कोपनहेगन - भर्खरै १३/१४ वर्ष पुगेका २५ जना डेनिस बालबालिका । उनीहरु एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। अनि त्यहाँ कुराकानी हुँदैछ, ‘यौन'का बारेमा। उनीहरुलाइ छलफलमा भेला गरेका शिक्षकले नै हो।
छलफलका क्रममा एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन् भने एक छात्र मोबाइल फोन चलाइरहेका छन्। जब छलफल हस्तमैथुनको विषयमा पुग्छ, एक छात्राले कुनामा बसेको केटालाई देखाउँदै मुख छोपेर हाँस्न थाल्छिन्। उनले देखाएको केटा पनि कुनामा बसेर हाँसिरहेका छन्।
अनि छेवैमा छन् एक शिक्षक ।
‘हाँसे हुन्छ। केही फरक पर्दैन,' २९ वर्षिया शिक्षक एन्ड्रेयास बेक कोर्नबोर्गले बुझाउने शैलीमा भन्छन्, ‘हामी त्यस्तै विषयमा छलफल गर्दै छौं, जसको बारे कुरा गर्न हामीलाई अफ्ठ्यारो लाग्छ।'
...
केही समयअघि मात्रै ‘सेक्स एन्ड सोसाइटी' (यौन र समाज) नामक डेनमार्कको गैरसरकारी संस्थाले आफ्नो पाठ्यक्रममा परिवर्तन गर्यो। यो संस्थाले डेनमार्कमा बालबालिकालाई यौन शिक्षा पढाउने काम गर्छ। संस्थाले पहिला कसरी गर्भधारण रोक्न सकिन्छ भनेर सिकाउँथ्यो भने हाल गर्भधारणको सकारात्मक पक्षका बारे पनि जानकारी दिन थालेको छ।
यो युरोपमा बच्चा पाउनका लागि गरिएको सानो प्रयासमध्ये एक हो। अन्य युरोपियन राष्ट्रझैं डेनमार्क पनि घट्दो जन्मदरले आजित बनेको छ। त्यसमाथि पनि युरोपमा छाएको आर्थिक मन्दीले झनै तनाव थपिदिएको छ। आर्थिक मन्दीकै कारण नवविवाहितहरू अभिभावक बन्न उति साह्रो लालायित छैनन्।
इटालियन स्वास्थ्य मन्त्रीले गत फेब्रुअरी महिनामा आफ्नो देशलाई ‘डायिङ कन्ट्री' (मर्न लागेको देश) भनेरै घोषणा गरिदिए। यस्तै जर्मनीले पनि बच्चा पाउन अभिप्रेरित गर्नकै लागि ठूलो धनराशी खर्चेको छ। तर, उपलब्धि भने अपेक्षाकृत छैन। ग्रिसको आर्थिक मन्दीले जन्मदरलाई पूर्ण रूपमै रोकिदिएको छ भन्दा पनि हुन्छ। र, डेनमार्कमा मृत्युदरभन्दा पनि न्युन जन्मदर छ यसले त्यहाँको घट्दो जनसंख्यादरलाई रोक्न सकेको छैन।
‘हामीले धेरै वर्ष सुरक्षित यौन सम्बन्धका बारेमात्र चर्चा गर्यौं। कसरी गर्भधारण रोक्ने भनेर सिकायौं,' सेक्स एन्ड सोसाइटीकी राष्ट्रिय निर्देशक मारियन लोमहोल्टले भनिन्, ‘अब हामीलाई एक्कासि के सोच्यौं भने गर्भधारण कसरी गर्न भनेर पनि सिकाउन जरुरी भएको छ।'
जनसंख्यामा भएको यस्तो फेरबदलले विश्वको अन्य भेगभन्दा युरोपलाई नराम्ररी थिच्न थालेको छ। यो समस्याले जापान पनि ग्रसित छ। युरोपमा एक सय जनामा २८ जना ६५ वर्षमाथिका वृद्धहरू हुन्छन्। संयुक्त राष्ट्र संघका अनुसार यो अनुपात विश्वको औसतभन्दा दुई गुणा धेरै हो। यही अवस्था रहिरहने हो भने शताब्दीको अन्त्यसम्ममा यो अनुपात दोब्बर हुने राष्ट्र संघको आँकलन छ।
