एजेन्सी– केही दिनअघि नेपालगन्जको एक अस्पतालका डाक्टरले लेखेको प्रेस्क्रिप्सन सामाजिक सन्जालमा भाइरल भयो । त्यसको कारण थियो, ‘प्रेस्क्रिप्सनमा लेखिएका अक्षर ।’ ती चिकित्सकका अक्षर निकै अस्पष्ट थिए । यतिसम्मकि सर्वसाधारणले ती अक्षर अंग्रेजीमा लेखिएका हुन् भनेरसमेत थाहा पाउन नसकिने अवस्थामा थिए।
प्रेस्क्रिप्सन स्पष्ट नहुँदा विश्वभर बर्सेनि लाखौं मानिसको मृत्यु हुने गरेको छ । यो संख्या विकासोन्मुख तथा विकसित मुलुकमा करिब उस्तै छ ।
पाकिस्तानको सिन्ध प्रान्तस्थित स्वास्थ्य मन्त्रालयमा केही महिनाअघि एक जर्मन पर्यटक आफ्नो पतिको निधनमा गलत औषधि जिम्मेवार भएको भन्दै उजुरी लिएर पुगिन् । उनको उजुरीका विषयमा प्रान्तीय सरकारले अनुसन्धान गरेपछि थाहा भयो, ‘उनलाई हाइपरटेन्सनविरुद्धको औषधि दिनुपर्नेमा क्यान्सरविरुद्धको औषधि दिइएको रहेछ ।’ प्याकेजिङ एकै भएकाले उनलाई पसलेले गलत औषधि दिएको रहेछ । ती जर्मन नागरिक अंग्रेजी बुझ्दैनथे । पसलेले जे दिएको हो, त्यही खाँदा उनको निधन भयो ।
एक आँकलनअनुसार गलत औषधिका कारण पाकिस्तानभर बर्सेनि ५ लाख मानिसको मृत्यु हुने गरेको छ । त्यसमा योग्य फर्मासिस्ट नहुनु मुख्य कारण मानिएको छ । प्रेस्क्रिप्सनमा लेखिने गलत स्पेलिङ, उस्तै खालका औषधिका कारण पसले झुक्किनुजस्ता समस्याका कारण मानिसको मृत्यु हुने दर बढिरहेको सिन्धका स्वास्थ्य सचिव डा. फाजुल्लाह पेसुहोको भनाई छ ।
गलत औषधिको समस्या दक्षिण एशियाली मुलुक पाकिस्तानमा मात्र होइन, विकसित देशमा पनि छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार हातले लेखिने पे्रस्क्रिप्सनका कारण बेलायतमा बर्सेनि २२ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । यहीकारण गत फेब्रुअरीमा बेलायती स्वास्थ्यमन्त्री जेरेमी हन्टले हातले प्रेस्क्रिप्सन लेख्ने प्रणाली नै अन्त्य गर्नुपर्ने बताएका थिए।
अर्को तथ्यांकअनुसार एनएचएस कर्मचारीबाट हुने गरेको औषधिजन्य गल्ती हरेक वर्ष २३ करोड ७० लाख वटा हुने गरेका छन्, जुन १ अर्ब ६० करोड पाउन्ड बराबरको हुन्छ । सरकारले गठन गरेको आयोगका अनुसार तीमध्ये एक तिहाई औषधिले बिरामीलाई कुनै असर नगरेको पाइएको छ । गलत औषधिका बारेमा भएको यो पहिलो अनुसन्धान थियो । गलत औषधि, उच्च तथा कम डोज तथा खतरनाक रियाक्सन गर्ने औषधिका कारण बिरामीको मृत्यु हुने गरेको जनाइएको छ।