँछ। त्यतीबेला चङ्गा उडाउने क्रममा छतबाट लडेर घाइते हुनेको संख्या निकै कम थियो। अहिले त्यो संख्या केही संख्या कम भएको छ। हुदैँ नभएको भन्ने होइन।
बिरामीको उपचारका लागि भनेर सेवामा खटिएपछि ‘उपचार गर्दिन’, ‘चाडपर्व मनाउछु’ भन्ने पनि सोच्नु भएन। सेवा गर्नु नै धर्म हो हाम्रो लागि।
यो समयमा झन् सबैभन्दा बढी फोन कल आएरै हैरान हुन्छ। मानिसहरु समयको ख्यालै नगरी आधारातमा पनि कल गर्छन्। अप्ठेरो समयमा फोन गर्नु ती ठिकै हो। तर नम्बर छ भन्दैमा समयको ख्याल नगरि जतिबेला मन लाग्यो कल गर्नु हुन्न।
सधै एकै अवस्था भइदैँन। कहिले शल्यक्रिया गर्दै गरेको, कहिले मिटिङ, कहिले बिरामीको उपचारमा भइन्छ। अप्रेशन थियटरमा कल उठाउन मिल्दैन। एक पटक नउठाएपछि बारम्बार गरिरहने बानीले दिक्क लगाउँछ।
बरु मेसेज गरेर केकामका फोन गरेको हो भन्न सकिन्छ। फ्रि भएपछि त महत्वपूर्ण भए हामी आफै गर्छौँ।
दसैं पुरै बिदा भन्ने हुन्न। तैपनि यो समयमा इष्टमित्र भेटघाट सकेसम्म धेरै गर्छु। आफ्न्तको सधैं गुनासो हुन्छ डाक्टर भएपछि वास्ता गर्दैन भनेर। ठूलो भयो भन्नुहुन्छ। भेट्न चाहना हुदाँहुदैँ पनि अस्पताल, बिरामीभन्दा अन्यत्र समय मिलाउनै समस्या हुन्छ। त्यसैले सकेसम्म दसैंको मौकामा धेरै इष्टमित्र, साथीभाई भेट्छु। परिवारका लागि यही समयमा सँगै किनमेलमा जान्छु। घरमा एक वर्षसम्म सुन्न नपाएको कुरा सुन्ने यही बेला हो। सबैको गुनासा सुन्ने समय यही हो।
मानिसहरु डाक्टरलाई सबै थाहा हुन्छ ठान्छन्। तर यस्तो हुन्न। हामीलाई कति समासामयिक कुरा अपडेट नै हुदैँन। बिरामी र अस्पतालकै पेरिफेरिमा समय बित्छ।
म, छोरा, बुहारी डाक्टर, श्रीमती नर्स हुन्। श्रीमति अवकाश जीवन बिताइरहेकी छिन्। सबै व्यस्त। घरमा पनि सबैको एकपटक भेट हुन मुश्किल पर्छ।
आफ्न्त भेट हुने, सँगै खानपान गर्ने अरु समय नहुदाँ कहिलेकाहिँ अनसोसियल जस्तो भइदोँरहेछ।
आमा हुदाँ छुट्टी नमिलेर घर जान नपाउदाँ दुख मान्नुहुन्थ्यो। आइनस् बाबु मिलाएर आइज भन्नुहुन्थ्यो। सम्झाउन अलि गाह्रो हुन्थ्यो। उहाँ स्वर्गीय हुनुभयो। बुबाले आमाले जस्तो कर गर्नुहुन्न। उहाँले बुझ्नुहुन्छ। उति गुनासो गर्नुहुन्न।
अहिले अरु सर्जन र जुनियर चिकित्सकहरु पनि हुनुहुन्छ। पहिलेभन्दा अलि सजिलो छ। अस्पतालमा आएको केस जटिल वा केही अप्ठेरो भएमा कल गर्नुहुन्छ। अलि सुविधा छ अहिले।
दसैं समयमा ट्राफिक कल्ट्रोल कम हुने भएकाले होला जथाभावी तिव्र गतिमा मदिरा सेवन गरी बाइक चलाउदाँ पनि धेरै दुर्घटना हुन्छ। ओभरलोड यात्रु राखेर सवारी दुर्घटनामा यो समयमा धेरै हुन्छन्।
त्यसैले ट्राफिक नियम जुनसुकै समयमा पनि उत्तिकै अनुशासित भइ पालना गर्नुपर्छ। किनकि सुरक्षा आफ्नै लागि हो। ट्राफिक नियममा रही गाडि चलाउदाँ आफ्नो र अरुको समेत ज्यानको सुरक्षा हुन्छ भन्ने बुझ्नुपर्छ।
-(कल्पना पौडेलसँगको कुराकानीमा अाधारित)