डोटी जिल्लामा कार्यरत डा जितेन्द्रकुमार सिंहमाथि सांघातिक आक्रमण भएपछि नेपाल चिकित्सक संघले जिल्लामा कार्यरत सबै डाक्टरलाई काठमाडौं बोलाएको छ। संघको आह्वानपछि जिल्लामा कार्यरत सबै डाक्टरले जिल्ला छाडिसकेका छन्। डाक्टरले जिल्ला छाडेपछि बिरामी भने मारमा परेका छन्। संघले डाक्टरलाई सुरक्षाको प्रत्याभूति नभएसम्म डाक्टर फिर्ता नपठाउने बताइरहेको छ। यसै सरोफेरोमा संघका महासचिव डा लोचन कार्कीसँग प्रवीण ढकालले गरेको कुराकानी :
डोटीमा कार्यरत सबै डाक्टरलाई काठमाडौं बोलाउने निर्णयपछि त्यहाँका नागरिक उपचार सेवा पाउनबाट वञ्चित भए नि?
सबैभन्दा पहिला त डाक्टर पनि आम नागरिक नै हो। उसको आत्मसुरक्षाको अधिकार रहन्छ। ऊ सुरक्षित भयो भने न सेवा दिन सक्छ। बन्दुकको नालमा बसेर त कसैले पनि काम गर्न सक्दैन। अहिले डोटीमा त्यही भएको हो।
बिरामीको सेवामा तल्लीन डाक्टरमाथि निर्घात कुटपिट भएको छ। यस्तो अवस्थामा डाक्टरले त्यहाँ कसरी काम गर्न सक्छ? ड्युटीमा खटिएको डाक्टरले बिरामीको हिस्ट्री लिने, जाँच गर्ने, आवश्यक परीक्षण गर्ने, शल्यक्रिया गर्ने लगायतका काम स्वतन्त्र रुपमा गर्न पाउनुपर्छ। तर, कसैले डर देखाएर, तर्साएर अनि थर्काएर बिरामी हेर्न लगायो भने त्यो कतिको न्यायोचित हुन्छ? त्यस्तो अवस्थामा डाक्टरले कसरी उपचार गर्न सक्छ? कसरी शल्यक्रिया गर्न सक्छ? डर र त्रासमा जुन गुणस्तरको उपचार हुनुपर्ने हो त्यो हुँदैन।
बिरामीको उपचार भइरहँदा पनि यताबाट कुट्लान् कि उताबाट कुट्लान् कि, तोडफोड गर्लान् कि भन्ने त्रासमा कसरी काम हुन्छ? डोटीको पछिल्लो घटना हेर्दा डाक्टरलाई क्वाटरभित्र गएर कुटिएको छ। चार-पाँच जनाको समूहले ढोका फोडेर पसेर निर्घात कुटपिट गरिएको छ। यो गम्भीर घटना हो। त्यही भएर डाक्टरको सुरक्षा नभएकैले काठमाडौं बोलाउन बाध्य भएका हौँ।
सुरक्षाको विषयमा तपाईंहरुले प्रशासनसँग माग गर्नुपर्ने होइन र, डाक्टरले नै अस्पताल छोडेपछि उपचार पाउने नागरिकको अधिकार त हनन भयो नि!
यो विषयमा हामी जनतासँग क्षमा माग्छौं। यो हाम्रो चाहना थिएन। जनतालाई दुःख दिने हाम्रो नियत होइन। हामी त दिनरात केही नभनी बिरामीको सेवामा लागिरहेका छौं। तर, बिरामीको सेवामा खटिरहेका डाक्टरमाथि नै हातपात हुने, सुरक्षा नै नहुने भएपछि हामी बाध्य भएका हौँ। देशका दुरदराजमा घर परिवारबाट टाढा रहेर डाक्टरले दिनरात नभनी उपचार सेवा दिइरहेका छन्। तर, उल्टै उनीहरुमाथि नै आक्रमण भइरहेका छन्। यो विषयमा हामी नागरिकलाई पनि डाक्टरहरुलाई साथ दिन आग्रह गर्दछु। केही फटाहा र गलत समूहले डाक्टरमाथि आक्रमण गर्दा समाज पनि चुप बस्नु हुँदैन। उनीहरुले आफ्नो गाउँठाउँमा डाक्टरलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ।
यो घटनापछि अब तपाईंहरुको खास माग के हो त?