यो स्थितिले समाजलाई नराम्रोसँग प्रभावित तुल्याउनेछ। आर्थिक वृद्धि घट्छ भने अर्थतन्त्रमा पेन्सन र वृद्धवृद्धालाई हेर्ने भार बढ्छ। जापानमा यो देखिन थालिसकेको छ। त्यहाँ बच्चाको डाइपरभन्दा धेरै वयस्कको डाइपर बिक्री हुन्छ। यद्यपि यो परिपाटीले पुर्याोउने असरबारे भने एकमत छैन। केहीले यसलाई विकसित मुलुकमा देखिने प्राकृतिक वृद्धि मानेका छन्। कसैले भने यसलाई भविष्यमा हुने प्रकोपको रूपमा व्याख्या गर्छन्, जब काम गर्नेको भन्दा नगरी राज्यको सेवा सुविधा उपभोग गर्नेको संख्या बढ्छ।
समयको अन्तरालमा उत्पादनमा वृद्धि भए पनि त्यसले समाजको आर्थिक हैसियतमा भने नकारात्मक प्रभाव पार्ने भय रहन्छ। घट्दो जन्मदरले काम गर्ने कामदार नै नपाउने समस्या देखिन सक्छ। हाल जर्मनमा दक्ष कामदारको अभाव साह्रै खड्किएको छ। तर, पूरा युरोपमा भने यसले खासै प्रभाव पारेको छैन। किनकि हाल युरोप बढ्दो बेरोजगारीले आक्रान्त बनेको छ।
‘नीतिगत एजेन्डा मानिसले सोचेभन्दा निकै पेचिलो छ,' विश्व बैंकका लागि युरोप र मध्य एसिया हेर्ने प्रमुख अर्थशास्त्री हान्स टि्रमर भन्छन्, ‘सम्पूर्ण अर्थतन्त्रमा वृद्धि नदेखिए पनि यसले प्रतिव्यक्ति आय बढाउन अवसर पनि दिन्छ।'
हाल विश्वभर जन्मदर बढाउने उपायहरू अवलम्बन गर्न थालिएको छ। यो त्यति धेरै उपयोगी सिद्ध नभए पनि सृजनशील देखिएको छ। रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००८ लाई ‘परिवार वर्ष' नै घोषणा गरेका थिए। र्या प गीतका माध्यमबाट बच्चा जन्माउन अभिप्रेरित गर्ने काम पनि भएको थियो। केही देशमा भने यो विषयले राष्ट्रिय नीतिमै प्रभाव पारेको पनि देखिएको छ।
डेनिस ट्राभल कम्पनी स्पाइजले ‘डेनमार्कका लागि गरौं' भन्ने प्रचारात्मक प्याकेज ल्याएको थियो। जसमा डेनिस युवा जोडीलाई युरोपका अन्य सहरमा घुम्न जान र देशको जन्मदर बढाउन सहयोग गर्न अपिल नै गरिएको थियो।
‘यसलाई धेरैले सकारात्मक रूपमा लिए,' स्पाइजको माक्रेटिङ विभागकी प्रमुख एभा लन्डग्रेनले भनिन्, ‘केही वर्षयता बढ्दो वृद्धवृद्धाको संख्यालाई लिएर उनीहरूलाई कसरी रेखदेख गर्ने भन्ने विषयले धेरैलाई तनाव दिन थालेको छ।'
यी सबै प्रयासले केही सकारात्मक नतिजा पनि दिन थालेको छ। नयाँ तथ्यांकले अघिल्लो वर्षभन्दा गत वर्ष हजार बच्चा बढी जन्मिएको देखाएको छ। जुन चार वर्षयताकै धेरै हो।