कठमाडौं– डा पुनम क्षेत्रपाल सिंह निरबिरोधमा रुपमा दोस्रो कार्याकालका लागि डब्लुएचओ साउथ इस्ट एशियाकी निर्देशक चुनिएकी छिन् । बुधबार उनलाई आगामी ५ वर्षका लागि निर्देशकका रुपमा दोस्रो कार्यकाल दिइएको हो।
दक्षिण पूर्वी एशियाका ११ सदस्य देशको चालु क्षेत्रीय समितिको बैठकले उनलाई निर्वाचित गरेको हो । डा सिंहलाई बधाई दिँदै भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नाड्डाले भने, ‘उनको योगदान क्षेत्रीय मात्रै नभइ विश्वव्यापी छ । उनको नेतृत्वमा स्वास्थ्य केन्द्रीत एजेन्डा र दीगो विकासमा अझै यो क्षेत्रले उचाइ लिनेछ।’
डब्लुएचओको महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेएससले भने, ‘दक्षिण पूर्वी एशियाको क्षेत्रीय निर्देशकका रुपमा पहिलो महिला हुनुहुन्छ । तपाईंको बहुआयामिक नेतृत्वले एक चौथाइ जनसँख्या भएको यो क्षेत्रको स्वास्थ्यका लागि राम्रो भूमिका निर्वाह गरेको छ।’
आफूलाई दोस्रो कार्यकाल नेतृत्व सुम्पिएकोमा धन्यवाद दिँद दक्षिण पूर्वी एशियाको स्वास्थ्यमा प्रगतिका लागि आफूले भूमिका निर्वाह गर्ने बताइन् । चार दशकदेखि जन स्वास्थ्य क्षेत्रमा सक्रिय क्षेत्रपालले भारतीय प्रशासनिक सेवा, विश्व बैंक, डब्लुएचओ डाइरेक्टर जनरल क्याबिनेट, जेनेभालगायत काम गरेकी छिन्।