काठमाण्डौं- भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अचानक भएको मृत्युबाट विश्वका कलाप्रेमीहरु यतिखेर स्तब्ध छन्। बलिउडकी यी बहुचर्चित नायिका श्रीदेवीको गत फेब्रुअरी २४ को राति अचानक मृत्यु भएको खवरले भारतीय चलचित्र जगत मात्र होइन उनलाई मन पराउने दक्षिण एसियाली क्षेत्रका धरै देशका नागरिकले आफ्नो प्रिय कलाकार र रुपकी रानी गुमाएको महसुश गरेका छन्।
यी चर्चित कलाकारको निधनपछि यतिखेर बलिउड क्षेत्रका कलाकारका साथै उनका ‘फ्यान’ हरुले किन यस क्षेत्रले अल्पायुमै कलाकारहरु गुमाउनु परिरहेको छ भन्ने बारेमा बडो दुःख मनाउनाका साथ चर्चा गरिरहेका छन्। त्यस्तै भारतीय सञ्चारमाध्यमहरुले पनि कम उमेरमै किन यसरी भारतीय कलाकारहरुले ज्यान गुमाइरहेका छन् भन्ने बारेका समाचारहरु प्रस्तुत गर्ने गरेका छन्।
कलाकारसँग कलाप्रेमीहरुको आत्मीय सम्बन्ध गाँसिएको हुन्छ। कलाकारले व्यक्तिलाई हसाउने रुवाउने र मनमोहक पार्ने सवै कार्य गरेका हुन्छन् । यसरी मनजित्ने कलाकारको निधनले व्यक्तिलाई विचलित बनाउँछ, त्यो स्वभाविक नै हो । श्रीदेवीको निधनले विश्वका कैयौँ यस्ता ‘फ्यान’ले व्यक्तिले यस्तो महसुश गरे । श्रीदेवीको अन्तिम यात्रा र अत्येष्टि विश्वका करोडौं व्यक्तिले निकै भावुकताका साथ अवलोकन गरे।
संयुक्त अरब इमिरेट्सको दुबइमा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन जानु भएको उनको हृदयाघातका कारण मृत्यु भएको समाचार बाहिर आएको थियो । तर अस्पतालले पोस्टमार्टम रिपोर्टले पछि उनको मृत्यु हृदयाघातले नभई बाथ टबमा डुबेर भयो भन्ने तथ्य प्रकाशित गर्यो । बाथ टबमा डुबेर उनको मृत्यु कसरी भयो त । बाथ टबबाहिर एक थोपा पनि पानी पोखिएको थिएन भन्नेजस्ता कैयौँ समाचार पनि नआएका होइनन्।
सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवी चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन्। ५४ वर्षको उमेरमा निधन भएकी उनले ५० वर्ष त फिल्म क्षेत्रमै काम गरेकी थिइन्। उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्र छन्।
यसैगरी अचानक मृत्यु भएको भारतीय चलचित्रका अर्की अभिनेत्री हुन् परवीन बाँबी । सन् १९८० को दशकमा अमर अक्बर एन्थोनी, नमक हलाल र शान जस्तो बलिउडका प्रख्यात चलचित्रमा नाम कमाउन सफल उनको सन् १९४९ मा भारतको गुजरात राज्यमा जन्म भएको थियो। बाँबीको सन् २००५ को २० जुलाईका मुम्बइस्थित आफ्नै घरमा ५५ वर्षको उमेरका सुतेकै अवस्था मृत्यु भएको थियो। यो पनि अर्को एक रहस्यमय निधन नै थियो।
