विश्वमै सबैभन्दा बढी मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ। तर पनि कृत्रिम पेसमेकर एवं डिफिब्रिलेटर जस्ता चिकित्सा उपकरणको सहायताले लाखौं मुटुरोगीले नयाँ जीवन पाएका छन्। यस्ता उपकरण शरीरभित्र जडान गर्नुका साथै शरीर बाहिरबाटै पनि प्रयोग गर्न सकिन्छ। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले स्वीकृत गरेका उपकरणहरु निम्न छन्।
– अटोमेटेड एक्स्ट्रनल डिफिब्रिलेटर (एइडी) : एइडीले मुटुको गतिलाई जाँची आवश्यकताअनुसार विधुतीय धक्का दिन्छ, जसले अनियन्त्रित भएको मुटुलाई नियन्त्रणमा ल्याउँछ। हरेक पटक विधुतीय धक्का दिँदा एइडीले मुटुको गतिविधिलाई सेकेन्डभन्दा कमको लागि रोकिदिन्छ र भेन्ट्रिकुलर फिब्रिलेसन, पल्सलेस भेन्ट्रिकुलर टेकिकार्डिया जस्ता जोखिमयुक्त मुटुको गतिलाई साधारण गतिमा बदल्छ। एइडी साधारण जो कसैले पनि बुझ्न साथै प्रयोग गर्नसक्ने भएकाले यसलाई आर्टिकलको पछिल्लो भागमा विस्तृत गरिएको छ।
– कार्डियोभास्कुलर एन्जियोप्लास्टी डिभाइस : यो नली लामो, पातलो र लचिलो हुन्छ। यसले साँघुरिएका एवं बन्द भएका रगतका धमनी र शिराहरुलाई खुला गराई मुटुसम्म रक्तसञ्चार पुर्याउने काम गर्छ। यसको मद्दतले छाती दुख्ने एवं हृदयघात हुनबाट बचाउँछ।
– कार्डियाक एबलेसन क्याथेटर : यो नली पनि लामो, पातलो र लचिलो हुन्छ। मुटुमा भएका तन्तुहरु जसले एटिरियल फिब्रिलेसन जस्ता अनियमित गति सिर्जना गर्न सक्छ, त्यसलाई मारेर वा खत बसाएर मुटुको गति अनियन्त्रित हुनबाट बचाउँछ।
– कार्डियाक पेसमेकर : यो एउटा ब्याट्रीले चल्ने उपकरण हो, जुन शरीरमा स्थायी रुपमा राख्न सकिन्छ। यसले प्रायजसो मुटुको गति अनियमित र अत्यधिक कम हुँदा विद्युतीय धड्कनको माध्यमले मुटुलाई साधारण रुपमा धड्किन सहयोग गर्छ। पेसमेकर विशेषगरी जीवनस्तर सजिलो बनाउनका लागि पनि प्रयोग गरिन्छ। जस्तैः मुटुको धड्कन अत्यधिक कम हुँदा मानिसलाई थकाई लाग्ने, श्वास फेर्न गाह्रो हुने, साथै रिंगटा लाग्ने हुन्छ। पेसमेकर मुटुको धड्कन यतिभन्दा कम भए मात्र प्रयोग गर्ने भन्नेगरी मिलाउन मिल्छ। मेओ क्लिनिकका अनुसार बिरामीको अवस्था हेरेर सिंगल च्याम्बर, डुबल च्याम्बर, बाइभेन्ट्रिकुलर पेसमेकर वा कार्डियाक रि–सिंक्रोनाइजेसन थेरापी (सिआरटी) राख्न सकिन्छ।
बाइभेन्ट्रिकुलर पेसमेकर बिरामीको शरीरभित्र (प्रायः देब्रे कलर हड्डीको) ठिक तल छालाभित्र राखिने उपकरण हो। यसले विद्युतीय संकेत देब्रे र दाहिने दुवै भेन्ट्रिकल्समा पठाउँछ र एकै पटक खुम्चिन लगाउँछ, जसले कुशलतापूर्वक मुटुको दाँया भेन्ट्रिकल्सबाट अशुद्ध रगत पल्मोनरी आर्टरी हुँदै फोक्सोमा शुद्ध हुनका लागि जान्छ। साथै बायाँ भेन्ट्रिकल्सबाट शुद्ध रगत एओट्रा (महाधमनी) हुँदै शरीरका विभिन्न अंगमा रक्तसञ्चार