बिबिसी- फुटबल खेलाडीहरूमा मुटुको चाल बन्द भएर मृत्यु हुने जोखिम पहिले सोचिएको भन्दा धेरै पाइएको ब्रिटेनका वैज्ञानिकहरूले बताएका छन्।
मुटुको मांसपेशीलाई असर गर्ने कार्डियोमायोप्याथिज भनिने केही रोगको कुनै लक्षण नै हुँदैन। तिनमा एक्कासि हृदयाघात हुन्छ।
अधिक शारीरिक अभ्यास, उच्च एड्रिनलिन तथा डिहाइड्रेशन अर्थात् शरीरबाट पानी कम हुनु सबै सम्भावित जोखिमका कारक हुन्।
यस्तो जोखिम कम उमेरका खेलाडी तथा पहिलेदेखि नै कुनै मुटु रोग भइसकेकाहरूलाई अझ धेरै हुने बताइन्छ।
बीस वर्षसम्म लगाएर ब्रिटेनका ११ हजार फुटबल खेलाडीहरूमा गरिएको उक्त अध्ययनले एक लाख खेलाडीमध्ये सात जनाको निधन मुटुको चाल बन्द भएर हुने गरेको देखाएको छ।
यसअघि प्रति एक लाख खेलाडी दुई जनाको त्यसरी ज्यान जान्छ भन्ने आकलन गरिएको थियो।
केही चर्चित खेलाडीको मृत्यु भएका उदाहरण छन्।
क्यामेरुनका लागि खेल्दै गर्दा २८ वर्षीय मार्क भिभियाँ फोए को ज्यान सन् २००३ मा गएको थियो भने स्पर्सका प्रशिक्षक रहेका ४४ वर्षीय इङ्ग्ल्यान्डका पूर्वरक्षक उगो एहिओगको निधन गत वर्ष भएको थियो।
चिकित्सकहरूका अनुसार खेलाडीहरूको जीवन रक्षा गर्नु सबैको कर्तव्य हो।
लन्डन विश्वविद्यालयमा गरिएको सो अध्ययनको नेतृत्व गरेका मुटुरोग विशेषज्ञ प्राध्यापक सञ्जय शर्मा भन्छन्, "हामीले सोचेको भन्दा धेरै मृत्युदर रहेको तथ्यप्रति हामीले आँखा खोल्नुपर्छ। हुन त अझै पनि सङ्ख्यात्मक रूपमा यी दुर्लभै हुन्।"
बीस वर्षको परीक्षणका क्रममा फुटबल एकेडेमीमा खेल्न आएकामध्ये ४२ जना जोखिममा रहेको पत्ता लागेको थियो।
ती जोखिमको उपचार भनेको शल्यक्रिया वा औषधिसेवन हो। त्यसो गरेपछि ३० जनाले आफ्नो खेल जारी राखे भने बाँकीलाई प्रतिस्पर्धात्मक खेल नखेल्न भनियो।
तर त्यो परीक्षणले सबै जोखिममा परेकाहरू पत्ता लागिहाल्छ भन्ने होइन।
उदाहरणका लागि बोल्टन क्लबका खेलाडी फ्याब्रिस मुआम्बालाई परीक्षण गर्दा केही समस्या नदेखिए पनि एक एफए खेलका बेला उनको मुटु बन्द भयो र उनी ढले। तर उनलाई पछि उपचार गर्न सकियो।
फुटबल सङ्घ एफएका अनुसार उससँग मुटुको रोग पत्ता लगाउने विस्तृत कार्यक्रम रहेको छ।
क्लबहरूका चिकित्सकीय टोलीलाई आपत्कालीन प्रशिक्षण पनि दिन सकिने उसले जनाएको छ।
एफएका एक प्रवक्ताले भने, "फुटबल खेल्नुको धेरै फाइदा हुन्छ। तर हामीलाई थाहा छ थोरै सङ्ख्याका केही मानिसहरूलाई भने कडा अभ्यासले हुने मुटुसम्बन्धी जोखिम अलि बढी हुनसक्छ। त्यसैले हामीले यो कार्यक्रम ल्याएका हौँ।"
-(जेम्स ग्यालहर बीबीसी न्यूजका स्वास्थ्य तथा विज्ञान सम्वाददाता हुन्।)