यस्तै रहस्यमय मृत्युवरण गरेकी अर्की अभिनेत्री हुन् दिब्या भारती। रुपमा अब्बल मानिएका र रुपको चर्चामा शिखरमा रहेकी यी अभिनेत्रीको १९ वर्षको उमेरमा नै मृत्यु भएको थियो। सन् १९७४ फेबु्रअरी २५ मा महाराष्ट्रमा जन्मिएकी उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो। हिन्दी र तलेगु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिब्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन्। कम समयमा नै सफलताको चुचुरोमा पुग्न सफल दिब्याले बिश्वात्मा, सोला ओर सबनम र दिवानाजस्ता चलचित्रबाट भारतमात्र नभएर बाहिरकै कैयौँ आत्मालाई दिवाना बनाउन सफल भएकी थिइन्। यी नायिकाको मुम्बइस्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो। तर यो हत्या थियो भन्ने विवाद पनि नचलेको होइन । आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्वमा छ भनिन्छ।
बलिउड जगतले अचानक र कम उमेरमा गुमाउन पुगेको अर्को अभिनेत्री स्मिता पाटिल पनि हुन्। एक दशकमा हिन्दी र मराथी ८० भन्दा बढी चलचित्रमा अभिनय गरेकी यी अभिनेत्रीको ३१ वर्षको उमेरमा नै मृत्यु भएको थियो । सन् १९५५ को अक्टोबर १७ मा जन्मिनु भएको पाटिलको १९८६ को १३ डिसेम्बरमा मृत्यु भएको थियो । उनले दुई वटा राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन्। भारत नागरिकलाई दिइने चौथो उच्चस्तरीय पुरस्कार पदमश्री पाएकी थिइन्।
भारतीय चलचित्रको नै अभिनेता राजबबरसँग विबाह सम्बन्धमा बाधिएकी स्मिताको बच्चा जन्मिदा उत्पन्न प्रसुतीजन्य जटिलताका कारण मृत्यु भएको थियो। उनले हिन्दी भाषाका प्रख्यात चलचित्र अर्थ, भूमिका, वासिस, आजकी आवाज मिर्च मसाला, नमक हलालजस्ता कैयौ चलचित्रमा अभिनय अभिनय गरेकी थिइन्।
चलचित्र जगतले सानै उमेरमा गुमाएको अर्का अभिनेत्री मीना कुमारी । सन् १९३३ को १ अगस्तमा जन्मिएकी मिनाकुमारीको ३९ वर्षको उमेरमा मृत्यु भएको थियो। बालकलाकारबाट नै चलचित्र जगतमा प्रवेश गरेकी मिनाको १९७२ को ३१ अगस्तमा मृत्यु भएको थियो । उनलाई बलिउड जगतमा ‘द ट्रजिडी क्वीन’ को नामबाट पनि चिनिन्थ्यो। उनले बलिउडका प्रख्यात चलचित्र सहिब बिवी ओर गुलाम, पाकिजा, मेरे अफ्ने, बैजु बावरा, दिल अप्ने और प्रित पराई जस्ता कैयौँ चलचित्रमा अभिनय गर्नु भएको थियो। उनको निधन क्यान्सरको कारण भएको थियो।
भारतीय चलचित्रका निर्देशक, निर्माता कलाकारसमेत रहेका गुरुदत्तको पनि ३९ वर्षको उमेरमा नै मृत्यु भएको थियो। उनी सन् १९५० देखि ६० को दशकमा अत्यन्त प्रख्यात थिए। उनका चर्चित चलचित्रहरुमा प्यासा, कागज के फुल, साहिब बिबी और गुलाम, चौँदवीका चाँदलगायतअन्य कैयौ थिए । उनले एक सय भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेका थिए। गुरुदत्त सो समयका वरिष्ठ भारतीय चलचित्र निर्देशकसमेत थिए। उनलाई भारतीय चलचित्र जगतले ३९ वर्षको कलिलो उमेरमा नै गुमाउनु परेको थियो । सन् १९२५ को जुलाई ९ मा जन्मिनु भएका उनको १९६४ को १० अक्टोबरमा नै मृत्यु भएको थियो।