पुग्छ। सिआरटी पेसमेकर र इम्प्लानटेबल कार्डियोभर्टर डिफ्रिबिलेटर (आइसिडी) दुवै आवश्यकताअनुसार राख्न सकिन्छ। यसमा पेसमेकरका तारलाई दायाँ एट्रिएम, दायाँ भेन्ट्रिकल र बायाँ भेन्ट्रिकलमा राखिन्छ। यसले गर्दा मुटुले पर्याप्त मात्रामा रक्तसञ्चार पु¥याउन सक्छ। शरीरमा पेसमेकरको मात्र प्रयोग हुँदा बिरामीले खासै केही अनुभव गर्दैन भने आइसिडीको विद्युतीय चार्ज हुँदा बिरामीलाई असहज महसुस हुन्छ। यद्यपित यसले बिरामीलाई तुरुन्त मृत्यु हुनबाट बचाउँछ।
– इम्प्लानटेबल कार्डियोभर्टर डिफ्रिबिलेटर (आइसिडी) : आइसिडीले भेन्ट्रिकुलर टेकिकार्डिया लामो समयसम्म रहिरहँदा एवं भेन्ट्रिकुलर फिब्रिलेसनमा अकस्मात बिरामीको मृत्यु हुनबाट रोक्छ। डरलाग्दो तरिकाले अनियन्त्रित भएको मुटुलाई यसले तुरुन्त साधारण गतिमा ल्याउन मद्दत गर्छ। प्रायः कार्डियाक अरेस्टमा आइसिडी प्रयोग हुन्छ। यो पेसमेकर भन्दा लगभग तीन गुना ठूलो वा सलाईको बट्टा जत्रो र छाम्दा साह्रो हुन्छ।
– प्रोस्थेटिक हार्ट भल्ब : कुनै रोगको कारणले वा जन्मजात नै मुटुको भल्बले राम्रो काम नगरेमा कृत्रिम भल्ब राखेर बिरामीलाई बचाउन सकिन्छ। यो भल्ब मरेका मानिस वा जनावरको तन्तु निकालेर साथै मानव निर्मित सामग्रीबाट पनि बनाउन सकिन्छ। प्रायः यस्ता कृत्रिम हार्ट भल्ब राखिएका बिरामीलाई रगत पातलो हुने औषधि जस्तैः वारफारिन जीवनभरिका लागि दिइन्छ, जसले रगत जम्नबाट बचाउँछ।
– स्टेन्ट : यो जाली आकारको सानो धातुले बनाएको नली हो। स्टेन्टलाई रक्तसञ्चार अवरुद्ध भएका रगतका धमनी वा शिराबाट पठाई रक्तसञ्चार प्रभावकारी बनाउन सकिन्छ। यस्ता बिरामीलाई प्लेटलेट्स एकआपसमा टाँसिई जम्मा हुनबाट रोक्ने औषधि जस्तैः प्लाभेक्स, एस्पिरिन दिइन्छ, जसले रगत जम्न रोकी स्ट्रोक, हृदयघात हुनबाट बचाउँछ।
– भेन्ट्रिकुलर एसिस्ट डिभाइस (भिएडी) : यसलाई ब्रिज टु हार्ट ट्रान्सप्लान्ट पनि भनिन्छ। यो प्रायः पेटको माथिपट्टि राखिन्छ। यो उपकरणमा जडान गरिएको नलीले देब्रे भेन्ट्रिकलको रगतलाई एओट्रातिर लैजान मद्दत गर्छ। कुनै बिरामीको भेन्ट्रिकलले काम नगरेर मुटु प्रत्यारोपण कुरेर बसिरहेका छन् वा मुटु प्रत्यारोपण सम्भव नै छैन भने भिएडीको मद्दतले कमजोर भएको भेन्ट्रिकललाई सहायता गरी जीवन अलि सहज रुपमा लम्ब्याउन मद्दत गर्छ।
माथिका उपकरणमध्ये एइडी अत्यन्त सुरक्षित, प्रयोग गर्न सजिलो साथै सही पनि छ। यदि कुनै पनि व्यक्ति कार्डियाक अरेस्ट वा हृदयघात भएर बेहोस भएमा कार्डियोपल्मोनरी रिसससिटेसन (सिपिआर) सँगसँगै एइडीको प्रयोग गर्न सके बचाउने सम्भावना निकै बढी हुन्छ। एइडीको प्रयोगपछि मुटुको गति संगठित गतिमा गयो भने मुटुका मांसपेसीहरु खुम्चिएर रगत सञ्चालन सूचारु हुन्छ। रक्तसञ्चार पुनः कायम हुनुका साथै मुटुको धड्कन छाम्दा भेटियो भने रिटर्न अफ स्पोंनटेनियस सर्कुलेसन (आरओएससी) भयो भन्ने बुझिन्छ।
