बलिउड अभिनेत्री श्रीदेवीको निधनले धेरै अनुमानहरु जन्माएको छ, त्यसमध्ये केही निराधार छन्। तर, उनको निधनले बलिउडको भित्री कुरा जान्नेहरुलाई तथाकथित सपनाको यो दुनियाँमा बाहिरबाट फिल्ममा भाग्य चम्काउन आउनेहरुमाथि परिरहेको दबावबारे बोल्ने हिम्मत दिएको छ।
भारतको फिल्म उद्योगलाई बलिउड स्टारहरु एउटा ठूलो परिवारका रुपमा उल्लेख गर्छन्। तर, यो ठूलो सिर्जनशील समुदायमा एउटा खाडल गहिरिँदै गएको छ, जसलाई उपेक्षा गर्न मुश्किल छ।
सफलताका पछाडिको अँध्यारो पाटो
श्रीदेवीको निधनपछि यस उद्योगका महिलाहरुमाथि परिरहेको दबाव र उनीहरुको सफलताका पछाडि रहेको अँध्यारो पाटोसँग जोडिएका सन्देश सामाजिक सञ्जालमा निकै आइरहेका छन्। यसले त्यस्तो केही अपेक्षाको पर्दाफास गरेको छ, जो बलिउडमा केही गर्ने सपना लिएर मुम्बई पुग्छन्।
बढ्दै गएको उमेरलाई पर्दा हाल्दै आफूलाई जवान देखाउनुको बोझ र स्क्यान्डल लुकाउनुपर्दाको कारण सुरु भएको ‘ह्यासट्याग मी टू’ जस्तो अभियान हलिउडको मात्र यथार्थ होइन।
एक बलिउड कलाकारले नाम नबताउने सर्तमा भने, ‘पुरुषप्रधान मानसिकता र पुरुषका तुलनामा अभिनेत्रीमाथि हुने शोषणको अवस्था बलिउडमा सायद इतिहासकै भयावह स्थितिमा छ।’
पछिल्ला दुई दशकदेखि केही वेबसाइटहरु बलिउडका स्टारसँग जोडिएका रोमान्स, ब्रेकअप र मदिरा सेवनका साथै आपराधिक कृत्यसँग जोडिएका जानकारीहरुको खुलासा गरिरहेका छन्।
ह्विटनी ह्युस्टन र श्रीदेवीको मृत्यमा समानता
श्रीदेवीको मृत्यु बाथटबमा दुर्घटनावश डुबेका कारण भयो भन्ने कुरा जब बाहिर आयो, त्यसपछि बलिउड अभिनेत्री सिमी ग्रेवाले श्रीदेवी र ह्विटनी ह्युस्टनको मृत्युमा रहेका विचित्र समानताका विषयमा ट्विट गरेकी थिइन्।
हलिउड अभिनेत्री ह्युस्टन ११ फेब्रुअरी २०१२ मा होटलको कोठाको बाथटबमा मृत भेटिएकी थिइन्। पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण हृदयाघात उल्लेख थियो।
भारतमा अहिलेसम्म कम्तीमा १६ अभिनेत्री र ९ अभिनेताले आत्महत्या गरिसकेका छन्। यसमध्ये धेरै जना फिल्म उद्योगका मागहरु पूरा गर्न नसकेका कारण डिप्रेसनमा गएका थिए।
यस्तो लाग्न थालेको छ, बलिउडमा करिअरलाई सुरक्षित राख्न र आकर्षक देखिरहन स्टारहरुमाथि पनि निकै दबाव छ। सफल अभिनेत्री दीपिका पादुकोणले सार्वजनिक रुपमै यस माहोलमा डिप्रेसनबाट पीडित भएको स्विकारेकी थिइन्।
फिल्म निर्माता रामगोपाल वर्माले सामाजिक सञ्जालमा लेखेका थिए, ‘श्रीदेवी आफ्नो जीवनमा निकै दुःखी थिइन्।’
रामगोपालको तेलगु भाषाको हिट फिल्ममा श्रीदेवीले काम गरेकी थिइन्।
उनले लेखेका छन्, ‘श्रीदेवी आफ्नो जीवनमा धेरै कठिनाइसँग गुज्रेकी थिइन्। बाल कलाकारका रुपमा फिल्मी करिअर सुरु गरेकी उनले लगत्तै हिरोइनका रुपमा काम थालिन्। उनलाई सामान्य गतिमा जीवन अघि बढाउने समय कहिल्यै मिलेन।’
श्रीदेवी बाहिरी रुपमा शान्त मुद्रामा देखिए पनि उनी घनघोर मानसिक अशान्तिमा रहेको रामगोपालले उल्लेख गरेका छन्। वर्माले फेसबुकमा लेखेका छन्, ‘भविष्यबारेको अनिश्चितता र निजी जीवनमा आइरहेको परिवर्तनले सुपरस्टारको संवेदनशील दिमागमा गहिरो असर पा¥यो, जसबाट उनलाई कहिल्यै शान्ति मिलेन। मृत्युपछि मात्रै उनलाई शान्ति मिल्यो। बलिउडमा औंसी छायो, फिल्मकी चाँदनी अस्ताइन्।’
श्रीदेवीलाई किन हुन्थ्यो बेचैनी?
