एजेन्सी– ‘डाइ मिथालिन ब्लु’ नामक पद्धतिको माध्यमबाट मलेरिया पूर्ण रुपमा निको पार्न सकिने एक अध्ययनले देखाएको छ । यो पद्धति मानवमा प्रयोग पनि पूर्ण रुपमा सुरक्षित रहेको जनाइएको छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको र्याडबुड युनिभर्सिटी मेडिकल सेन्टर र मलेरिया रिसर्च एण्ड ट्रेनिङ सेन्टरका वैज्ञानिकहरुले अफ्रिकी मुलुक मालीमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । यसअनुसार मलेरियाका बिरामीलाई ब्लु डाई र आर्टेमिसिनिनको संयुक्त थेरापीको मद्धतले उपचार गरिएको थियो । २ दिनभित्र बिरामी पूर्ण रुपमा निको भएको र लामुखुट्टेले पुनः टोकेपनि तिनीहरुबाट मलेरियाका परजीवी नसरेको वैज्ञानिकहरुले जनाएका छन् ।
यो अध्ययनको नतिजा यसैसाता ‘दि लान्सेट इन्फेक्सियस डिजिज’ नामक जर्नलमा प्रकाशित हुँदैंछ । यो सफलतालाई मलेरियाको उपचारमा ऐतिहासिक मानिएको छ ।
मलेरियाका जीवाणुले अहिले चलाइदैं आएको औषधीको प्रतिरोधात्मक क्षमता विकास गरिसकेका छन् । यसले गर्दा ती औषधीले मलेरिया नियन्त्रण गर्न सकिरहेका छैनन् । यसको अर्थ के हो भने उपचार सफलतापूर्वक भएपनि उक्त बिरामीलाई लामखुट्टेले टोक्दा मलेरियाका जीवाणु अर्को व्यक्तिमा सर्न सक्छ । मलेरियाका परजीवीहरु मानिसको रगतमा लामो समयसम्म बस्न सक्छन् र तिनीहरु ‘जेमेटोसाइट्स’ मा विभाजित हुन्छन् । जब कुनै लामखुट्टले बिरामीको रगत चुस्छ, त्यही जेमेटोसाइट्स भएको रगत चुस्छ र अर्को मानिसलाई गएर टोक्नेबित्तिकै मलेरियाका परजीवी अर्को व्यक्तिको रगतमा प्रवेश गर्छन् ।
‘ब्लु डाई’ पद्धतिबाट उपचार गर्दा अनुसन्धानकर्ताहरुले यस्ता परजीवी सर्नबाट २ दिनमै रोक्न सकिने पत्ता लगाएका हुन् । ब्लु डाईको नकारात्मक असर भने हुन्छ । र्याडबुड मेडिकल सेन्टरका मुख्य अनुसन्धानकर्ता टिन बुसेमा भन्छन्, ‘मैले आफैंलाई प्रयोग गरेको हुँ, ब्लु डाईले पिसाबलाई चम्किलो निलो बनाइदिन्छ ।’ यसबारे मानिसलाई जानकारी दिनु आवश्यक भएपनि स्वास्थ्यका लागि खतरनाक भने नभएको अनुसन्धानकर्ताको भनाई छ ।
11 संगठनका अनुसार हरेक वर्ष २ करोड १२ लाख मानिसहरु मलेरियाबाट प्रभावित हुने गरेका छन् भने ४ लाख २९ हजारको मृत्यु हुने गरेको छ । अफ्रिकी मुलुकमा मलेरियाबाट मर्नेमा धेरै बालबालिका हुने गरेका छन् । विगत एक दशकमा लामखुट्टेविरुद्धको विषादी र झुल प्रयोग गर्दा मृत्युदरमा आधा कमी आएको छ ।
निलो पिसाब आउने समस्या हटाउने हो भने ब्लु डाई पद्धतिले मलेरिया नियन्त्रणमा सघाउने वैज्ञानिकहरुको भनाई छ । साइन्सअलर्टबाट