हवाना- क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जेल क्यास्ट्रो डियाज–बालार्टले आत्महत्या गरेका छन्। गम्भिर खालको डिप्रेसनबाट पिडित बालार्टले आज बिहान ६८ वर्षको उमेरमा आत्महत्या गरेका हुन्।
उनलाई पारिवारिक समरुपतामा हेर्दै ‘फिडेलिटो’ अर्थात ‘लिटिल फिडो’को नामले समेत चिनिन्थ्यो।
तत्कालिन सोभियत संघबाट तालिम लिएका बालार्ट आणविक भौतिकशास्त्री हुन्।
क्युवाको आधिकारिक समाचार पत्र ग्रान्मामा भनिएको छ,‘बालार्टलाई डाक्टरहरुको समूहले केहि महिनादेखि गम्भिर डिप्रेसनको उपचार गरिरहेका थिए। तर आज बिहान उनले आत्महत्या गरेका छन्।’
प्रान्तिय टेलिभिजनका अनुसार पछिल्लो महिना मात्रै उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए। आत्महत्या गर्नुअघि उनी क्युबान काउन्सिल अफ स्टेटका वैज्ञानिक सल्लाहकार र एकेडेमी अफ साइन्सका उपाध्यक्ष थिए।
सन् १९८० देखि १९९२ सम्म आइल्याण्ड आणविक कार्यक्रम उनको नेतृत्वमा चलेको थियो। सोभियत संघ भंग भएपछि भने उनलाई सो पदबाट निलम्बन गरिएको थियो।
सरकारको प्रान्तिय टेलिभिजनका अनुसार उनको परिवारले नै क्यास्ट्रोको अन्त्यष्टिको तयारी गरिरहेको जनाएको छ। तर त्यसभन्दा विस्तृतमा जानकारी दिइएको छैन।
उनका पिता फिडेल क्यास्ट्रो क्रान्तिका नायक तथा विश्वकै लामो समयसम्म कम्युनिष्ट नेतृत्व समालेका नेताका रुपमा चिनिन्छन्। जसको सन् २०१६ मा ९० वर्षको उमेरमा मृत्यु भएको थियो।