मानिसको ज्यानले उनीहरु बस्ने देशको आर्थिक हैसियतको प्रतिनिधित्व गर्दोरहेछ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक सूचीअनुसार सबैभन्दा मोटा पनि विकसित देशको नागरिक रहेको पाइएको छ। सूचीमा अमेरिका, जर्मनी, बेलायत नै परेका छन्। मोटोपनको मुख्य कारण त्यो देशका नागरिकले अपनाउने जीवनशैली, शारीरिक निष्क्रियता र खानपान नै रहेको संगठनको भनाई छ।
१. अमेरिकन समोआ– विश्वकै सबैभन्दा धेरै मोटाहरुको देश भनेर चिनिने प्रशान्त टापूको देश अमेरिकन समोआमा ९३ दशमलब ५ प्रतिशत मानिसहरु मोटा छन्। पारम्परिक खानपान त्याग्नु र पश्चिमी देशबाट आयात गरिएका खानाको बढी प्रयोगले यहाँका मानिसहरु बढी मोटाएको विश्व स्वास्थ्य स्रंगठनको भनाई छ।
२. किरिबाटी– प्रशान्त टापूको यो देशका ८१ दशमलब ५ प्रतिशत मानिस मोटा छन्। स्थानीयभन्दा प्रशोधन गरेका खाना बढी खानाले यहाँका मानिस मोटा भएका छन्। यहाँ स्थानीय खानाभन्दा आयातित खाना सस्तोमा पाइने भएकाले मानिसहरुले आयातितलाई नै मन पराउँछन्।
३. संयुक्त राज्य अमेरिका– अमेरिकाका ६६ दशमलब ७ प्रतिशत मानिस मोटा छन्। आधुनिक जीवनशैल, प्रशोधन गरिएका फास्टफुड तथा उच्च फ्रुक्टोज भएका खाना खानाले मानिसहरु अमेरिकीहरु मोटा छन्।
४. जर्मनी– जनसंख्याको ६६ दशमलब ५ प्रतिशत मानिसहरु मोटा छन्, यसको कारकमा बियर, चिल्लोपदार्थयुक्त खाना तथा शारीरिक निष्क्रियता मानिएको छ।
५. इजिप्ट–इजिप्टमा ६६ प्रतिशत मानिसहरु मोटा छन्। कट्टर समाजका कारण यहाँका महिलाहरु मोटोपनको शिकार बढी हुन्छन्। यहाँ महिलालाई शारीरिक क्रियाकलाप अथवा खेलकुदमा भाग लिन स्वीकृति छैन।
६. बोस्निया हर्जगोभिना– सन् १९९० को दशकमा युद्धमा फँसेको यो देशका ६२ दशमलब ९ प्रतिशत मानिसहरु मोटोपनको शिकार भएका छन्। अधिक धूमपान, मदिरा सेवन तथा अस्वस्थकर खानाका कारण यहाँका मानिस मोटा छन्।
७. न्युजिल्याण्ड– यहाँका ६२ दशमलब ७ प्रतिशत मानिसहरु मोटोपनाबाट पीडित छन्। पश्चिमा जीवनशैली र शारीरिक निष्क्रियता नै यसको मुख्य कारण मानिएको छ।
८. इजरायल– पश्चिमा जीवनशैलीका कारण यहाँ मोटोपन ३० वर्षमा तेब्बर भएको छ। ६२ दशमलब ७ प्रतिशत इजरायलीहरु मोटोपनाबाट पीडित छन्।
९. क्रोसिया– यहाँ ६२ दशमलब ४ प्रतिशत मानिसहरु मोटा छन्। यहीकारण क्रोसियामा मुटु रोगका कारण मर्नेको संख्या बढी छ।
१०. बेलायत– यहाँ ६१ प्रतिशत मानिसहरु मोटोपनाबाट पीडित भएको अध्ययनहरुले देखाएका छन्। बेलायत शारीरिक अभ्यास गर्नेमा युरोपेली देशमा तलबाट तेस्रो नम्बरमा पर्छ। (एजेन्सिको सहयोगमा)