प्योङयाङ– उत्तर कोरियाका प्रमुख नेता किम जोङ उनले आइतबार राती भएको बस दुर्घटनामा मृत्यु भएका परिवारप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उत्तर ह्वाङघाई प्रान्तमा एक टुरिष्ट बस पुलबाट नदीमा खस्दा ३२ चिनियाँ पर्यटक तथा ४ उत्तर कोरियाली नागरिकको मृत्यु भएको थियो।
मिडियामाथि कडा नियन्त्रण रहेको उत्तर कोरियामा सरकारको विपक्षमा बिरलै समाचारहरु सुन्न पाइन्छ। साथमा कुनै पनि घटनालाई लिएर नेता किम जोङ उन आफैले कुनै पनि प्रतिक्रिया दिनुलाई पनि सामान्य रुपमा लिइँदैन।
चीन उत्तर कोरियाको प्रमुख राजनैतिक प्रतिद्वन्द्वी तथा सबैभन्दा ठूलो व्यापारिक साझेदार राष्ट्र हो।
‘अकल्पननीय बस दुर्घटनाको खबरले मर्माहत छु। आफ्ना आफन्त गुमाएका परिवारहरुको पिडा सम्झिदा म विक्षिप्त भएको छु।’, उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किमको भनाइलाई उदृत गर्दै लेखेको छ।
नेता उनले अस्पतालमा गएर घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा समेत बुझेका छन्। सो क्रममा उनले चिकित्सकहरुसँग घाइतेहरुको उपचार प्रक्रियाको बारेमा छलफल गरेका थिए।
उनले प्योङयाङस्थित चिनियाँ दुताबासमा पुगी राजदुत लि जिनजुनसँग समेत भेट गरेका छन्। चिनियाँ राजदुतसँगको भेटमा उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलीसमेत प्रकट गरेका थिए।
चिनियाँ नागरिकले आफुप्रति हेर्दै आएको खराब नजरलाई सुधार्न किमले घाइते चिनियाँ नागरीकलाई भेट गरेको टिप्पणी भएको छ।
प्योङयाङ भ्रमणमा जाने पर्यटकहरुमा ८० प्रतिशतभन्दा बढी चिनियाँ नागरिक हुने गरेका छन्। जसलाई प्योङयाङको प्रमुख आर्थिक स्रोतको रुपमा लिइन्छ। उत्तर कोरियामा खाद्यान्न, तेल लगायत अत्यावश्यकीय सामाग्रीहरु चीनबाट नै निर्यात हुने गर्दछ।
सन् २०११ मा शक्तिमा आएपछि नेता किमले केहि साताअघि मात्रै चिनको भ्रमण गरेका थिए। दक्षिण कोरिया र अमेरिकासँगको वर्ताको वातावरण बनिरहेको अवस्थामा उत्तर कोरियाले केही दिनअघि मात्रै आफ्ना सबै आणविक कार्यक्रम तथा मिसाइल परिक्षण बन्द गर्ने घोषणा गरेको थियो।