एजेन्सी– दुई महिने जुम्ल्याहा भाइलाई बचाउँन अमेरिकाको फिलाडेल्फियाका एक चार वर्षीय बालकले आफ्नो बोनम्यारो दिने भएका छन् । माइकल पावनल नामका बालकले ग्रानुलोमाटस नामक रोगबाट पीडित भएका भाईहरुलाई बचाउन बोनम्यारो दिने भएका हुन्।
यो रोग प्रति ५ लाख मानिसमा एक जनालाई लाग्ने गर्छ । अमेरिकामा हरेक वर्ष यो रोग लागेका २० बालबालिका जन्मन्छन् । यो रोग वंशाणुगत रुपमा हुने शरीरको रोगप्रतिरोधी क्षमतामा आउने गडबडी हो । यसमा संक्रमणसंग लड्ने सेता रक्तकोषले राम्ररी काम गर्दैन र शरीरमा ब्याक्टेरिया र फंगसले आक्रमण गर्छ।
आगामी ८ मार्चमा जुम्ल्याहा शिशुहरुमा बोनम्यारो प्रत्यारोपण गरिनेछ।
यो रोग लागेपछि एन्टीबायोटिकले नै निको पार्न सकिने सानो खालको संक्रमणले नै ज्यान जान सक्छ। यद्यपि रुघाबाट भने उनीहरुको शरीरले प्रतिरोध गर्न सक्ने बताइन्छ । बच्चाका अभिभावकहरुले गत अक्टोबरमा सन्तानको जन्म भएयता फिलाडेल्फियाको बाल अस्पताल छाडेका छैनन्। किनकि बाहिरी वातावरणमा सम्पर्कमा आउनेबित्तिकै बच्चालाई संक्रमण होला भनेर डराएका छन ।
माइकलका दाजु डोमिनिकलाई पनि यही रोग लागेको थियो । उनलाई पनि शिशु अवस्थामै परिवारबाहेकका मानिसबाट प्रत्यारोपण गरिएको थियो।