त्यसैगरी हृदयाघातका कारण मृत्युवरण गर्न पुगेका बलिउडका अर्का प्रख्यात अभिनेता सन्जीव कुमार पनि हुन्। उनको ४७ वर्षको उमेरमै मृत्यु भएको थियो । सन् १९३८ को ९ जनवरीमा जन्मिनुभएका सन्जीवकुमारले कैयौँ भारतीय चलचित्र सम्बन्धी पुरस्कार पनि पाएका थिए। उनले दस्तक र कोशिस हिन्दी चलचित्रमा ‘नेसनल फिल्म अवार्ड फर बेस्ट एक्टर’ को पुरस्कारलगात कैयौँ पुरस्कार पाएका छन्। कलाजगतमा विलक्षण प्रतिभाका धनी सन्जीवकुमारको यो अल्पायुकै निधनले पनि कैयौँ कलाकर्मी र कलाप्रेमीहरु मार्महत भएका थिए। उनका प्रचलित चलचित्रमा अर्जुन पन्डित, कोशिस, खिलौना, यही हे जिन्दगी, नया दिन नै रात आदि हुन् । अविबाहित रहेका उनको ६ नोभेम्बर १९८५ मा मृत्यु भएको थियो।
हृदयघातका कारण हिन्दी चलचित्रका अमूल्य रत्न गुमाउनु परेको अर्को अभिनेता हो विनोद मेहरा । उनको जन्म १९४५ को १३ फेबु्रअरीका भएको थियो र १९९० को ३० अक्टोबरमा ४५ बर्षको उमेरमा मृत्यु भएको थियो। उनले बालकलाकारको रुपमा १९५० मा बलिउडमा काम गरेका थिए। उनले आफ्नो युवा उमेरमा चलचित्रको जीवनयात्रा सन् १९७१ बाट सुरु गरेका थिए। उनी गुरुदेव भन्ने हिन्दी चलचित्रको निर्देशक र निर्मातासमेत हुन्। उनको मृत्यु भएको तीन बर्षपछि मात्र सो चलचित्रको विमोचन भएको थियो । उनले हिन्दी चलचित्र जगतका अति उत्कृष्ट कथाका आधारित अमर प्रेम, लाल पथर, अनुरागलगायतको चलचित्रमा अभिनय गर्नु भएको थियो । उनीसँग अभिनयगर्ने अभिनेत्रीहरुमा मौसमी च्यातरजी, रेखा, योगीता बाली शबाना आजमीलगायत छन्।
हृदयाघातका कारण निधन भएका किशोरकुमारजस्ता कलाकारका कारण हिन्दी चलचित्र जगतले आफ्नो आवाज समेत गुमायो। सुरिलो र मीठो आवाजका धनी यी महान कलाकार किशोरकुमारको जन्म सन् १९२९ को अगस्ट ४ मा भएको थियो । उनको मृत्यु सन् १९८७ को १३ अक्टोबरमा भएको थियो । उनी भारतीय पाश्व गायक, गीतकार, रचनाकार, निर्माता र निर्देशक थिए । उनको ५८ वर्षको उमेरमा मृत्यु भएको थियो। उनको हिन्दी प्रचलित गानाहरुमा मेरे सपनोकी रानी, रुप तेरा मस्ताना, ओ मेरे दिलके चैन, तेरे विना जिन्दगी से कोही सिकुवा नहीजस्ता सयौँ गाना रहेका छन्।
त्यस्तै आवाजका धनी अर्का गायक मोहमद रफिको पनि हृदयघातका कारण नै मृत्यु भएको थियो। सन् १९२४ कोे २३ डिसेम्बरमा जन्मिएका उनको १९८० ३१ जुलाईमा ५६ वर्षको उमेरमा मृत्यु भएको थियोे । पद्मश्रीसहित विभिन्न छ वटा चलचित्र पुरस्कार प्राप्त गरेका थिए। उनका भारतका अनेक भाषामा करिब ७ हजार ४०५ गीत रेकर्ड छन्।
त्यस्तै गायन क्षेत्रका अर्का हस्ती मुकेश चन्द माथुरलाई पनि हृदयाघातले नै छोटै उमरेमा लगेको थियो। उनी १९२३ को जुलाईमा जन्मिएका थिए भने १९७६ को अगस्त २७ मा मृत्यु भएको थियो। रासस