रुपन्देहीको बुटवलमा लुम्बिनी अञ्चल अस्पताल, आम्दा अस्पताल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगायतका स्वास्थ्य संस्थाका कारण आसपासका करिब १५ जिल्लाका बिरामीले सेवा पाउँदै आएका छन् । बुटवलमा 4, ल्याब, हेल्थ असिस्टेन्ट, सिएमए जस्ता विषयको अध्ययन गराउन ९ वटा कलेज सञ्चालनमा छन् । बुटवल उपमहानगरपालिका स्वास्थ्य र शिक्षाका लागि प्रदेश ५ कै मुख्य केन्द्रका रुपमा छ । स्थानीय तहको निर्वाचनपछि अब स्वास्थ्य सम्बन्धी धेरै काम उपमहानगरपालिकाले नै गर्नुपर्ने हुन्छ। बुटवलमा स्वास्थ्य सेवाको विकास, विस्तार र पहुँचका लागि के–कस्ता काम भइरहेका छन् भनेर उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसँग चन्द्रकान्त खनालले गरेको कुराकानी गरेका छन् ।
बुटवलमा स्वास्थ्यसँग सम्बन्धित कामहरु के–के गरिरहनु भएको छ ?
बुटवलमा स्वास्थ्य संस्थाहरुको स्थापना, स्तरवृद्धि, आवश्यक स्रोत साधनको व्यवस्था, गुणस्तरीय सेवा प्रदानका साथै स्वच्छ वातावरण, सरसफाई र फोहरमैला व्यवस्थापनमा उपमहानगरपालिकाले ध्यान दिएको छ । नगरक्षेत्रको फोहरमैलाको व्यवस्थापनका लागि थप साधन–स्रोत र जनशक्तिको व्यवस्था मिलाइएको छ ।
उपमहानगरको फोहरलाई सघन फोहर, मध्य फोहर र न्यून फोहर गरी तीन प्रकारले व्यवस्थित गर्नेगरी काम सुरु भएको छ । सघन फोहरलाई नगरबासीको सहयोगमा शुल्क लिएर व्यवस्थापन गरेका छौं । मध्य फोहोरका लागि हप्तामा २ दिन घरघरबाट जम्मा गरी तिनाउ खोलमा अस्थायी रुपमा व्यवस्थापन गरिएको छ । न्यून फोहोरलाई हप्ताको १ दिन उठाउने र सड्ने फोहोरलाई मलका रुपमा प्रयोग गर्ने तथा नसड्नेलाई नगरपालिकाले उठाउने व्यवस्था मिलाइएको छ ।
बुटबलमा स्थायी फोहर व्यवस्थापन केन्द्र नभएकाले एसियाली विकास बैंकको सहयोगमा बुटबल उपमहानगरपालिका र देवदह नगरपालिकाको बीचमा पर्ने ठाउँमा स्थायी ‘ल्यान्डफिल्ड साइड’ बनाउने योजना अघि बढेको छ ।
उपमहानगरपालिकाका सडक वरिपरि हरियाली बनाउने अभियान पनि थालिएको छ । त्यस्तै, एक घर दुई बिरुवाको अवधारणामा पनि काम भइरहेको छ । फोहरमैला, खानेपानी र सडकको धुलो व्यवस्थापनाका लागि नयाँ योजना अघि बढाएको छु ।
नगरका सबैको सहयोगमा सरसफाइका लागि मुख्य क्षेत्रमा डस्टबिन राख्ने, प्रदूषण घटाउने र खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गरेर नगरबासीलाई स्वस्थ बनाउन पहल गर्ने योजना छ ।
त्यसैगरी, बुटबल बेलहिया ६ लेन सडकको ग्रिनबेल्टमा विभिन्न संघ–संस्थासँग सहकार्य गरेर वृक्षारोपण गरी मुख्य सहर क्षेत्रमा हरियाली बढाउन लागिपरेका छौं । नगर क्षेत्रमा रहेका विभिन्न सडकको मर्मतसंहार, स्तरोन्नति र कालोपत्रे गरेर सहरी क्षेत्रलाई क्रमशः धुलोमुक्त गराउने योजना अगाडि बढाएको छु ।
विगतमा बुटबलमा फैलिने डेंगुलाई फेरि फैलिन नदिन अहिलेदेखि नै कार्यक्रम अघि बढाएको छु । पानीजन्य रोग लाग्न नदिन पहल सुरु गरेको छु । उपमहानगरपालिकाभित्र पानीका २ थरी पाइपको व्यवस्था मिलाउने प्रयन्त सुरु भएको छ । एउटा पाइप खानेपानीका लागि मात्र र अर्काे घरमा आवश्यक अन्य कामका लागि व्यवस्था मिलाउनेगरी योजना अघि सारेको छु ।
बुटबल उपमहानगरले स्वास्थ्यका क्षेत्रमा तत्काल र दीर्घकालीन के–के योजना ल्याएको छ ?
