नयाँ दिल्ली (एजेन्सी)– भारतमा पान र गुट्खाका कारण हरेक वर्ष १० लाख मानिसको ज्यान जाने गरेको एक तथ्यांकले देखाएको छ। मध्य प्रदेशमा मात्र यो संख्या ६६ हजारको हाराहारीमा रहेको छ।
क्यान्सर रोग विशेषज्ञ डा टीपी शाहुले सर्वोच्च अदालतले पान तथा गुट्खा उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाउन भने पनि सरकारले त्यसलाई उपेक्षा गरेको आरोप लगाएका छन्। उनले त्यस्ता कम्पनीलाई तत्काल रोक लगाउनुपर्ने माग गरेका छन्।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसिएमआर) का अनुसार, २०२० सम्म सूर्तीजन्य पदार्थका कारण १७ लाख ३० हजार व्यक्तिको मृत्यु हुनसक्ने आशंका गरिएको छ। यसले देशको अर्थव्यवस्थामा प्रतिकूल असर पर्ने देखिन्छ।
ब्रिक्सको सर्भे अनुसार २०१२ मा मात्र क्यान्सरको उपचारका लागि भारतले मोटो रकम खर्चिनुपरेको थियो। त्यो वर्ष भारतको आर्थिक विकास दर ० दशमलब ३६ प्रतिशतले प्रभावित भएको थियो।
सम्बन्ध हेल्थ फाउन्डेसन (एसएचएफ) का ट्रस्टी सञ्जय सेठले क्यान्सरको उपचारमा हुने खर्चले ब्रिक्स देशको अर्थव्यवस्थामा पनि गम्भीर धक्का लागेको बताएका छन्। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स देशले विश्वको ४० प्रतिशत जनसंख्या ओगटेको छ। विश्व विकास दरमा यी देशको योगदान २५ प्रतिशत छ। तर, २०१२ मा क्यान्सरका कारण मृत्यु पाँच वटै देशको अर्थव्यवस्थामा गहिरो असर परेको थियो। यी देशले क्यान्सरका कारण ४६ दशमलब ३ अर्ब डलरको आर्थिक नोक्सान बेहोर्नुपरेको अध्ययनले जनाएको छ।
सञ्जय सेठले ‘ग्लोबल एडल्ट टोब्याको सर्भे’ (गेट्स) को रिपोर्टलाई आधार मान्दै भने, ‘भारतमा २६ दशमलब ७ करोड व्यक्ति सूर्ती सेवन गर्छन्। जसमा ५ हजार ५ सय बालबालिका प्रतिदिन सूर्तीजन्य वस्तु सेवनको कुलतमा फस्ने गरेका छन्।’