डालास– अर्कै महिलाबाट गर्भासय (पाठेघर) प्रत्यारोपण गराएकी एक महिलाले अमेरिकामा सन्तान जन्माएकी छन्। अमेरिकाको डालासस्थित द बेइलर विश्वविद्यालय चिकित्सा केन्द्रमा ती महिलाले शिशुलाई जन्म दिएकी हुन्।
बेइलर स्कट एन्ड ह्वाइट स्वास्थ्य सुरक्षा प्रणालीअन्तर्गत अर्कै महिलाको पाठेघर(गर्भाशय) प्रत्यारोपण गरिएकी महिलाबाट शिशु जन्मिएको भने यो दोस्रो घटना हो। यसअघि गत वर्षको मंसिर १५ गते सोहि अस्पतालमा नै गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा पहिलो पटक बच्चा जन्मिएको थियो।
गत फेब्रुअरीको अन्तिममा जन्मिएको शिशु छोरी रहेको अस्पतालले जनाएको छ। अस्पताल स्रोतले आमाको भने नाम तथा अन्य पहिचान खुलाएको छैन। तर महिलाको गर्भवती हुँदाको समयदेखि बच्चा जन्मिनुसम्म कुनै कठिनाई नभएको बताएको छ।
अस्पतालमा चलिरहेको ‘गर्भाशय प्रत्यारोपण क्लिनिकल ट्रायल’अन्तर्गत शिशुको जन्म भएको दोस्रो घटना हो। सो परिक्षणमा पूर्णरुपमा बाँझोपन भएका महिलाहरु सहभागी भएका छन्।
सोहि परिक्षणअन्तर्गत पहिलो शिशुलाई जन्म दिएको जस्तै गरि पछिल्लो पटक बच्चा जन्मिएको अवस्थालाई ‘मेयर–रोकिटान्स्की–कुस्टर–हौसर(एमआरकेएज) सिन्ड्रोम’ नाम दिइएको छ। जसको अर्थ ती महिलाले बिना पाठेघर नै बच्चालाई जन्म दिएकी छन्, जसले आफु कहिल्यै गर्भवती हुन्छु वा बच्चा जन्माउँन सक्छु भन्ने सोचेकी पनि थिइनन्।
अस्पतालले एक जिवित महिलाबाटै ती महिलामा पाठेघर प्रत्यारोपण गरिएको बताएको छ। हाल परिक्षणको रुपमा रहेको सो प्रक्रियाबाट शिशुलाई जन्म दिनु बाँझोपन भएका तथा क्यान्सरलगायत कारणले पाठेघर गुमाएका महिलाहरुका लागि भने उत्तम विकल्प हुने बताइएको छ।
गर्भाशय प्रत्यारोपण क्लिनिकल ट्रायलका प्रमुख तथा बेलर एनिटी सि एन्ड हारोल्ड सि सिमोन्स ट्रान्सप्लान्ट इन्स्टिच्युटअन्तर्गत पेटसम्बन्धी अंगहरुको प्रत्यारोपण गर्ने सर्जिकल चिफ डा.गिवुलिआनो टेस्टाले भने,‘भावनात्मक रुपमा दोस्रो शिशुको जन्म हुँदाको तिव्रताको तह पहिलो पटकको जन्मसँग समान रहेको पायौँ। पहिलोमा जस्तै दोस्रो शिशुको जन्ममा पनि उहि सफलता हात पार्नु मेडिकल टोलीका लागि महत्वपूर्ण छ।’
पछिल्ला वर्षहरुमा बेइलर अस्पतालले सञ्चालनमा ल्याएको पाठेघर प्रत्यारेपण कार्यक्रम अमेरिकामा निकै फलदायी मानिएको छ। यो कार्यक्रम जिवित तथा मृत्यु भईसकेका डोनरहरुका लागि पनि पहिलो प्रयोग हो। अस्पतालले परिक्षणअन्तर्गत १० वटा पाठेघर प्रत्यारोपण गर्ने लक्ष लिएको छ।
अस्पतालले सन् २०१६ को सेप्टेम्बर महिनामा चार जना महिलामा गर्भाशय प्रत्यारोपण गराएको थियो। यस क्रममा उनीहरुले स्वीडिस् मेडिकल समूहको सहयोग लिएको जनाएका थिए।
ती मध्ये एकजना महिलाको मात्र प्रत्यारोपण सफल भएको थियो। अमेरिकामा तिनै महिलाबाट जन्मेको शिशु नै पाठेघर प्रत्यारोपण गरेपश्चात् जन्मिएको पहिलो बच्चा थियो।
तर एक महिलाको गर्भाशय अर्कोमा प्रत्यारोपण गर्ने कामको सुरुवात भने स्वीडेनमा भएको हो। स्विडेनमा यसअघि नै गर्भाशय प्रत्यारोपण गरिएका महिलाबाट पाँच जना शिशु जन्मिइसकेका छन्। सन् २०१४ को सेप्टेम्बर महिनामा पहिलो पटक स्वीडेनमा यसरी प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको थियो।
गर्भाशय प्रत्यारोपण अझै पनि प्रयोगात्मक रुपमा चलिरहेको छ। बेइलोर अस्पतालले सोहि प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाइरहेको छ। अन्य बाँझोपनको उपचारजस्तै बिमा कम्पनीहरुले यो उपचार प्रक्रियालाई सहयोग गर्छन् भन्ने स्पष्ट भइसेकेको छैन।
अस्पताल स्रोतका अनुसार यो प्रक्रिया सम्पन्न गर्न करिब ५ लाख अमेरिकी डलर खर्च हुने अनुमान छ। बेइलोर अस्पतालले गर्भाशय प्रत्यारोपण गरी बच्चा जन्माउने कार्यले धर्मपुत्र/पुत्री राख्ने वा सरोगेसी जस्ता प्रक्रियालाई तत्कालै विस्थापन गर्न नसक्ने तर भविष्यमा महिला तथा उनका परिवारका लागि उचित विकल्प रुपमा भने प्रस्तुत हुनसक्ने आंकलन गरेको छ।