एइडीको बनावट हेर्दा छुट्टै–छुट्टै देखिए तापनि काम एउटै हुन्छ। आफूले काम गर्ने संस्थामा भएको एइडीको बनावट जान्नु जरुरी हुन्छ। नेपालका सार्वजनिक स्थलमा एइडी खासै उपलब्ध नभए पनि स्वास्थ्यकर्मीलगायत सबैले यसको जानकारी लिएमा एइडी उपलब्ध हुनासाथ नहिच्किचाई प्रयोग गर्न सकिन्छ। एइडी भनेको डिफिब्रिलेटरको एउटा प्रकार हो, जुन बाहिरबाट प्रयोग गर्ने डिफिब्रिलेटरमा पर्छ। अस्पतालमा भेन्ट्रिकुलर फिब्रिलेसन (भिफिब) का बिरामीलाई डिफिब्रिलेटर (डिफिब) गरिन्छ भने बिरामीको अवस्था हेरेर म्यानुवोल मोडमा आवश्यक इनर्जी डायल गर्दै दिइन्छ। म्यानुवोल डिफब्रिलेटर भने तालिमप्राप्त स्वास्थकर्मीले मात्र प्रयोग गर्न सक्छन्।
एइडी प्रयोग गर्ने विश्वव्यापी चरणहरु
१. एइडी खोल्ने : कुनै एइडीमा अन बटन थिचेपछि मात्र पाओर अन हुन्छ भने कुनैमा बिर्को खोल्दा आफैं अन हुन्छ। अब एइडीले दिएको निर्देशनअनुसार गर्दै जाने।
२. प्याड लगाउने : घाइतेको छातीमा एइडीको प्याड लगाउनुअघि ध्यान दिनुपर्ने कुराहरु–
क. एइडी बाकसभित्र बच्चा र वयस्कलाई छुट्टाछुट्टै प्याड हुन्छ। आठ वर्षभन्दा माथिका सबैलाई वयस्कको प्याड प्रयोग गर्ने। आठ वर्षभन्दा तलका वा शिशुलाई बच्चाको चित्र भएको सानो प्याड प्रयोग गर्ने। यदि बच्चाको प्याड नभएमा वयस्ककै प्याड प्रयोग गर्ने। तर, वयस्कहरुमा भने साना बच्चाको प्याड प्रयोग गर्नुभन्दा उच्च गुणस्तरको सिपिआरमा केन्द्रित हुने किनकि साना बच्चाको प्याडले पर्याप्त धक्का दिन सक्दैन र डिफिब्रिलेटरको खासै फाइदा हुँदैन।
ख. प्रत्येक प्याडमा जेल बचाउनका लागि पछाडिपट्टि प्लास्टिकले छोपेको हुन्छ। बाहिरको प्लास्टिकलाई निकाली प्याडको चित्रमा देखाएअनुसार नै घाइतेको शरीरमा जेलपट्टिको भाग टाँस्ने। एक प्याड दाहिने कलर हड्डीको ठिक तल र अर्को प्याड देब्रे स्तनको किनारमा प्याडको माथिपट्टिको भाग काखीभन्दा तल पर्नेगरी टाँस्ने। यदि घाइतेको दाहिनेतिर प्याड राख्न सम्भव नभए पछाडि ढाडमा देब्रेतिर मेरुदन्डभन्दा अलि पर राख्ने। त्यस्तैगरी साना बच्चामा एक प्याडले अर्को प्याडलाई छोप्न गएमा मुटुलाई दुई प्याडको बीचमा पर्नेगरी एक प्याड छातीमा र अर्को पछाडि ढाडमा टाँस्ने।
ग. कुनै व्यक्तिको धेरै रौँ भएका कारण प्याड छालामा राम्रोसँग टाँसिएन भने एइडीले मुटुको गति विश्लेषण गर्न सक्दैन। एइडीले यस्तो अवस्थामा ‘चेक इलेक्ट्रोड्स’ भनिरहेको हुन्छ। प्रायः एइडीमा रेजर साथै दुई–दुई सेट प्याड हुन्छ। त्यसैले कि त छिटोछिटो रेजरले रौँ फालेर मात्र प्याड लगाउने। अन्यथा एक जोडी प्याड रौँ फाल्नका लागि प्रयोग गर्ने र अर्को विद्युतीय धक्का दिनका लागि।