सहरी क्षेत्रका बासिन्दालाई सहज रुपमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले हामीले ५ वर्षीय र २५ वर्षीय योजना बनाउँदै छौं । ५ वर्षको अध्यावधिक र २५ वर्षको दीर्घकालीन योजनाले बुटबल उपमहानगरपालिकालाई प्रदेश ५ को स्वास्थ्य सेवाका लागि केन्द्रका रुपमा स्थापित गर्नेछ भन्ने विश्वास छ ।
उपमहानगरपालिकाका थप २ वडालाई आधार मानेर बर्थिङ सेन्टर बनाउने तयारीमा छौं । वडामा सहरी स्वास्थ्य केन्द्रहरु व्यवस्थित बनाउँदैछौं । सहरी स्वास्थ्य केन्द्रका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति र बजेटको व्यवस्था मिलाएका छौं ।
हामीले रोग पहिचाहनका लागि घरघरमा गएर जेष्ठ नागरिकको परीक्षण गर्ने अनि ४० वर्षमाथिका नागरिकलाई स्वास्थ्य संस्थामा मधुमेह र रक्तचापको निःशुल्क जाँच गर्ने व्यवस्था मिलाएका छौं । सेमलार स्वास्थ्य चौकीले यो सेवा सुरु गरिसकेको छ भने अन्यत्र पनि केही समयमै सेवा सुरु हुन्छ । नगर क्षेत्रमा अव्यवस्थित 18का कारण नसर्ने रोगहरु (उच्च रक्तचाप, मधुमेह, क्यान्सर आदि) बढ्दै गएका छन् । त्यसको रोकथामका लागि नगरबासीलाई स्वस्थ 18 (आहार, बिहार, व्यवहार, विचार) बारे जानकारी दिन कार्यक्रम बनाइएको छ ।
यसै वर्ष मोतिपुर स्वास्थ्य चौकी र लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा उपमहानगरपालिकाले ल्याब सेवा सञ्चालन गर्न लागेको छ । सरकारी स्तरबाट सञ्चालित लुम्बिनी अञ्चल अस्पतालको भौतिक पूर्वाधारमा सुधार र नयाँ पूर्वाधार निर्माणका लागि पहल भइरहेको छ ।
गर्भवती चेकजाँचका साथै बाल तथा मातृ मृत्युदर कम गर्न विभिन्न संघसंस्थासँग सहकार्य गरेर अघि बढेका छौं । बुटवल उपमहानगरपालिकामा कार्यरत (१ सय ७४ जना) महिला स्वास्थ स्वयंसेविकालाई प्रोत्साहित गर्न सञ्चार र यातायात खर्च स्वरुप मासिक ४ सय रुपैयाँ प्रदान गरिरहेका छौं ।
बुटवल उपमहानगरभित्रका निजी अस्पताल र स्वास्थ्य संस्थाको व्यवस्थापन कसरी गर्दै हुनु हुन्छ ? निजी अस्पताल मापदण्ड विपरीत छन् भनिन्छ नि ?
बुटबलमा भएका निजी स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन निर्देशिका तयार गरिरहेका छौं । उपमहानगरले स्वास्थ्य क्षेत्रमा भएका विकृति हटाउन र सर्वसाधरणले सहजै स्वास्थ्य सेवा पाउने वातावरण बनाउन कुनै कसुर बाँकी नराखी काम गर्नेछु ।
निजी अस्पताल तथा स्वास्थ्य संस्थासँग सहकार्य गरेर उनीहरुलाई थप सेवामूलक, व्यावसायिक र मर्यादित बनाउनेतर्फ काम गर्नेछु। अनुगमनलाई प्रभावकारी बनाएर मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई निश्चित समय दिएर मापदण्ड पूरा गर्न लगाउँछौं । मापदण्ड पूरा नगरे कारबाही गर्नेछौं ।
निजी अस्पतालले अनेकौं बहानामा बिरामीसँग चर्काे शुल्क लिने र बिरामी ठग्नेजस्ता कामलाई तत्काल रोक्नुपर्छ । हामी त्यस्ता विकृति रोक्न हरदम लागिपर्नेछौं । सचेत नागरिकले त्यसमा सहयोग गरिदिनुपर्छ । सकेसम्म त्यस्ता ठाउँमा नजान मेरो आग्रह छ । बुटबलमा निजी स्वास्थ्य संस्थाहरुमा अहिलेसम्म भएका विकृति अन्त्य गर्ने योजना अघि सारेको छु ।
सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि समेत पाइँदैन भन्ने गुनासो हुनेगर्छ नि ? स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई मातहतका स्वास्थ्य संस्था जिम्मा लगाइसकेको अवस्था छ । अब औषधि नपाउने, स्वास्थ्यकर्मी नहुने जस्ता समस्या कसरी सम्बोधन हुन्छ ?
