मिचिगन- अमेरिकी जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासारले यौन दुव्र्यवहार गरेका पीडितको संख्या बढेको छ। मिचिगनस्थित एक अदालतकी न्यायाधिश जेनिस कुनिन्घमले २ सय ६५ महिलामाथि दुव्र्यवहार भएको पुष्टि भएको बतइन्।
उनले सबै पीडित व्यक्तिगत रुपमा यो प्रक्रियामा सहभागी भएको बताएका छन्। पछिल्लो सुनुवाईका क्रममा एक १७ वर्षीया बालिकाले नासारलाई सैतानको संज्ञा दिएकी छन्।
यसअघि गत साता मात्रै आफ्नै टोलीका महिला जिम्न्यास्टसँगै अन्य महिला, युवती तथा बालबालिका गरी करिव १ सय ५६ जनालाई दुव्र्यवहार गरेको आरोप पुष्टि भएपछि मिचिगनस्थित जिल्ला अदालतकी न्यायाधिश रोजमेरी एक्वेलिनाले ४० देखि १ सय ७५ वर्ष वर्षसम्म जेल सजायको फैसला सुनाएकी थिइन्।
पछिल्लो फैसलापछि मात्रै ६५ जनामाथि दुव्र्यवहार भएको पुष्टि भएको, ५४ जनाले यसै साता मात्रै अदालतमा उपस्थित भई बयान दिइसकेको अदालतले जनाएको छ। यो सुनुवाईपछि उनलाई यसअघि दिइएको सजायमा थप २४ देखि ४० वर्षसम्मको जेल सजाय बढ्ने सम्भावना रहेको बताइएको छ । मुद्दाको सुनुवाई तीन दिनसम्म चल्ने छ। यस क्रममा थप पीडितहरुको बयानसमेत लिइने बताइएको छ ।
यसअघि सिमोन बाइल्स, ग्याबी डोग्लाससहित, अलि रइसम्यान तथा जोर्डन वाइबर गरि ४ ओलम्पिक स्वर्ण पदक विजेता खेलाडीहरुले आफूहरु पनि नासारको सिकार भएको बताएका थिए।
५४ वर्षीय नासारले यसअघि नै बालबालिकामाथि गरिएका यौन दुर्व्यवहारसँग सम्बन्धित फोटोहरु कम्प्युटरमा संग्रह गरेको आरोपमा ६० वर्ष लामो जेल सजाय भोगिरहेका छन्।
अमेरिकाको स्पोर्ट्स नेसनल गभर्निङ बडीले नासारलाई आफ्नो टोलीमा १९८० को दशकमा सामेल गराएको थियो। उनी सन् २०१५ को जुलाइसम्म टिममा आबद्ध भए। नासारमाथि आरोप लागेपछि अमेरिकी जिम्न्यास्टिक टोलीका प्रमुख स्टिभ पेनीले सन् २०१६ मा राजीनामा दिइसकेका छन्।
गत शनिबार मात्रै अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने घोषणा गरेका थिए। ल्यारी नासार यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि राजीनामा गर्ने निर्णयमा उनीहरु पुगेका थिए।
जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक नासारलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीलाई राजीनामा दिन अल्टिमेटम दिएको थियो।