टेक्सास- औषधि खरिद गर्न नसक्दा अमेरिकामा एक शिक्षिकाको मृत्यु भएको छ। मौसमी फ्लुको लागि प्रयोग हुने ‘फर्गो एन्टी–भाइरल’ औषधि मंहगो भएका कारण शिक्षिकाको मृत्यु भएको उनका श्रीमानले बताएका छन्।
टेक्सासस्थित वेदरफोर्ड इनडिपेन्डेन्ट स्कुलमा अध्यापन गर्ने ३८ वर्षिय हेथर होल्यान्डको आइतबार मृत्यु भएको थियो। उनी आफ्ना २ सन्तान र श्रीमान फ्र्यांक हल्यान्डसँगै बस्दै आएकी थिइन्।
अस्पताल जानुअघि फ्र्यांकले १ सय १६ अमेरिकी डलरमा ‘तमिफ्लु’ औषधि खरिद गरेर खुवाएका थिए। तर केहि समयको अन्तरालमै उनको अस्पतालमा मृत्यु भएको हो।
चिकित्सकहरुले यसपटकको फ्लुलाई अमेरिकी इतिहासकै एक घातक फ्लुको संज्ञा दिएका छन्।
‘सुरुवातमा उनको घाँटीमा घ्यारघ्यार आवाज आएको थियो।’, फ्र्यांकले भने, ‘तर करिब एक सातामा उनको अवस्था झन सिथील हुँदै गयो।’
चिकित्सकले औषधि लेखिदिएको तर औषधि महंगो भएर किन्न नसकेपछि उनले सेवन नगरेकी मृतकका श्राीमान् फ्र्यांकको भनाई उदृत गर्दै वाल स्टे्रट जर्नलले लेखेको छ।
मृतक शिक्षिकाका श्रीमान् फ्र्यांकले उनी कम खर्च गर्ने स्वाभावकी रहेको बताएको वेदरफोर्ड डेमोक्रयाट पत्रिकाले जनाएको छ।
फ्र्यांकका अनुसार उनलाई उपचारका लागि शनिबार अस्पताल ल्याइएको तर उनको आइतबार मृत्यु भएको थियो।
होल्यान्ड कार्यरत विद्यालय वेदरफोर्ड इनडिपेन्डेन्ट स्कुलले उनको मृत्युप्रति शोक मनाउँदै विद्यालयलाई गहिरो क्षति पुगेको बताएको छ।
यस वर्षको मौसमी फ्लु घातक भएको र बालबालिकामा चाँडै संक्रमण हुने बताउँदै टेक्सासस्थित क्षेत्रिय स्वास्थ्य कार्यालयले फ्लु पूर्णरुपमा नियन्त्रणमा नआउँदासम्म सबै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ।
अमेरिकामा वषेर्नी १२ देखि ५६ हजारसम्म मानिस फ्लुकै कारण मृत्यु हुने तथ्यांक छ। यस वर्ष सो संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
सरकारी अधिकारीहरुले सबै अमेरिकी नागरीकहरुलाई फ्लुवद्र्धक खोप लगाउन अनुरोध गरेको छ।