वासिङ्टन- एक थोपा रगतबाटै व्यक्तिको वर्तमान तथा विगतका विषाणु सङ्क्रमण पत्ता लाग्न सकिने एक अध्यनबाट देखिएको छ।
भाइरस पत्ता लगाउन रगतको एक नमुनाको परीक्षण विधिको स्थानमा भाइरस्क्यान नाम गरेको यस विधिले एक नमुनाबाट सम्पूर्ण विषाणु पत्ता लगाउने विकल्प उपलब्ध गराएको अनुसन्धाकर्ताहरुले बताएका छन् । यससम्बन्धी जानकारी अमेरिकी विज्ञान पत्रिका साइन्समा प्रकाशन भएको छ।
हावर्ड ह्युज मेडिकल इन्स्टिच्युट वैज्ञानिकहरुले विकास गरेको यस नयाँ विधिले स्वास्थ्यकर्मीहरुलाई एक विषाणुको कारणभन्दा पनि बहुतत्वका कारण व्यक्तिको स्वास्थ्यमा परेको प्रभाव पत्ता लगाउन सहयोग पुग्ने बताइएको छ।
यसले अनुसन्धानकर्ताहरुलाई ठूलो जनसङ्ख्यामा अनुसन्धान गर्न सहयोग पुग्ने र प्रति रगत नमुनाको परीक्षण २५ अमेरिकी डलरमा सम्पन्न गर्न सकिने बताइएको छ ।
बोस्टनस्थित ब्रिघम एण्ड विमन्स हस्पिटलमा एचएचएमआईका अनुसन्धानकर्ता स्टिफिन एलेजले व्यक्तिको रगतमा विगतमा कस्तो विषाणुले सङ्क्रमण गरेको थियो भनी अध्ययन गर्ने विधि आफूहरुले पत्ता लगाएको बताए।
अनुसन्धाकर्ताहरुले भाइरस्क्यानलाई अमेरिका, दक्षिण अफ्रिका, थाइल्यान्ड तथा पेरुका ५६९ व्यक्तिको रगत परीक्षणमा उपयोग गरिसकेका छन्।
यस परीक्षणमा मानवलाई सङ्क्रमण गर्नसक्ने २०६ विषाणु प्रजाती खोज्ने काम हुन्छ।
व्यक्तिका शरीरमा रहेको रोगप्रतिरोधत्मक शक्तिले भाइरसलाई हटाए पनि त्यसको केही वर्षसम्म त्यस प्रकारको भाइरसका एन्टिबडी उत्पादन गरिरहन्छ र वैज्ञानिकहरुले सोकी कुराको अनुसन्धान गर्न खोजेको बताइएको छ। एएफपी