एजेन्सी– गलत औषधिका कारण बेलायतमा हरेक वर्ष २२ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको छ । हालै सार्वजनिक एक तथ्यांकअनुसार बेलायतमा बर्सेनि २३ करोड ७० लाखभन्दा बढी यस्ता गल्ती हुने गरेकोमा २२ हजार बिरामीको मृत्यु हुने गरेको पाइएको छ । यो बेलायतको नेशनल हेल्थ सर्भिसको लागतअनुसार १ अर्ब ६० करोड पाउन्ड बराबरको हुन्छ।
गलत औषधिका बारेमा भएको यो पहिलो अनुसन्धान हो । गलत औषधि, उच्च तथा कम डोज तथा खतरनाक रियाक्सन गर्ने औषधिका कारण बिरामीको मृत्यु हुने गरेको जनाइएको छ । बेलायतका स्वास्थ्य तथा सामाजिक सेवा मन्त्री जेरेमी हन्टले रोकथाम गर्न सकिने यस्ता गल्तीहरु खतराको तहमा पुगेको बताएका छन्।
11 संगठनले यसअघि नै औषधिमा गरिने गल्ती विश्वभरकै स्वास्थ्य प्रणालीको हटाउन सकिने खतरा भएको जनाएको थियो।
पछिल्लो तथ्यांक योर्क म्यान्चेस्टर र सेफिल्ड विश्वविद्यालयले एनएचएस र निजी स्वास्थ्य प्रणालीमा गरेको संयुक्त अनुसन्धानबाट पत्ता लागेको हो । अध्ययनका क्रममा हरेक वर्ष अस्पतालमा १ हजार ७ सय मानिसको मृत्यु औषधिमा हुने त्रुटीका कारण हुने गरेको पाइएको थियो । शल्यक्रियामा क्रममा हुने गल्ती र घरैमा हुने उपचार सेवासमेतलाई जोड्दा बर्सेनि २२ हजार ३ सय जनाको मृत्यु हुने गरेको आँकडा अनुसन्धानकर्ताहरुले निकालेका छन् ।
स्वास्थ्य मन्त्री हन्टका अनुसार एनएचएसको प्रणाली र पूरै विश्वमा हुने औषधिको गल्तीको समस्या साोचिएभन्दा निकै बढी छ, जुन रोक्न सकिन्थ्यो ।
अनुसन्धानकर्ताहरुले सन् २००७ र २०१७ को बीचमा औषधिमा हुने गल्तीबारे ३६ वटा अध्ययन गरेका थिए । जसमा २३ करोड ७४ लाख गल्तीहरु भएको पाइएका थिए । जसमा ६ करोड ६० लाख बिरामीमा सामान्य समस्या देखिनेदेखि मृत्युसम्म भएको पाइएको थियो । शल्यक्रियाका क्रममा भएका गल्ती र औषधि पसलेको गल्ती ७१ प्रतिशत भएको पाइएको थियो । स्वास्थ्य मन्त्री हन्टले फार्मासिस्टले गल्ती गरेपनि उनीहरुलाई बचाउनेसम्बन्धी कानुनमा परिवर्तन गरिने जनाएका छन् ।