कराँची– पाकिस्तानका पूर्व हक्की खेलाडी मनसुर अहमदले मुटु प्रत्यारोपणका लागि भारत सरकारलाई भिसा स्विकृति दिन आग्रह गरेका छन्। ४९ वर्षीय अहमदले युट्युबमा एक भिडियो पोष्ट गर्दै भारत सरकारसँग अपील गरेका हुन्। अहमदको मुटुमा राखिएको पेसमेकरका कारण लगातार स्वास्थ्य अवस्था बिग्रदैं गइरहेको छ।
भिडियोमा उनले भनेका छन्,‘आज मलाई मुटुको आवश्यकता छ र यसमा मलाई भारत सरकारको महत्वपूर्ण साथ चाहिएको छ।’
भारत र पाकिस्तानबीचमा रहेको राजनीतिक द्वन्द्वका कारण भारतले पाकिस्तानीलाई सबै प्रकारका भिसामा स्विकृति दिँदैन। तर उपचारका लागि भन्दै चिकित्सा भिसा भने आवेदन दिन पाउँछन्।
बेलायतबाट सन् १९४७ मा स्वतन्त्र भएपछि टुक्रिएका भारत र पाकिस्तानका बीचमा हालसम्म ३ पटक युद्ध भइसकेको छ भने सिमा क्षेत्र तथा राजनीतिक रुपमा यी दुई देशबीचमा लगातार तनाव उत्पन्न हुने गरकाे छ।
समाचार संस्था स्पोट्र्स टकको युट्युब च्यानलबाट पोष्ट गरेको भिडियोमा उनले आफ्नो पुरानो दिन सम्झिँदै भने, ‘युवावस्थामा जब मैले हकी खेल्थेँ, त्यतिबेला धेरै भारतीयको मुटुमा बसेको थिएँ।’
उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भारतमा उपचारका लागि आउन छिटोभन्दा छिटो आफुँलाई भिसा दिन आग्रह गरेका छन्।
उनले आफु भारत फर्किन चाहेको कुरा बताएका छन्। जहाँ उनले धेरै खेल खेलेका छन् र धेरै खेलहरु जितेका पनि छन्। उनले भारतमा आएर पूर्व भातीय हकी टोलीका कप्तान धनराज पिलेसँग भेट्नेसमेत इच्छा जाहेर गरेका छन्।
अहमदलाई पाकिस्तानमा हकीका महान् खेलाडीका रुपमा लिइन्छ। उनी पाकिस्तानको राष्ट्रिय हकी टोलीका गोलकिपर रुपमा खेल्दथे। उनले ३ सयभन्दा बढी खेलमा पाकिस्तानको प्रतिनिधित्व गरेर खेलिसकेका छन्। सन् १९९४ मा पाकिस्तानले हकीमा स्वर्ण जित्दा उनी राष्ट्रिय टोलीका खेलाडी थिए।