नयाँदिल्ली– अभिनेता इरफान खानले केहि दिनअघि एक ट्विट गर्दै आफुलाई न्युरो इन्डोक्राइन ट्युमर भएको खुलाएका थिए। सो ट्विटमा उनले आफु विदेशमा गएर उपचार गर्ने पनि जनाएका थिए। त्यसको केहि दिनपछि मात्रै इरफान खानले लन्डनमा एक आयुर्वेदिक चिकित्सक बलेन्दु प्रकाशसँग उपचार गरिरहेको भन्ने समाचार प्रकाशमा आयो।
तर इरफानका प्रवक्ताले भने सो समाचारको खन्डन गर्दै इरफानले कुनै पनि आयुर्वेदिक चिकित्सकसँग उपचार नगराएको प्रष्ट पारेका छन्। उनले भने,‘इरफानले खानले एक पटक सम्पर्क जरुर गर्नुभएको हो। तर उहाँसँग त्यसपछि सम्पर्क हुन सकेन। त्यसकारण कसैको रोगलाई लिएर आफ्नो व्यवसाय बढाउने काम नगरौँ।’इरफानले यसअघि नै ट्विटमार्फत आफ्नो गोपनियताको सम्मान गर्न सबैसामु आग्रह गरेका थिए। प्रवक्ताले थपे,‘इरफानका बारेमा केहि नयाँ जानकारी आउने बित्तिकै उहाँकी श्रीमतीले सबै कुरा प्रकाश पार्नुहुनेछ।’
यसअघि इरफान खानले केहि दिन अघि मात्रै एक मार्मिक कविता र आफ्नो छायाँवाला फोटो ट्विटरमा पोष्ट गरेका थिए। कवितामा इरफानले ईश्वरलाई सम्झिदैँ सधैँ साथमा रहन प्रार्थना गरेका थिए। डेक्कन क्रोनिकलको रिपोर्टअनुसार हाल अभिनेता इरफानको लन्डनमा कार्यरत एक भारतीय चिकित्सकले अनुसन्धान गरिसकेका र उनको पुरा उपचारको जिम्मेवारी समेत लिएका छन्।इरफानका नजिकका एक साथीले भने,‘चिकित्सकले इरफानको रोगको बारेमा पुरा अनुसन्धान गरिसकेका छन्। उनले आश्वस्त पारेका छन् कि इरफान खतरामुक्त छन्। उनी पूर्ण रुपमा ठीक हुनेछन्।’
केहि साता अघि मात्रै ट्विटरमा इरफानले आफ्नो रोगको बारेमा खुलासा गर्दै लेखेका थिए,‘जिन्दगीमा अचानक केहि यस्तो हुन्छ, जसले तपाईंलाई अगाडि लिएर जान्छ। मेरा पछिल्ला केहि दिन यस्तै रहे।’