संक्रमित मुसाको पिसाबको सम्पर्कबाट सर्ने ‘हन्टाभाइरस’ बाट अमेरिकाको न्यू मेक्सिकोमा एक २७ वर्षीया महिलाको मृत्यु भएको छ। किलि लेन नामकी ती महिलाको न्यू मेक्सिको हस्पिटलमा मृत्यु भएको थियो। उनलाई मुटु र फोक्सोको सन्चालनमा सघाउ पुर्याउने मेशिनमा राखिएको थियो।
बिरामीलाई सुरुमा गत जनवरीमा रुघाको लक्षण देखिएको थियो। पेटमा अत्यन्त दुखेपछि र रिंगटा लागेपछि उनलाई अस्पताल लगिएको थियो। थुप्रै परीक्षणपछि उनलाई गत फेब्रुरीमा हन्टाभाइरस लागेको पहिचान भएको थियो।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार हन्टाभाइरस संक्रमणले पार्ने ‘हन्टभाइरस पल्मोनरी सिन्ड्रोम (एचपिएस)’ बारे सन् १९९५ मा मात्र जानकारी सार्वजनिक भएको थियो । २०१७ को जनवरीसम्म यो रोगका ७ सय २८ केस भेटिएका छन्। तीमध्ये ३६ प्रतिशतको मृत्यु भएको तथ्यांक छ। एचपिएसबाट ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला प्रभावित भएका छन्। सिडीसीका अनुसार हन्टाभाइरस सबैभन्दा बढी मिसिसीपी नदीभन्दा पश्चिमका राज्यमा देखिएको छ।
हन्टाभाइरसको संक्रमण भएपछि यसले शरीरका अंगहरुमा क्षति पु¥याउँछ। किलेको हकमा उनको फोक्सोमा असर पु¥याएको थियो। यो संक्रमण कुनै पनि जाति समुदायका मानिसलाई हुन सक्छ। अमेरिकामा यो संक्रमणबाट ७८ प्रतिशत गोरा समुदाय, १८ प्रतिशत अमेरिकन इण्डियन, अफ्रिकी अमेरिकन १ प्रतिशत र एशियन १ प्रतिशत प्रभावित छन्।
हन्टभाइरस अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, इक्वेडर, पाराग्वे, पनामा, उरुग्वे तथा भेनेजुयलामा पनि देखिएको छ। मुुसाको पिसाबबाट मानिसमा सर्ने भएपनि मानिसबाट मानिसमा सर्ने सम्भावना भने कम रहेको बताइएको छ।