काठमाडौं- वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले बिरामीलाई सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न वीर अस्पतालको विस्तारको काम अगाडि बढीरहेको बताएका छन्।
स्वास्थ्यखबरको नियमित कार्यक्रम ‘25’मा निर्देशक डा बस्नेतले वीर अस्पताललाई २५ सय शय्याको अत्याधुनिक अस्पतालका रुपमा विस्तार गर्ने काम सुरु भएको बताएका हुन्। उनका अनुसार अस्पताल गुरुयोजना अनुसार पहिलो चरणमा हाल वीर अस्पताल परिसरमा ६ सय ५० शय्याको ७ तले नयाँ भवन निर्माणको काम अगाडि बढेको छ।
उक्त नयाँ भवनको आगामि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिलन्यास गर्ने कार्यक्रम छ। १७ रोपनी क्षेत्रफलमा बन्ने उक्त नयाँ भवन तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नेछ।
यस्तै, वीर अस्पतालको मुख्य भवन पछाडि एक सय शय्याको नयाँ भवन निर्माणको काम पनि धमाधम अगाडि बढीरहेको छ। जापान सरकारले निर्माण गरिरहेको उक्त भवन अबको डेढ वर्षभित्रमा तयार भइसक्ने उनले जानकारी दिए।
यी दुई बाहेक सरकारले भक्तपुरको दुवाकोटमा उपलब्ध गराएको ५ सय ७० रोपनी जग्गामा एक हजार शय्याका अस्पताल बनाउने काम पनि अगाडि बढीसकेको निर्देशक डा बस्नेतले जानकारी दिए। उनका अनुसार दुवाकोटमा विस्तार हुने वीर अस्पतालको पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले समेत सैद्धान्तिक सहमित दिइसकेको छ।
यो सँगै अस्पतालको गुरुयोजना अनुसार वीर अस्पताल परिसरमा हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यालय रहेको सेतो रङका भवन भत्काएर उक्त स्थानमा पनि ६ सय ५० शय्याको नयाँ भवन निर्माण हुनेछ। तर, यो भने पहिलो चरणका सबै संरचना बनेपछि मात्र काम अगाडि बढ्ने डा बस्नेतले बताए।
डा बस्नेतका अनुुसार ४० वर्षदेखि वीर अस्पतालको भौतिक पूर्वाधार विस्तार नभएका कारण सरकारको सहयोगमा एकैपटक विस्तारका काम अगाडि बढाउन लागिएको हो।
‘वीर अस्पताललाई अतिविशिष्टकृत अस्पतालका रुपमा विकास गर्न पनि पूर्वाधार विकास आवश्यक थियो,’ डा बस्नेतले भने, ‘त्यसकारण हामीले गुरुयोजना नै बनाएर अस्पताललाई चरण चरणमा विस्तार गर्दै लैजान लागेका हौँ ।’ उनले वीर अस्पताललाई विशिष्टकृत सेवा दिने अस्पतालबाट थप माथि बढाउँदै अतिविशिष्टकृत सेवा दिने अस्पताल बनाउन लागिएको जानकारी बताए।
डा बस्नेतले भुकम्पका कारण खुम्चिएको वीर अस्पतालको सेवा, वीर अस्पतालले प्रदान गरिरहेको निःशुल्क उपचार सेवा, अस्पतालको हालको अवस्था, अस्पतालका अब्बल विभाग, अस्पतालबाट वार्षिक कति बिरामीले सेवा लिन्छन् लगायतका विषयमा पनि स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँग कुराकानी गरेका छन्।
हेरौँ डा बस्नेतसँगको भिडियो 9 :