ओन्टरियो– विना लाइसेन्स सावारी हाँकेको भन्दै बिरामीहरुलाई अस्पताल पुर्याउन सहयोग गर्दै आएका एक क्यानडाली नागरीकलाई जरिवाना तिराइएको छ। स्तन क्यान्सर भई बाँचेकी ५८ वर्षिया एक महिलालाई विना लाइसेन्स सवारी चलाएको भन्दै २ हजार २ सय ६० क्यानडाली डलर जरिवाना तिराइएको हो।
क्यानडाको ओन्टरियोस्थित लन्डनमा बस्दै आएकी ती महिलाले विगत ३ वर्षदेखि आर्थिक स्थिती कमजोर भएका बिरामीहरुलाई अस्पताल लैजान सहयोग गर्दै आएकी थिइन्। ती महिलाको आफ्नो आर्थिक स्थिती सम्बृद्ध नरहेको भएपनि अस्पताल आवत जावतका लागि कम्तीमा १२ अमेरिकी डलर खर्च गर्न नसक्नेहरुका लागि सो सेवा उपलब्ध गराउँदै आएकी बताइएको छ।
अस्पतालका कर्मचारीले ती महिलाले दिँदै आएको सहयोग कतिपय बिरामीका लागि भने अत्यावश्यक रहेको बताएका छन्। तर स्थानीय एक सरकारी अधिकारीले भने ती महिलालाई ‘स्टिङ अप्रेसन’का दौरानमा पक्राउ गरि जरिवाना तिराइएको बताएका छन्।
सो जरिवानापश्चात् ती महिलाले आफु विक्षिप्त भएको प्रतिक्रिया दिएकी लन्डन फ्रि प्रेसले लेखेको छ। उनले भनिन्,‘म आफै एक क्यान्सर पीडित थिएँ। मलाई त्यो समयमा हुने पीडाको अनुभव छ। स्तन क्यान्सर हुँदा समुदायबाट मैले पाएको सेवा तथा सहयोगलाई पुनः समुदायमा फिर्ता गर्ने कोशिष मात्र गरेकी हुँ।’
पत्रिकाले ती महिलाको नाम भने खुलाएको छैन। सो खबरले आफ्नो प्रान्तमा रहेका आर्थिक स्थिती कमजोर भएका अपांग व्यक्तिहरुमा प्रभाव पर्ने भन्दै उनले आफ्नो नाम नखुलाइदिन आग्रह गरेकी लन्डन फ्रि प्रेसले लेखेको छ।
स्थानीय कानुनसम्बद्ध कार्यालयकाअनुसार उनीविरुद्ध गुनासो आएपछि मात्रै कारबाही गरिएको जनाएको छ।
आफुले क्यान्सरको उपचार गराउँदा अस्पताल आउजाउमा धेरै रकम खर्च हुने थाहा पाएपछि आर्थिक रुपमा कमजोर भएकाका लागि लक्षित गर्दै सो सेवामा आफु लागेको उनले बताइन्।
उनले मासिक २० भन्दा बढि बिरामीका लागि सेवा उपलब्ध गराउँदै आएकी छिन्।
यदि ती महिलालाई आफ्नो सवारी सुविधालाई पुनः सुचार गर्न नदिने हो भने केहि बिरामीहरुको उपचारमा ढिलाई हुने एक चिकित्सकले बताए।
सो विषयलाई आगामि साता बस्ने नगर परिषदको बैठकमा समेत उठाइने भएको छ।
घटना प्रकाशमा आएपछि ती महिलालाई तिराइएको जरिवाना तिर्न भन्दै स्वतस्फुर्त रुपमा २ दिनभित्र करिब ८ हजार अमेरिकी डलरभन्दा बढिको सहयोग रकम उठेको छ।