एजेन्सी– अस्वाभाविक क्यान्सरसंग सम्बन्धित धेरै घटना स्तन प्रत्यारोपणसंग सम्बन्धित रहेको अनुसन्धानले देखाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन –एफडीए) ले जनाएअनुसार स्तन प्रत्यारोपणसंग सम्बन्धित क्यान्सरका घटना ३ सय ५९ रहेकामा यसवर्ष यो संख्या बढेर ४ सय १४ पुगेको छ । यद्यपि मृत्युका घटना गत वर्ष ९ रहेकोमा यसवर्ष पनि उत्ति नै छ।
एफडीएले यो तथ्यांक अमेरिकासहित विश्वका अन्य देशहरुबाट पनि समावेश गरेको हो । एफडीएले सन् २०१११ देखि नै स्तन प्रत्यारोपणसंग सम्बन्धित क्यान्सरबारे तथ्यांक सार्वजनिक गर्न थालेको थियो।
तर यो रोग स्तन क्यान्सरभन्दा पनि स्तन प्रत्यारोपणसम्बन्धी एनाप्लास्टिक लार्ज सेल लिम्फोमा रहेको बताइएको छ । यो रोग सुरुमै थाहा भए प्रत्यारोपण गरिएको स्तन र यसवरपर निर्माण भएका तन्तुलाई शल्यक्रियामार्फत् निकालेर निको पार्न सकिन्छ । तर केही महिलामा भने केमोथेरापी र विकिरणबाट उपचार गर्न सकिन्छ।
यसको मुख्य लक्षणमा प्रत्यारोपण गरिएको स्तन वरपर सुन्निन सक्छ्, जुन शल्यक्रिया गरेको २ देखि २८ वर्षमा देखिने सम्भावना हुन्छ । तर लक्षण नदेखिएका महिलामा परीक्षण र प्रत्यारोपण हटाउने आवश्यकता नभएको एफडीएका अधिकारीहरुको भनाई छ।
कोमल खालको भन्दा पनि टेक्स्चर प्रत्यारोपण गरेका महिलामा लिम्फोमा हुने सम्भावना हुन्छ । तर लिम्फोमा र प्रत्यारोपित स्तनभित्र राखिएका कृत्रिम पदार्थ (नुन, पानी या सिलिकन) बीच कुनै सम्बन्ध नरहेको विज्ञहरु बताउछन् । यस्तै लिम्फोमा पनि स्तन क्यान्सरसंग सम्बन्धित छैन । टेक्स्चर प्रत्यारोपणमा सतह अलि कडा खालको हुने भएकाले केही महिलामा चिलाउने समस्या देखिन सक्छ, जसको फलस्वरुप पोल्ने हुन्छ र लिम्फोमा हुन सक्छ । अर्कोतिर टेक्स्चरले ब्याक्टेरिया लिन सक्छ र क्रोनिक संक्रमणले क्यान्सर हुन सक्छ । अमेरिकामा कोमल खालको स्तन प्रत्यारोपण भएपनि युरोपमा भने टेक्स्चर प्रत्यारोपण बढी लोकप्रिय छ।
तर स्तन प्रत्यारोपणको संख्याको तुलनामा लिम्फोमाको तथ्यांक भने सानो हो । अमेरिकामा सुन्दरता बढाउन प्रतिवर्ष ३ लाख महिलाले स्तन प्रत्यारोपण शल्यक्रिया गर्छन् । विश्वभर करिब १ करोड महिलाले प्रत्यारोपण गरेको अनुमान छ ।
न्यूयोर्क टाइम्सबाट