ब्रिटेनका अनुसन्धानकर्ताहरुले निरन्तर हेडिंग गर्नाले व्यावसायिक फुटबल खेलाडीहरुमा दिर्घकालमा मस्तिष्कमा क्षति पुग्नसक्ने प्रारम्भिक प्रमाण फेला पारेको बताएका छन्।
पहिलो पटक गरिएको उक्त अनुसन्धानले फुटबललाई निरन्तर टाउकोले हान्ने खेलाडीहरुमा उमेर ढल्कँदै गएपछि डिमेन्सिया भनिने स्मरणशक्ति गुम्ने रोग लाग्नसक्ने भन्ने विवरणलाई केलाएको थियो।
फुटबलका निकायहरुले उक्त विषयलाई थप नजिकबाट ध्यान दिने बताएका छन्।
तर विज्ञहरुले मनोरञ्जनका लागि फुटबल खेल्ने खेलाडीमा यस्तो समस्या देखिने सम्भावना नरहेको उल्लेख गरेका छन्।
एउटा जर्नलमा प्रकाशित उक्त अध्ययनमा लन्डनको युनिभर्सिटी कलेज र कार्डिफ विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पाँच जना व्यावसायिक खेलाडी र एक जना गैर व्यावसायिक फुटबल खेलाडीको मस्तिष्कको अध्ययन गरेका थिए।
उनीहरु सबैले औसतमा २६ वर्ष फुटबल खेलेका थिए र सबै ६ जनालाई उनीहरुको उमेर ६० को दशकमा पुग्दा डिमेन्सिया देखिएको थियो।
शव परिक्षण गर्दा चार जना खेलाडीको मस्तिष्कमा 'क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोप्याथी' अर्थात सिटिइ भनिने एक प्रकारको चोटको संकेतहरु पाइएका थिए।
सिटिइका कारण स्मरण क्षमता कमजोर हुने, निराशा र डिमेन्सिया जस्ता मानसिक समस्या देखिन्छन्, जुन एकआपसमा सम्पर्कमा आएर खेलिने खेलका अन्य खेलाडीहरुमा पनि देखा पर्ने गर्दछ।
युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक हु मोरिसले बीबीसीलाई भने, "शवको परिक्षण गर्दा हामीले पूर्व बक्सिङ खेलाडीमा देखिने जस्तो परिवर्तन ती फुटबल खेलाडीहरुमा पनि पायौँ। ती परिवर्तनहरु सिटिइ भनिने मस्तिष्कमा लाग्ने चोटहरुसँग सम्बन्धित छन्।"
उनका अनुसार ती फुटबल खेलाडीहरुको मस्तिष्कमा चोट देखिएको र सम्भवत: त्यसकै कारण उनीहरुलाई डिमेन्सिया भनिने मस्तिष्क सम्बन्धी रोग लागेको हुनसक्ने प्रमाण पहिलो पटक फेला परेको छ।
उक्त अनुसन्धानका लेखकहरुले आफूहरुले बालबालिकाले फुटबल खेल्दा गर्ने हेडिंगको विश्लेषण नगरेको प्रष्ट पारेका छन्।
सन् २००२ मा दिवंगत भएका ब्रिटेनका पूर्व फुटबल खेलाडी जेफ एसलको बारेमा गरिएको अनुसन्धानले गह्रुङ्गो छालाको बलमा निरन्तर टाउकोले प्रहार गर्दा उनको मस्तिष्कमा चोट पुगेको पाइएको थियो।
त्यसयता उनको परिवारले थप अनुसन्धानका लागि जोड दिइरहेको छ।
उनकी श्रीमती लोरेइन भन्छिन्, "हामीले १५ वर्षदेखि त्यसका लागि माग गरिरहेका छौँ, खेलकै कारण उनको ज्यान गएको अनुसन्धानले देखाएको छ।"
लोरेइनले फुटबल एशोशियनले त्यसबारे कुनै ठोस प्रतिक्रिया नदिएकोमा आलोचना गरिन्।
जसरी चुरोट खानेहरुलाई संभावित क्षतिका बारेमा जानकारी हुन्छ त्यसरी नै फुटबलको जोखिम बारे पनि स्वीकार गरिनुपर्ने उनको धारणा छ।
अनुसन्धानकर्ताहरुले विभिन्न कारक तत्वहरुको मिश्रणले गर्दा ती खेलाडीहरुलाई डिमेन्सिया भएको आकंलन गरेका छन्।
तर उनीहरुले फुटबल र डिमेन्सिया एक अर्कामा सम्बन्धित भएको भन्ने ठोस प्रमाण आफ्नो अध्ययनले दिन नसकेको भन्दै विस्तृत अध्ययन मार्फत फुटबल खेलाडीको मस्तिष्कको अवस्थाबारे अध्ययन हुनुपर्नेमा जोड दिएका छन्।
विगतमा निरन्तरको मुक्काका कारण बक्सिङ खेलाडी र अमेरिकी फुटबल खेलाडीहरुमा दिर्घकालीन रुपमा मस्तिष्कमा क्षति पुग्न सक्ने कयौँ घटनाहरु प्रकाशमा आएका थिए।
तर अहिलेसम्म 'सिटिइ' को समस्या ब्रिटेनमा थौरै फुटबल खेलाडीहरुमा मात्रै देखिएको छ र यसको प्रभाव कुन तहसम्म छ भन्ने स्पष्ट भइसकेको छैन।
ब्रिटेनको फुटबल एशोसिएशनले उक्त अध्ययनको स्वागत गर्दै पूर्व फुटबल खेलाडीहरु स्मरणशक्ति घट्दै जाने रोगबाट आम रुपमा पीडित रहेको या नरहेकोबारे केन्द्रीत भएर थप अनुसन्धान गरिनुपर्नेमा जोड दिएको छ।