गत वर्ष पत्रकार वीर सांघवीसँगको कुराकानीमा श्रीदेवीले बलिउडको काम गर्ने तौरतरिकाका लागि उनले आफूलाई कसरी तयार गरेकी थिइन् भनेर बताएकी थिइन्।
उनले सांघवीसँग बताए अनुसार, दक्षिण भारतीय फिल्ममा काम गर्ने बेला उनी बिहान ६ बजे नै सुटिङ सुरु गर्थिन्। तर, बलिउडमा काम गर्न थालेपछि राति अबेरसम्म हिरोलाई कुर्नुपर्ने हुन्थ्यो। जसले उनलाई बेचैन बनाउँथ्यो।
यसका साथै मिडियाको रवैया पनि श्रीदेवीको जीवन दयनीय बनाउनुको एउटा कारण थियो।
श्रीदेवी र कस्मेटिक सर्जरी
बलिउडमा करिअर सुरु गर्दाको समयमा श्रीदेवी निकै मोटी थिइन्। यसैले मिडियामा उनलाई ‘थन्डर थाइ’ भनिन्थ्यो। सहज रुपमा ५ भाषा बोल्ने श्रीदेवीले अंग्रेजी बोल्न नजानेकै कारण सञ्चार माध्यमहरुले मजाक उडाउने गर्थे।
उनको मृत्युका पछाडि युवा देखिरहन गरिएका कस्मेटिक सर्जरीको प्रभाव पनि हुनसक्ने अनुमान गरिएको छ। श्रीदेवीले विभिन्न समय दिएका अन्तवार्ताहरुमा यस्ता किसिमका सर्जरीका विषयमा खण्डन गरिसकेकी थिइन्। सत्य के हो भने, बलिउड स्टारहरुले कस्मेटिक सर्जरी गराउनु सामान्य कुरा भइसकेको छ।
भाइभतिजावाद र असुरक्षित 'बाहिरियाहरु'
पछिल्ला दुई दशकमा कति युवा कलाकारले बताइरहेका छन्, बलिउडमा आफन्त नभएकाहरुका लागि यो क्षेत्र कसरी प्रतिकूल बनिरहेको छ। यसको अनुभव गर्ने एक अभिनेत्री हुन्, कंगना रनौत। दुई पटक राष्ट्रिय पुरस्कार जितेकी उनी भन्छिन्, ‘करिअरको सुरुवाती समयमा मसँग एउटा कुकुरलाई जस्तै व्यवहार गरिएको थियो।’
उनले भनिन्, ‘सानो शहरबाट ठूलो अपेक्षा लिएर पुग्ने म जस्ताका लागि बलिउडको खराब मानसिकताले दिमागमा चोट पुर्याउँछ।’
बलिउडमा अघिल्लो पुस्ताका निर्माता र निर्देशक गइसके। अहिले रहेका निर्माता–निर्देशकहरु फरक छन्, सफल र शक्तिशाली पनि छन्। यिनीहरुमध्ये धेरै त पूर्व फिल्म स्टार र निर्माताका सन्तान छन्। दोस्रो र तेस्रो पिँढीका यी ‘स्टार किड्स’हरुले विदेशमा पढे, जसलाई बलिउडमा अक्सर ‘बम्बे युप्पीज’ भनिन्छ।
कंगनाका अनुसार, बलिउडका कति पीडितहरुले बाहिर आफ्नो पीडा भन्न सक्दैनन्। तर, कुनै पूर्वस्टार वा शक्तिशाली फिल्मी परिवारको सन्तान नभएमा बलिउडमा उसको शोषण अवश्य हुन्छ। ऊ निकै असुरक्षित हुन्छ।
कंगनाको यस भनाइले बलिउडसँग जोडिएका स्टार र फिल्म निर्मातालाई आच्छु– आच्छु बनाएको छ। तर, उनले एक बहस भने छेडिसकेकी छन्।
श्रीदेवीको दुःखद अन्त्यले ‘बलिउड भित्रबाट कति सुन्दर छ त’ भनेर आत्ममूल्यांकन गर्ने मौका दिएको छ। के बलिउड बाहिर देखिए जस्तो चम्किलो र रंगीन भित्रैबाट हुन तयार छ त?
यो रिपोर्ट बिबिसी हिन्दीबाट डिबी खड्काले अनुवाद गरेका हुन्।