बिबिसी– स्कटल्यान्डस्थित एडिन्बरा विश्वविद्यालयका वैज्ञानिक भन्छन्, ‘कसैको कलेजो अचानक बिग्रिए उसले अब कलेजो प्रत्यारोपण गराउन जरुरी छैन।’
कलेजोमा प्राकृतिक रुपमा नै बिग्रिएको कलेजो ठिक हुने क्षमता हुन्छ। तर, केही गम्भीर अवस्थामा भने कलेजोको उक्त क्षमताले काम नगर्न सक्छ। जस्तोकी कुनै गम्भिर चोट जसमा औषधिको ओभरडोज पनि पर्न सक्छ।
वैज्ञानिकले अहिले भनेको उपचार विधि एक किसिमको क्यान्सरको औषधि हो। यो औषधिले बिग्रिएको कलेजोको क्षमतालाई पुन पहिलाको जस्तै बनाउन सक्छ।
अहिले यो उपचार पद्धती सुरुवाती चरणमा नै रहेको वैज्ञानिकहरुले बताएका छन्। तर, कलेजो प्रत्यारोपणको विकल्पका रुपमा यो उपचार पद्धतिले बिरामीहरुलाई ठूलै राहत दिने छ। वेलायतमा हरेक वर्ष २ सय मानिसहरुको आकस्मिक कलेजो फेल हुने गरेको छ।
२ वर्षअघि २१ वर्षिया कारा वाटलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने भयो। उनी नर्स हुन्। तर, काममा रहेको समयमा उनी एक्कासी बिरामी परिन र अनुहार पनि पहेँलो हुँदै गयो। तत्कालै उनलाई आइसियुमा लगियो। परीक्षणपछि थाहा भयो उनको कलेजो फेल भएको रहेछ। उनलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने बताइयो।
वैज्ञानिकहरुका अनुसार काराजस्तै एक्कासी कलेजो फेल भएकाहरुमा अहिले पत्ता लगाएको नयाँ उपचार पद्धति वरदान सावित हुनसक्छ।
वैज्ञानिकहरुले अहिले यो विषयमा थप गहन अध्ययन सुरु गरिरहेका छन्। उनीहरुले मानिसहरुको कलेजोमा रहेको प्राकृतिक क्षमता (कलेजो बिग्रिए पनि पुनः पहिलाको जस्तै बन्न सक्ने क्षमता)मा किन असर गर्छ भन्ने कुरामा थप अनुसन्धान गरिरहेका छन्।
अनुसन्धानका क्रममा आकस्मिक रुपमा कलेजोमा असर गर्दा कलेजोका कोशहरुले राम्रारी काम नगर्ने र मर्दै जाने क्रम बढ्ने देखिएको छ। जसका कारण कलेजोले पुनः पुरानै अवस्थामा आफैँ फर्कन नसक्ने हुन्छ। यस्तो अवस्थामा अहिले उक्त नयाँ उपचार पद्धतीले राम्रो नतिजा देखाउने अनुसन्धानका क्रममा देखिएको छ।
साइन्स ट्रान्सलेसन मेडिसिनमा प्रकाशित अनुसन्धान रिपोर्टअनुसार आकस्मिक रुपमा कलेजमा असर हुँदा हुने रसायकि संकेत समेत फेला परेको छ। यसले उपचार प्रक्रियमा थप सहजता थप्ने बताइएको छ।
अनुसन्धानकर्ताले अध्ययनबाट क्यान्सरको उपचारमा प्रयोग हुने उक्त औषधिले कलेजो बिगार्ने घातक रसायनलाई समेत रोक्न सकिने तथ्य पत्ता लगाएको बताएका छन्। यो तथ्यमा आधारित रहेर अनुसन्धानकर्ताले मुसामा अध्ययन गरेका थिए। यसपछि अन्य जनावरमा पनि अनुसन्धान गरिएको छ। अनुसन्धानका क्रममा जनावरहरुको कलेजोमा आकस्मिक असर गरोस भनेर ओभरडोज औषधि दिइएको थियो। त्यसपछि बिग्रिएको कलेजो निको पार्ने क्यान्सर औषधि दिइएको थियो। अनुसन्धानमा आश्चार्यजनक नतिजा आएको थियो। बिग्रिएको कलेजोलाई उक्त औषधिले सुधार गर्न राम्रो नतिजा दिएको थियो।
अनुसन्धानकर्ताले छिट्टै यो औषधिलाई मानिसमा प्रयोग गर्ने तयारी गरेका छन्।
उक्त अनुसन्धानकर्तामध्येका एक डा थोमस बर्डले भने, ‘यो उपचार पद्धतिमा निकै राम्रो नतिजा देखियो। कलेजोमा गम्भिर चोट भएकाहरु यो उपचारपछि सामान्य जीवन बाँच्न सक्नेछन्।’ उनले यो पद्धति गम्भिर रुपमा खराब भइसकेको कलेजोको हकमा प्रत्यारोपण रोक्न सकिने नसकिने भन्ने विषय हेर्न बाँकी रहेको जानकारी दिए।
यो उपचार सफल भएमा यसले कलेजो प्रत्यारोपणको लाइनलाई एकै पटक कम गर्ने छ र बिरामीलाई ठूलो राहत मिल्ने छ।