काठमाडौं– ह्याम्स हस्पिटलले खेलाडीहरुलाई सम्मान गरेको छ । नेपाली खेलकुदमा विषेश प्रदर्शन गर्ने सात जना खेलाडीलाई हस्पिटलले उपहार सहित सम्मान गरेको हो।
मण्डिखाटारस्थित हस्पिटलको नवनिर्मित भवनमा एक कार्यक्रमको आयोजना गर्दै हस्पिटलका अध्यक्ष रामशरण भण्डारी, वरिष्ट मुटुरोग विषेशज्ञ डा. भगवान कोइराला, डा. भाष्कर राज पन्त लगायतले सम्मान गरेका थिए।
सम्मानित हुने खेलाडिमा एसियाली शारीरिक सुगठनका स्वर्ण विजेता महेश्वर महर्जन, दक्षिण एसियाली उसुका स्वर्ण विजेता राजकुमार रसाइली, भलिबल खेलाडी कमला पुन, साम्बो खेलाडी कृष्णलाल तामाङ लगायतलाई सम्मान गरेको हो । यस्तै मिक्स मार्सल आर्टसका सन्तोष साउद, बक्सिङका म्याक्स बस्नेत र स्क्वासकी भावना सुनुवार पनि सम्मानित भए।
अत्याधुनिक चिकित्सा प्रविधिका साथ स्थापना भएको ह्याम्स हस्पिटलले खेलकुद चिकित्सा र खेलका क्रममा खेलाडिले ब्यहोर्न सक्ने सम्भावित इन्ज्युरीमा विषेश ध्यान दिने उद्देश्य लिएको जनाएको छ।
कार्यक्रममा हस्पिटलका चिकित्सकहरुले खेलाडिले ब्यहोर्न सक्ने सम्भावित इन्ज्युरी कसरी रोकथाम गर्ने, इन्ज्युरी भएको अवस्थामा पनि त्यसको उपचार पद्धती र प्राथमिक उपचारको विषयमा धारणा राखेका थिए।
खेलकुद स्वास्थका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा वरिष्ठ चिकित्सक प्रोफेसर डा कोइरालाले आफू पनि खेलाडि भएकाले खेलकुदमा विषेश रुची रहेको प्रतिक्रिया दिए । हस्पिटलले खेलकुद स्वास्थमा खेलाडिलाई विषेश प्राथमिकता दिने समेत उनले बताए।