एजेन्सी– एक भारतीय म्यागजिनको आवरणमा स्तनपान गराइरहेकी मोडलको तस्बिर छापिएको छ । उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बहश छेडिएको छ ।
केरलाबाट प्रकाशित हुने ‘गृहलक्ष्मी’ म्यागजिनको आवरणमा मोडेल गिलु जोसफले बच्चालाई दूध पिलाइरहेको देखिन्छ।
यस तस्बिरसँगै लेखिएको छ, ‘आमा केरलाबाट भनिरहेकी छिन्– घुरेर नहेर, म स्तनपान गराउन चाहन्छु ।’
पहिलोपल्ट कुनै भारतीय म्यागजिनले महिलाले स्तनपान गराइरहेको तस्बिरलाई आवरण तस्बिर बनाएको मानिएको छ।
तर, यी मोडेल आमा बनिसकेकी छैनन् । यही कुराले अवस्था असहज बनाएको छ र बहश छेडिएको छ।
गृहलक्ष्मीका सम्पादक मोंसी जोसफले भनेका छन्, ‘म्यागजिन आमालाई सार्वजनिक स्थलमा स्तनपान गराउन जरुरी रहेको प्रति सवैको ध्यान आकृष्ट गर्न चाहन्छ ।’
जोसफ भन्छन्, ‘एक महिना पहिले एक पुरुषले स्तनपान गराइरहेकी आफ्नी श्रीमतीको तस्बिर फेसुबकमा सेयर गरेको थियो । उनी सार्वजनिक स्थलमा आमालाई स्तनपान गराउन दिने विषयमा बहश होस् भन्ने चाहन्थे। तर, सकारात्मक बहश चलाउनुको सट्टा ती महिलाबारे साइबर बुलिङ गरियो ।’
‘यसैले हामीले स्तनपानको यो विषय आफ्नो नयाँ अंकमा उठाउने फैसला गर्यौं,’ उनले थपे ।
भारतमा परम्परागत सारी पहिरने कति महिलाले सार्वजनिक स्थानमा स्तनपान गराइरहेका छन् । उनीहरु ब्लाउजको सहयोगमा यस्तो गराउन सक्छन् । तर जो महिला साडी पहिरिन चाहन्नन्, उनीहरुसँग यो विकल्प छैन ।
कति मान्छेहरुले सामाजिक सञ्जालमा यो म्यागजिन र मोडललाई समर्थन गरेका छन् ।
तर, स्तनपान गराउने असली आमा नभइ मोडल भएका कारण यसको आलोचना बढ्दै गएको छ ।
ब्लगर अञ्जना नायरले लेखिन्, ‘बच्चालाई स्तपनपान गराउने असल आमालाई भित्री पेजमा र एक मोडेललाई बच्चा र वस्त्रविहिन स्तनका साथ कभरमा राख्नुको अर्थ सस्तो प्रचार र शोषण हो ।’
तर मोडेल गिलु जोसफले म्यागजिनमा छापिन आफूले गरेको फैसलाको बचाउ गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘यसबाट म आलोचित हुनुपर्छ भन्ने कुरा मलाई थाहा थियो । मैले ती आमाहरुका लागि यस्तो निर्णय लिएकी हुँ । जो खुलमखुल्ला स्तनपान गराउन चाहन्छन् ।’
उनको हवाला दिँदै एक म्यागजिनले लेखेको छ, ‘यदि तपाईं तपाईंको बच्चालाई दूध पिलाउँदै हुनुहुन्छ भने कुन भगवान रिसाउँछ ।’
केरलाका चर्चित लेखक पल जकारियाले म्यागजिनको यो कदम अहम् रहेको बताए । उनले भने, ‘यसले सार्वजनिक स्थलमा स्तनपान गराउने कुरामा कुनै क्रान्ति त आउँदैन । तर, यो एक अहम् कदम भने हो । यस कदमका लागि सम्पादकले माफी माग्नुपर्छ भन्ने मलाई लाग्दैन ।’
सार्वजनिक स्थलमा स्तनपान गराउनु दुनियाँभरमै विवादित विषय हो ।
स्कटल्यान्डमा गरिएको एक सर्वेमा उल्लेख भएअनुसार एक चौथाई आमा सार्वजनिक ठाउँमा स्तनपान गराउन असहज महशुस गर्छन् ।
बीबीसी हिन्दीबाट अनुदित