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले बुटबल उपमहानगरभित्रका सेमलार र मोतिपुर स्वास्थ्य चौकी र ५ वटा सहरी स्वास्थ्य केन्द्र हस्तान्तरण गरिसकेको छ । ती कुनै पनि स्वास्थ्य संस्थामा नेपाल सरकारबाट निःशुल्क वितरण गर्नुपर्ने औषधिको अभाव छैन । र, हामीले औषधि नियमित उपलब्ध होस् भनी आवश्यक बजेटको व्यवस्था गरेका छौं।
स्वास्थ्यकर्मी र साधन–स्रोतको अभावका कारण नगरबासीले आधारभूत स्वास्थ्य सुविधा नपाउने अवस्था अब हुनेछैन। बिरामीले औषधि र स्वास्थ्यकर्मीको अभाव महसुस गर्न पाउनेछैनन्। स्थानीय नगर सरकारले कुनै पनि बिरामीले स्वास्थ्यकर्मी र औषधिको अभावमा अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्नेछ । बुटवलमा रहेका कुनै पनि संस्थामा स्वास्थ्यकर्मीको अभाव रहनेछैन । स्वास्थ्य विज्ञको व्यवस्था गरी नगरभित्रका स्वास्थ्य संस्थाको अनुगमन, निरीक्षण र आवश्यक औषधि, जनशक्तिको व्यवस्था मिलाउने गरी काम गरेका छौं। अहिले पनि बुटबलमा स्वास्थ्य संयोजक डा रमेश केसी नेतृत्वको टोलीले नगरको स्वास्थ्य अवस्थाबारे जानकारी, छलफल र समस्या समाधानका लागि काम गरिरहनु भएको छ ।
बुटबल उपमहानगरका वडामा स्वास्थ्य सेवाको कस्तो अवधारणा लागू गर्दै हुनुहुन्छ ?
उपमहानगरका प्रत्येक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था सञ्चालन गर्ने अवधारणाका साथ अगाडि बढेका छौं । अहिले उपमहानगरपालिकाका ५ वटा वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भइरहेका छन् । आवश्यकताका आधारमा क्रमशः सहरी स्वास्थ्य केन्द्र थप्दै जाने योजना छ । त्यसैगरी, हाल स्वास्थ्य संस्था नरहेका वडामा पनि सहरी वडा क्लिनिक सञ्चालन गरी स्वास्थ्य सेवालाई सबै नागरिकको घरदैलोमै पु¥याउने गरी कार्यक्रम अघि बढाइएको छ ।
संविधानले दिएको स्वास्थ्य अधिकारलाई स्थानीय तहले कसरी पूरा गर्छ ? त्यो पर्याप्त छ ?
अहिलेसम्म हेर्दा संविधानले स्वास्थ्यको क्षेत्रमा दिएको अधिकार पर्याप्त नै देखिन्छ । हाम्रो पहिलो काम भनेको संविधानले दिएका अधिकार प्राप्तिका लागि सहज रुपमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो । अबको हाम्रो प्रयास त्यसैतर्फ केन्द्रित हुनेछ । थप केही व्यवस्था गर्नुपर्ने अवस्था आएका उपमहानगरले कानुन बनाएर लागू गर्दै जानेछ ।
स्वास्थ्यसँग जोडिएका थप केही काम गर्दै हुनुहुन्छ ?
अस्पतालजन्य फोहर व्यवस्थापनका लागि कार्ययोजना बनाई पेश गर्न समिति बनाएका छौं । प्रतिवेदन प्राप्त भएपछि सोही अनुसार समस्याको समाधान गर्नेतर्फ लाग्नेछौं । स्वास्थ्य बीमाको अवधारणालाई पनि अघि बढाउने प्रयन्त गरेका छौं ।
बुटवलमा खानेपानीको व्यवस्थापन चुस्त–दुरुस्त बनाउनेतर्फ पनि काम सुरु गरेका छौं । ८० प्रतिशत सरुवा रोग प्रदुषित खानेपानीबाट लाग्ने भएकाले स्वच्छ खानेपानी वितरणका लागि ध्यान दिएका छौं । हामी बुटवललाई स्वास्थ्य क्षेत्रमा नेपालकै नमूना उपमहानगर बनाउने अभियानमा छौं । निकट भविष्यमै यो नगर स्वास्थ्य क्षेत्रमा अरुका लागि मार्गदर्शक बन्नेछ ।