नयाँदिल्ली– ‘गर्भ नौ महिना पूरा हुन १० दिनमात्र बाँकी थियो । बिहानै पेटमा निकै पीडा हुन थाल्यो । लाग्यो, बच्चा झर्दैछ । घरदेखि करिब १० किलोमिटर टाढाको सरकारी अस्पताल जसोतसों पुगें । पुग्नेबित्तिकै डाक्टर्नीले भनी–अझै समय छ, साँझसम्म पर्खनुपर्ला ।’
दुई वर्षअघिको प्रसव पीडा सम्झँदा पुनमलाई अझै पनि रिस उठ्छ । ‘दिनभरि कुरें, साँझ डाक्टर्नी आई र मुख खुलिसकेको छैन, बच्चाको तौल पनि कम छ, नुँह (अर्को सरकारी अस्पताल) जाउ, उतै डेलिभरी गर्नु भनी,’ उनले भनिन् ।
दिल्लीबाट करिब ६० किलोमिटर टाढाको मेवातको सानो गाउँकी पुनम आफ्नो गाउँ प्रमुखसमेत हुन् । अर्को ठाउँ जान हतारमा जीप व्यवस्था गर्नुप¥यो ।
‘रोडको खाल्डोमा जीपको गति धिमा हुन्थ्यो, जब खाडलमा जीप उफ्रन्थ्यो, लाग्थ्यो बच्चा निक्लिनै सक्यो । कष्टले नुँहको सरकारी अस्पताल पुगियो, त्यहाँका डाक्टरले पनि कुर्न भने,’ यति भन्दै गर्दा उनको अनुहारमा त्यस दिनको पीडा र त्यसको असर प्रष्टै देखिइरहेको थियो । दुर्भाग्य । नुँहको अस्पतालले पनि डेलिभरी गराउन अस्वीकार ग¥यो । कारण थियो, ‘त्यहाँ पनि अपरेशनबाट बच्चा जन्माउने सुविधा थिएन ।
महिलासम्म स्वास्थ्य सेवाको पहुँच
नेशनल फेमिली हेल्थ सर्भे २०१७ अनुसार ६६ प्रतिशत भारतीय महिलाको पहुँच नजिकैको सरकारी अस्पतालसम्म छैन । यो नै पुनमजस्ता भारतीय महिलाको पीडा हो ।
यसपछाडिको कारणसमेत रिपोर्टमा उल्लेख गरिएको छ । कतिपय स्थानमा सरकारी अस्पताल यति टाढा छ कि महिलाहरु अस्पताल जानुको साटो घरेलु उपचार लिन नै बढी मन पराउँछन् । यसका अलावा सरकारी अस्पतालमा डाक्टर नै नहुनु, भएपनि महिला डाक्टर नहुनु औषधि अभावजस्ता कारणले महिलाहरु सरकारी अस्पतालको सेवा लिन हिच्किचाउँछन् ।
पुनमको मामिलामा समस्या पैसा र दूरीको थियो । घरनजिकैको सरकारी अस्पताल १० किलोमिटर टाढा थियो । त्यहाँ डाक्टर एकमात्र थिए भने बिरामी धेरै ।
पुनमको डेलिभरीका लागि गुरुग्रामको सरकारी अस्पताल लगियो । धन्न, नुँहको अस्पतालले आफ्नो एम्बुलेन्स सेवा प्रयोग गर्न दियो । नुहँदेखि गुरुग्राम जाने पैसा बच्यो ।
बिहारको दरभंगामा रहने गुडियादेवीको कथा पनि उस्तै छ । गतवर्ष डिसेम्बरको चिसोमा गुडिया माइती गएकी थिइन् । गर्भ नौ महिनामा चलिरहेको थियो । उनका पिताले सरकारी अस्पताल गएर एम्बुलेन्सको नम्बर पहिल्यै लिएका थिए । तर जब सुत्केरी गराउने समय आयो, एम्बुलेन्स नै आएन ।
भारत सरकारको जननी सुरक्षा योजनाअन्तर्गत गर्भवती महिलालाई उपचार निःशुल्क छ । तर गुडियाले अस्पतालमा हरेक कर्मचारीलाई पैसा दिनुप¥यो ।
‘साँझ ७ बज्दै थियो, म अस्पताल पुग्दा सबै सुत्ने तयारी गरिरहेका थिए, डाक्टर्नी त मलाई हेर्नै आइनन्, आमाले उनलाई कयौंचोटी हात समातेर आउन अनुनय गरिन्, धन्य हुन् आशा दिदी जसले मेरो र बच्चाको ज्यान बचाइन्,’ गुडियाले डाक्टरको व्यवहार सम्झदैं भनिन् । त्यसपछि उनले न त्यो अस्पतालमा पाइला टेकेकी छन्, न त छोरालाई उपचार गर्न त्यहाँ लगेकी छन् ।
आजकाल उनी उपचारका लागि ठूला अस्पताल धाउने गरेकी छन् । ठूला अस्पतालको अर्थ निजी अस्पताल हो ।
कहाँ गरिन्छ सबभन्दा बढी खर्च ?
नेशनल हेल्थ सर्भेको तथ्यांकनुसार भारतीय सबैभन्दा बढी खर्च औषधिमै गर्छन् । यसको अर्थ यो हो कि, कुनै रोगको उपचारका लागि टेस्ट र अस्पतालभन्दा पनि औषधि किन्छन् । भारतीयहरु सरकारीभन्दा निजी अस्पतालमै जान मन पराउँछन् । यद्यपि निजी अस्पतालमा उपचार गराउँनु सरकारीको तुलनामा चार गुणा महंगो हुन्छ । 11 संगठनको आँकडाअनुसार एक भारतीयले एक वर्षमा करिब ७५ डलर खर्च गर्छन् । महिनाको हिसाब निकाल्ने हो भने ४ सय रुपियाँ आफ्नो स्वास्थ्यमा खर्च गर्छन् ।