काठमाडाैं– क्यान्सरको उपचार गराइरहेका भारतीय अभिनेता इरफान खान सामाजिक सञ्जाल ट्विटरमा २ महिनाको अन्तरालमा पुनः जोडिएका छन्। बुधबार खानले आफैले अभिनय गरेको नयाँ फिल्म ‘कारवाँ’लाई लिएर एक ट्विट गरेका हुन्।
ट्विटमा उनले लेखेका छन्,‘सुरुवातमा रहने निर्दोषपनको अनुभव कहिल्यै किन्न सकिदैन। ‘कारवाँ’ अर्थात ‘यात्री’, एक फिल्म र अर्को म हुँ।’ खानले सो फिल्ममा आफुसँगै स्क्रिन सेयर गरेका दुलकर सलमान र मिथिला पाल्करलाई शुभकामनासमेत दिएका छन्। फिल्म ‘कारवाँ’ आगामि अगस्ट १० मा रिलिज हुँदैछ।
५१ वर्षीय अभिनेता खान २ महिनाअघि ‘न्युरोनडोक्रिन ट्युमर’ भएको निदान भएपछि सामाजिक सञ्जालबाट टाढा रहेका थिए। हाल उनी बेलायतमा उपचार गराइरहेका छन्।
हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनले लाइफ अफ पाई, जुरासिक वल्र्ड, स्लमडग मिलिनियरजस्ता चर्चित फिल्महरुमा प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन्।
अभिनेता खान सामाजिक सञ्जालमा फर्किएकोमा कलाकार तथा उनका प्रशंषकहरुले स्वागत तथा खुसी व्यक्त गरेका छन्। धेरै हिट बलिउड फिल्ममा आफ्नो अभिनय कला देखाइसकेका खानको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा स्टाटसहरु पोष्ट गरिएका छन्।
इन्डोक्राइन ट्युमर एक दुर्लभ किसिमको रोग हो, जसले रक्तकोसिकाका लागि हर्मोन उत्पादन गर्ने कोषहरुमा प्रभाव पार्ने गर्दछ। उनले आफु एक दुर्लभ रोगबाट ग्रसित भएको भन्दै पहिलोपटक मार्च ५ मा ट्विट गरेका थिए। पछि मात्रै उनलाई क्यान्सर लागेको पुष्टि भएको थियो।
बलिउडका समानन्तर तथा कलामा आधारित स्वतन्त्र फिल्महरुमा फरक खालका भूमिकामार्फत चर्चित अभिनेता खानलाई अन्तर्राष्ट्रिय सिनेमाका क्षेत्रमा भारतका तर्फबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट कलाकारको रुपमा लिने गरिन्छ।
उनले फिल्म ‘पान सिंह तोमर’का लागि सन् २०१३ मा भारतको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेका छन्। जीवनीमा आधारित सो फिल्ममा भारतका एक माथिल्लो स्तरका एथलेट कसरी डाँकु बन्छन् भन्ने देखाइएको छ।
सन् २०१३ मै फिल्म ‘लन्च बक्स’का लागि क्यानिज फिल्म फेस्टिबलमा उनले ‘भ्युअर चोइस अवार्ड’ प्राप्त गरेका थिए। सोहि वर्ष लन्डन फिल्म फेस्टिबलका लागि छानिने यो नै एक मात्र हिन्दी फिल्म थियो।