अहिले मात्र नभई विगतदेखि नै हाम्रो एउटै माग छ, डाक्टर तथा स्वास्थ्यकर्मीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्छ। यो विषयमा ५ महिनाअघि हामीले सरकारसँग सहमति पनि गरेका थियौँ। चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि २०६६ सालमा बनेको ऐन तथा २०६९ सालको नियमावलीमा संशोधन गर्ने र त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने सहमति भएको थियो। एक महिनाभित्र कार्यान्वन गर्ने भनेको सहमति आजसम्म कार्यान्वयनमा आएको छैन।
सरकारले सहमति कार्यान्वयन नगरेका कारण पनि डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण बढिरहेका हुन्। त्यसकारण अब हाम्रो प्रमुख माग भनेको, पहिला त डोटीमा सुरक्षाको प्रत्याभूति हुनुपर्यो। दोस्रो, यस्ता घटना दोहोरिन नदिन हामीसँग भएका सहमति कार्यान्वयनमा आउनुपर्यो भन्नै नै हो।
एक महिनामा गर्छु भनेको काम ५ महिनासम्म नहुँदा तपाईंहरु किन चुप बसेको त?
हामी चुप लागेर बसेका छैनौँ। हामी निरन्तर सरकारसँग यो विषयमा कुराकानी गरिरहेका छौं। सहमति कार्यान्वयन गर्नुपर्यो भनेर मन्त्रालय र सचिवलाई भेट्न जाँदा जुत्ता फाटिसके तर काम भएन। अहिले डाक्टरमाथि हातपात नै भइसकेपछि हामीले बाध्यतावश उनीहरुलाई सुरक्षित बनाउन बोलाउनुपरेको हो।
जसरी बर्दीमा रहेको प्रहरीमाथि हातपात भयो भने कडा कारबाही हुन्छ, अदालतको विषयमा बोल्यो भने मानहानी लाग्छ; त्यसैगरी सेतो एप्रोन लगाएर ड्युटीमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण तथा अभद्र व्यवहार हुँदा कारबाही गर्ने कानुनको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो। प्रहरी र अदालतमा झैँ स्वास्थ्य क्षेत्रमा पनि समान कानुन ल्याउनुपर्छ। डाक्टर तथा स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई धरौटीमा छाड्नु हुँदैन।
भनेपछि सरकारले सुरक्षाको प्रत्याभूति नगराएसम्म डोटीमा डाक्टर फर्किँदैनन्?
असुरक्षित स्थानमा काम गर्न कसरी जाने? हामीले बोलाएर मात्र उहाँहरु आउनुभएको होइन। उहाँहरुले नै जिल्लामा काम गर्न असुरक्षित भयौँ, काम गर्ने वातावरण भएन, हामी यहाँ बस्न सक्दैनौं भनेपछि बोलाइएको हो। त्यसकारण जबसम्म सरकारले सुरक्षाको ‘ग्यारेन्टी’ गर्दैन र त्यसअनुसारको व्यवस्था गर्दैन तबसम्म हाम्रा डाक्टर साथी डोटीमा फर्कँदैनन्।
डाक्टरहरुबाट चाहिँ गल्ती हुँदैन र?
गल्ती गर्ने डाक्टरलाई सजाय दिनुपर्छ भन्ने हाम्रो पनि माग हो। हामीले संशोधन गर्न भनेको कानुनमा यो कुरा पनि राखिएको छ। कुनै घटना भयो भने तत्कालै छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ। कानुनभन्दा माथि कोही जानु हुँदैन।