कङ्गो- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप १० जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ।
दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्य स्थानमा शंकास्पद बिरामी भेटिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दसौं लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद बिरामी भेटिएको अधिकारीहरूले जनाएका छन्।
सन् १९७६ देखि कङ्गोमा इबोलाको प्रकोप अहिले दसौं पटक देखिएको हो। पहिलो पटक कङ्गो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टि भएको थियो।
अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ। जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सीमा क्षेत्रमा पर्दछ।
कङ्गोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको समाचारमा जनाइएको छ।रासस/एएफपी