काठमाडौं- शताब्दी लामो इतिहास बोकेको पुरानो अस्पताल वीरले पछिल्ला दिनमा आफ्नो सेवालाई गुणस्तरीय र अत्याधुनिक तरिकाले विस्तार गर्दै लगेको छ।
वीरको युरोलोजी विभागमा विश्वका अत्याधुनिक अस्पतालमा प्रयोग हुने नयाँ मेसिनहरु भित्रिइरहेका छन्। युरोसम्बन्धी सबैखाले उपचार र शल्यक्रिया अत्याधुनिक प्रविधिबाट हुने भएकाले बिरामीका लागि समयको बचत हुने गरेको छ भने खर्च पनि निकै कम।
उपकरण अभावमा पहिले उपचारमा समस्या आउने गरे पनि अब युरोलोजीका बिरामीलाई उपचार अभावमै फर्कनु नपर्ने भएको छ।
धेरै अस्पतालमा युरोलोजीलाई सर्जिकल विभाग अन्तर्गत राखिएको भए पनि वीरमा यसको छुट्टै विभाग छ। उक्त विभाग अन्तर्गत बहिरंग सेवा, विभिन्न पत्थरी, मिर्गौला, पिसाब थैली, प्रोस्टेट लगायतको शल्यक्रिया अत्याधुनिक उपकरणमार्फत भइरहेका छन्। यहाँ सातामा एउटा मिर्गौलाको प्रत्यारोपण सेवा पनि सञ्चालन हुँदै आएको छ।
अस्पतालले ६ महिनाअघि नै युरोलोजी विभागमा विभिन्न अत्याधुनिक उपकरण ल्याई उपचार सुरु थालिसकेको छ।
उपकरण र प्रविधिको अभावमा दुई वर्षअघि यो विभागमा दिनको ३०-४० जना बिरामीले बहिरंग विभागमा सेवा लिने गरेकोमा अहिले पाँच गुणा बढी बिरामी दैनिक ओपिडी जाँच गराउँदै आएका छन्।
यहाँ हुने शल्यक्रियामध्ये सबैभन्दा बढी युरोलोजीसँग सम्बन्धित बिरामीले गराउने गरेका छन्। जुन सम्पूर्ण शल्यक्रियाको ४२ प्रतिशत हो। यसमा पनि सबैभन्दा धेरै पत्थरीसँग सम्बन्धित बिरामीको शल्यक्रिया हुँदै आएको छ। तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले अस्पताललाई आधुनिकिकरण गर्न माग गरेअनुरुप बजेट उपलब्ध गराएका थिए।
वीरले भित्र्याएका अत्याधुनिक उपकरण
युरोडायनामिक्स मेसिन : अस्पतालमा आइसकेको यो अत्याधुनिक मेसिनको इन्स्टल गर्न मात्र बाँकी छ। यो मेसिन नेपालका धेरै अस्पतालमा उपलब्ध छैन। यो मेसिनले पिसाबथैली र नलीको अवस्थाबारे पत्ता लगाउँछ। के कारण पिसाब रोकिएको हो वा पिसाबको धारा कम हुनुको कारण पत्ता लगाउन पनि यो मेसिन प्रभावकारी छ।
रेट्रोग्रेड इन्टर्नल सर्जरी (आरआइआरएस) : वीरमा यो नयाँ प्रविधि हो। यो मेसिनले पिसाबको बाटोबाट गई प्वाल नपारीकन मिर्गौलामा भएको पत्थरीलाई लेजरको माध्यमबाट फुटाएर निकाल्छ। यो सेवा अस्पतालले सुरु गरिसकेको छ। निजी अस्पतालमा यो प्रविधिबाट शल्यक्रिया गराउँदा डेढ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ तर वीरमा २० हजार रुपैयाँमै सम्भव हुन्छ।
अस्पतालले यो सेवा सुरु गरेको ६ महिना भयो। यस अवधिमा १५० आरआइआरएस भइसकेका छन्।
होलमियम लेजर इन्युक्लियसन अफ प्रोस्टेट (होललेप) : यो प्रविधिले लेजरको माध्यमबाट प्रोस्टेट निकाल्न सहयोग पुर्याउँछ। अस्पतालले प्रोस्टेट खुर्केर फाल्ने गर्दै आएकोमा यो प्रविधि भित्रिएपछि भने निकै सहज भएको छ। होललेप गरेपछि दुई दिनमै बिरामी डिस्चार्ज हुन सक्छन् र सामान्य काममा फर्कँदा असर हुँदैन।
यो प्रविधि अपनाउँदा बिरामीलाई रगतको अभाव होला कि भन्ने चिन्ता हटेको छ। मेसिन अस्पतालमा आइसके पनि यो इन्स्टल गर्न भने बाँकी छ।
लेजर : यो प्रविधिलाई पत्थरी फुटाउन प्रयोग गरिन्छ। अहिले ३० र १२० वाटको लेजर अस्पतालमा आएको छ। १२० वाट चाँहि होललेपका लागि प्रयोग हुन्छ। यी दुवै प्रविधि अस्पतालमा आइसकेका छन्।
ल्याप्रोस्कोपिक सर्जरी : यो सेवा सुरु भएको ६ महिना भयो। यसबाट प्वाल पारेर मिर्गौला झिक्ने, नलीको क्यान्सर भएमा मिर्गौला, नली र पिसाब थैलीसम्म निकाल्न सकिन्छ। अहिलेसम्म यही प्रविधिबाट ५० वटा शल्यक्रिया भइसकेका छन्।
एक्स्ट्रा कर्पोरल शकवेभ लिथोट्रिप्सी (इइसडब्लुएल) : शरीरमा प्वाल नपारीकन बाहिरबाटै पत्थरी फुटाएर धुलो बनाई पिसाबको माध्यमबाट निकाल्ने प्रविधि हो यो।
अस्पतालले दुई महिनाभित्र यो मेसिन ल्याउने तयारी गरेको छ। यसको विशेषता भनेको पत्थरी निकाल्न शरीरमा प्वाल पारिरहनु पर्दैन।
शक पल्स : पत्थरी फुटाउन पहिले प्वाल पारेर हावा र पानीको बल लगाउने गरिन्थ्यो। अब भने अल्ट्रासाउन्डको माध्यमबाट प्वालबाट ढुंगा फुटाएर धुलो पारिन्छ, जसलाई यो मेसिनले झिक्ने गरिन्छ। यसले गर्दा संक्रमण हुने खतरा निकै कम भई उपचारको गुणस्तरीयता बढ्छ। अस्पतालमा यो सेवा सुरु भइसकेको छ।
थन्डर बिट : यो मेसिनको प्रयोगपछि शल्यक्रिया निकै छिटो हुने गरेको छ। अस्पतालमा यो सेवा दुई महिनाअघि सुरु भएको हो।
वीरमा दुई वर्षदेखि युरोलोजीकै अल्ट्रासाउन्ड मेसिन छ। जसका कारण युरोका बिरामीलाई अल्ट्रासाउन्ड गर्न रेडियोलोजीमा लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ।
प्रोस्टेट क्यान्सरको शंका लागेका बिरामीले बायोप्सी लिने गर्छन्। जसलाई ट्रस गाइडेड बायोप्सी भनिन्छ। यो सुविधा धेरै ठाँउमा छैन। वीरमा यो सेवा सुरु भएको तीन वर्ष भयो।
(वीर अस्पतालको युरोलोजी विभाग प्रमुख डा पारसमणि श्रेष्ठ र सोही विभागका डा रोबिन बहादुर बस्नेतसँग गरिएको कुराकानीमा आधारित)