घ. घाइते पौडी खेल्ने ठाउँ वा पानीभित्र भए बाहिर निकालेर छाती सुक्खा गर्ने, अन्यथा पानी विद्युतीय सुचालक भएकाले धक्का राम्रोसँग पुग्दैन।
ङ. घाइते हिउँको थुप्रोमा भए पनि प्याड टाँस्ने भाग सुख्खा भएमा एइडीको प्रयोग गर्न सकिन्छ।
च. घाइतेको शरीरमा पेसमेकर साथै इम्प्लान्टेबल डिफिब्रिलेटर भए त्यो ठाउँमा प्याड नराखी अलि पर राख्ने। यस्ता उपकरणहरुले मुटुमा धक्का जान रोकिदिन्छन्।
छ. औषधिका प्याचहरु भए तुरुन्त निकाल्ने र कुनै कपडाले पुछ्ने। यस्ता प्याचमाथि एइडीको प्याड राख्दा धक्का मुटुसम्म पु¥याउन रोकिदिन्छ, साथै छाला नै डढाउन पनि सक्छ। प्रायःजसो नदुख्ने औषधि, निकोटिन, नाइट्रो एवं हर्मोन प्रतिस्थापनका प्याचहरु देखिन्छन्।
अब एइडी केबललाई मेसिनमा जोड्ने। कुनै एइडीमा पहिले नै केवल जोडिएको हुन्छ।
३. मुटुको गति विश्लेषण (एनालाइज) गर्ने : यतिबेला घाइतेलाई कसैले पनि छुनु हुँदैन। एइडीले घाइतेको मुटुको गति विश्लेषण गर्दा कसैले घाइतेलाई कुनै भागमा छोएमा ठिकसँग विश्लेषण हुँदैन, साथै विद्युतीय धक्का (सक) दिँदा छोएमा, त्यो छुने व्यक्तिलाई पनि धक्का लाग्छ र घाइतेले सही तरिकाले धक्का पाउँदैन। एइडी विश्लेषण गर्दा क्लियर वा सबै जना क्लियर भनेर चर्कोसँग भन्ने। साथै क्लियर भए÷नभएको हेर्ने। मुटुको गति विश्लेषण गर्न केही सेकेन्ड लाग्छ। यदि सक नचाहिए तुरुन्तै सिपिआर सुरु गर्ने।
४. सक दिने : यदि विद्युतीय धक्का चाहिने भयो भने एइडीले ‘प्रेस द सक बटन टु डेलिभर सक’ भन्छ। सक बटन दबाउनुअघि फेरि ‘क्लियर द भिक्टिम’ भन्छ। यतिबेला पनि कसैले घाइतेलाई छोएको हुनुहुँदैन। अब सक बटन थिच्ने। विद्युतीय धक्काले अकस्मात घाइतेको मांसपेसीमा हलचल ल्याउँछ। पूरै शरीर हल्लिएर खुम्चिएजस्तो देखिन्छ। सक दिएपछि तुरुन्त उच्च गुणस्तरको सिपिआर सुरु गर्ने। हरेक दुई मिनेट वा ५ पटक (३० पटक छाती थिच्ने, २ पटक कृत्रिम श्वास दिने) सिपिआर दिएपछि एइडीले आफैं मुटुको चाल विश्लेषण गर्छ र माथिको चक्र दोहोरिन्छ।
जोकसैले पनि एइडी भेट्नेवित्तिक्कै प्रयोग गर्न नहिच्किचाउनुहोस्। शिशुका लागि हातले मिलाउने (म्यानुवोल) डिफिब्रिलेटरलाई प्राथमिकता दिइन्छ, जसमा उच्चस्तरको तालिम लिएका स्वास्थ्यकर्मीले शिशुको अवस्था हेरेर धेरै–थोरै विद्युतीय धक्का मिलाएर दिन सक्छन्। डिफिब्रिलेटर एइडी मोडमा भने धक्काको चाप मिलाउन सकिँदैन। यदि म्यानुवोल डिफिब्रिलेटर उपलब्ध छैन भने बच्चाको प्याड र केबल प्रयोग गरी बच्चाहरुमा पनि एइडीको प्रयोग गर्न सकिन्छ। त्यो पनि नभए मात्र वयस्कलाई प्रयोग गर्ने प्याड र केबलको प्रयोग गर्ने। यो एइडीको प्रयोग र सिपिआर घाइते बोल्न, चल्न वा कुनै जीवनको संकेत नदिँदासम्म वा एम्बुलेन्स सेवाको टोली नआउने बेलासम्म गरिरहने।
(सुवेदी अमेरिकन हार्ट एसोसिएसनकी प्रशिक्षक हुन्)